भट्टराईप्रति दाहाल पक्ष असन्तुष्ट :

काठमाडौ, श्रावण १० - संसद्को कार्यसञ्चालन नियमावली संशोधन गरेर भए पनि सहमतिको राष्ट्रिय संयुक्त सरकार बनाउनुपर्ने माओवादी उपाध्यक्ष बाबुराम भट्टराईको भनाइप्रति
अध्यक्ष पुष्पकमल दाहाल पक्षले असन्तुष्टि जनाएको छ ।
प्रधानमन्त्री चयन प्रक्रिया जारी रहेका बेला दाहाल पक्षका नेताहरूले उक्त अभिव्यक्ति असान्दर्भिक भएको टिप्पणी गरेका हुन् । पार्टी प्रधानमन्त्रीको चुनाव जित्न कठिन कसरतमा लागेका बेला त्यसलाई नै प्रभावित पार्ने गरी भट्टराईले अभिव्यक्ति दिएको आरोप उनीहरूको छ ।
भट्टराईले शनिबार कान्तिपुरसँग कुनै पनि पार्टीको नेतृत्वमा बन्ने बहुमतीय सरकारले शान्ति र संविधान निष्कर्षमा पुर्‍याउन नसक्ने भन्दै राष्ट्रिय सहमतिको सरकारमा जोड दिएका थिए । आवश्यक परे त्यस्तो सहमतिको सरकारको नेतृत्व गर्न आफू तयार भएको बताएका थिए ।
'अध्यक्ष चुनावी मैदानमा भएका बेला आएको अभिव्यक्ति सान्दर्भिक छैन,' दाहालनिकट पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले भने, 'कम्युनिस्ट मूल्यमान्यता बाहिरबाट आएको अभिव्यक्तिप्रति दुःख लागेको छ । उहाँको अभिव्यक्तिले उहाँ पनि पदलोलुप हो कि भन्ने शंका जन्माएको छ ।' उनले यसबाट भट्टराईको व्यक्तित्व र पार्टीमा समेत धक्का पुगेको दाबी गरे ।
भट्टराईको अभिव्यक्तिले दाहालको मनोविज्ञानमा समेत असर गरेको गजुरेलको ठम्याइ छ । 'प्रस्तावकले नै यस्तो कुरा गरेपछि उम्मेदवार हुनुभएका अध्यक्षले कस्तो सोच्नुभएको होला ?' गजुरेलले भने, 'यस्ता अभिव्यक्तिले कसैको हित गर्दैन ।'
नयाँबजार स्रोतका अनुसार १७ गते हुने तेस्रो निर्वाचनअघि दाहालले भट्टराईको अभिव्यक्तिप्रति खासै टिप्पणी गर्ने छैनन् ।
'यी अभिव्यक्तिले अध्यक्षलाई गम्भीर बनाएको छ,' स्रोतले भन्यो, 'अहिले अन्तरसंघर्ष होइन, बाह्य शक्तिसँग संघर्ष गर्ने बेला हो ।'
अन्तर्वार्तामा भट्टराईले दाहाल र पौडेलले उम्मेदवारी फिर्ता गरी राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने विकल्प अघि सारेका थिए । 'हामीसँग तत्काल बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्रीको छिनोफानो गर्नुबाहेक अरू विकल्प छैन,' गजुरेलको भनाइ छ, 'अध्यक्षको नेतृत्वमा सरकार बन्ने सम्भावना बढिरहेका बेला अर्को प्रक्रियाको कुरा अलमल बनाउनु मात्र हो ।'
पार्टी प्रवक्ता दीनानाथ शर्माले पनि संसद्को कार्यसञ्चालन नियमावली संशोधन गरी जान सम्भव नभएको भन्दै निर्वाचनमा प्रतिस्पर्धा गर्नुको विकल्प नभएको बताए । उनले स्थायी र पोलिटब्युरो बैठकमा यसबारे छलफल भएको उल्लेख गर्दै भट्टराईको अभिव्यक्ति 'व्यक्तिगत' भएको टिप्पणी गरे । 'स्थायी र पोलिटब्युरोमा छलफल नभएकाले बाबुरामजीको अभिव्यक्ति व्यक्तिगत हो ।' उनले पनि पार्टी प्रधानमन्त्रीको चुनावी मैदानमा भएका बेला आएका यी अभिव्यक्ति उपयुक्त नभएको बताए ।
उनले सहमतिको सरकारको कुरा उठाउँदै आएको भए पनि तत्काल भने बहुमतीय प्रणालीमा जाने निर्णय भएको बताए । उनले अध्यक्षले उम्मेदवारी फिर्ता नगर्ने बताए । 'पार्टी बहुमतीय प्रणालीमा जानु बाध्यात्मक अवस्था हो,' उनको भनाइ छ, 'अध्यक्षले उम्मेदवारी फिर्ता गर्नु सम्भव छैन ।'
भट्टराईले माओवादी, कांग्रेस र एमालेको सरकारले मात्र शान्ति र संविधान सुनिश्चित गर्ने धारणा राखेका थिए । 'तीनै पक्षको सरकारले मात्र शान्ति र संविधानको कार्यभार पूरा गर्न सक्छ', उनले भनेका थिए । उनले प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई नाटकको संज्ञा दिएका थिए ।

source:kantipur