काठमाडौ, श्रावण १० - माओवादी असहयोगका कारण चिनियाँ व्यापारी लुटपाट र यार्सागुम्बाको अवैध व्यापारका मुख्य आरोपी माओवादी केन्द्रीय सदस्य तथा
पाँचांै डिभिजन कमान्डर कालीबहादुर खामलाई पक्राउ गर्न नसकेको प्रहरीले जनाएको छ ।
माओवादीकै संरक्षणमा खामलाई काठमाडौं बाहिर पठाएको प्रहरी स्रोतले जनायो । राजधानीका विभिन्न ठाउँमा छापा मारे पनि उनलाई पक्राउ गर्न प्रहरी असफल भएको थियो ।
खाम एक साताअघि दाङ पुगेको उनको मोबाइलबाट पत्ता लागेको प्रहरीले बताएको छ । उनले प्रयोग गर्ने दुइटा नम्बरमध्ये एउटा ललितपुरको सातदोबाटो र अर्को नम्बर दाङमा पुगेर बन्द भएको काठमाडौं परिसरका एक प्रहरी अधिकृतले कान्तिपुरलाई बताए ।
असार अन्तिम साता राजधानीमा खामले राखेको यार्सागुम्बा किन्न गएका तीन चिनियाँ व्यापारीबाट २६ लाख रुपैयाँ लुटिएको थियो । यार्सा व्यापारका साझेदार रुकुममा गणेश मल्लले खामकै योजनामा व्यापारी लुटिएको बयान प्रहरीलाई दिएका थिए ।
प्रहरी स्रोतका अनुसार साउन २ गते राति माओवादी पार्टीका तीन गाडी प्रयोग गरेर उनलाई काठमाडौं बाहिर पठाइएको हो । उनले प्रयोग गरेको ९७४११९४४८४ नम्बर साउन ३ देखि दाङमा पुगेर स्विचअफ भएको छ । अर्को ९८४००५०८२६ नम्बर असार २९ गते राति सातदोबाटोबाट अफ भएको छ ।
दाङमा माओवादी लडाकु पाँचौं डिभिजन रोल्पाको शाखा शिविर छ । विभिन्न घटनामा आरोपी खामलाई माओवादीले प्रहरीमा नबुझाई
छानबिन समिति गठन गरेर कानुन हातमा लिएको प्रहरीको आरोप छ । 'अपराधमा संलग्नको अनुसन्धान गर्ने जिम्मा प्रहरीको हो,' प्रहरी प्रधान कार्यालयका एक उच्च प्रहरी अधिकृतले भने, 'माओवादीले छानबिन समिति गठन गरेर कानुनको उपहास गरेको छ ।' अनमिनको निगरानीमा रहेका माओवादी लडाकुका जिम्मेवार कमान्डरले गैरकानुनी क्रियाकलाप गर्दासमेत अनमिनले चासो नदेखाएको प्रहरीको भनाइ छ ।
खामलाई कानुनी दायरामा ल्याउन गृहमन्त्री भीम रावलले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर आग्रह गरेका थिए । माओवादी लडाकु प्रवक्ता तथा केन्द्रीय सदस्य चन्द्रप्रकाश खनाल -बलदेव) ले पार्टीले देशको प्रचलित कानुन नमान्ने भएकाले आन्तरिक छानबिन
गरिरहेको बताए ।
खाम आफ्नो कार्यक्षेत्रमा रहेको जानकारी दिँदै खनालले भने, 'प्रचलित कानुन नमान्नलाई नै हामीले विद्रोह गरेका थियांै, पार्टीभित्र आन्तरिक रूपमा उनीमाथि लागेको आरोपमा छानबिन भइरहेको छ ।' प्रहरीले पार्टीका केन्द्रीय सदस्यमाथि शृंखलाबद्ध झूटा आरोप लगाएको उनको दाबी छ । 'सुनियोजित रूपमा खामलाई फसाउन खोजिएको हो,' उनले भने, 'प्रहरीले केही तथ्य फेला पारेको भए पार्टीलाई बुझाइदिए हुन्छ ।'
खाम रामहरि हत्यामा मुछिएपछि केन्द्रीय सदस्य बनाए पनि उल्लेख्य जिम्मेवारी नदिएको उनले दाबी गरे । 'अन्तर्राष्ट्रिय समुदाय, मानव अधिकारवादीले दबाब दिएपछि उनलाई ठोस जिम्मेवारी दिइएको छैन, रोल्पाको माओवादी शिविर पनि सहायकहरूले चलाउँदै आएका छन् ।'
काठमाडौं परिसरका एसपी रमेश खरेलले कानुनी रूपमा अपराध अनुसन्धान र नियन्त्रणको काम नेपाल प्रहरीको भएको बताए । 'पार्टीले आन्तरिक छानबिन गर्न सक्छ तर उसको काम राजनीति गर्ने हो, प्रहरीबाट प्रमाण मागेर अनुसन्धान गर्ने होइन,' उनले भने, 'अपराधीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउनु प्रहरीको काम हो । व्यावसायिक प्रहरीले पर्याप्त प्रमाणका आधारमा जुनसुकै अपराधीलाई पनि पक्राउ गरेर कारबाही गर्छ, सुनियोजित रूपमा कसैको पछि लाग्दैन ।'
source:kantipur