राजधानीका सडकमा 'ग्रीन बस’ :

काठमाडौ, श्रावण ३ - सरकारले उपत्यकाको बढ्दो वायु प्रदूषणलाई कम गर्न राजधानीमा धूवाँरहित 'गि्रन बस'
सञ्चालन गर्ने भएको छ ।
सरकारले एसियाली विकास बैंक र ग्लोबल इन्भाइरनमेन्ट फ्यासिलिटी फन्डको सहयोगमा सुरु हुन लागेको आयोजनाबाट ३५ देखि ४५ सिट क्षमताका विद्युतीय बस सञ्चालन गर्ने भौतिक योजना तथा निर्माण मन्त्रालयका अधिकारीले जानकारी दिए ।
ती अधिकारीका अनुसार राजधानी उपत्यकाको समग्र यातायात विकासका लागि यस वर्षदेखि 'काठमाडौं दिगो सहरी यातायात आयोजना' सुरु हुँदैछ । भौतिक योजना तथा निर्माण मन्त्रालयमा आयोजनाको कार्यालय स्थापना भई काम सुरु हुन लागेको छ ।
उक्त आयोजनामा एडीबीको २० मिलियन, फन्डको २.८ मिलियन तथा सरकारको ७.२ मिलियन अमेरिकी डलर गरी कुल २ अर्ब २५ करोड रुपैयाँ खर्च गरिनेछ । ग्लोबल इन्भाइरनमेन्ट फ्यासिलिटी फन्डले नेपाललाई कार्बन कम उत्सर्जन गरेबापत सहयोग गरेको हो ।
उक्त आयोजनाअन्तर्गत राजधानीका यातायात सुधारका लागि भौतिक पूर्वाधार निर्माण गर्न तथा विद्युतीय बस खरिदका लागि १५ मिलियन डलर खर्च गर्ने योजना छ । आयोजनाको सहयोगमा सार्वजनिक-निजी साझेदारीमा कम्पनी स्थापना गरी त्यसैमार्फत् विद्युतीय बस खरिद गरी सञ्चालनमा ल्याइनेछ । आयोजनाको प्राविधिक तथा आर्थिक सहयोगमा तीन वर्षमा राजधानीका सडकमा झन्डै २ सयको हाराहारीमा वातावरणमैत्री गि्रन बस सञ्चालन आइसक्ने जानकारी भौतिक योजनाका अधिकारीले दिए ।
आयोजनाले सहयोग रकमबाट फन्ड बनाई विद्युतीय बस खरिद गर्न सहायता गर्ने जानकारी स्रोतले
दियो । स्रोतका अनुसार उक्त आयोजनाले आगामी तीन वर्षमा राजधानीका यात्रुको चाप बढी भएका महत्त्वपूर्ण रुट तोकेर करिब २ सय वटा विद्युतीय बस सञ्चालन गराइसक्ने छ । विद्युतीय बस रिचार्जेबल ब्याट्रीबाट सञ्चालन गरिनेछ ।
टुँडिखेलवरिपरि छुट्टै दुईवटा बस लेन
सरकारले उक्त आयोजना अन्तर्गत राजधानीको मुटु मानिने टुँडिखेल-रत्नपार्कको चारैतिर ट्राफिक जाम हुन नदिन यात्रुवाहक बसका लागि छुट्टै दुईवटा 'बस लेन' को व्यवस्था गर्ने भएको छ । टुँडिखेल-रत्नपार्कको सडकलाई चौडा बनाएर दुई लेन थप गरेपछि यात्रुवाहक गाडीलाई दुईतर्फी नै चल्न दिइनेछ तर अरू गाडी भने अहिलेकै जस्तो एकतर्फीमात्र चल्न पाउनेछन् ।
टुँडिखेल-रत्नपार्क वरिपरि अरू गाडीका लागि छुट्टै तीन लेन हुनेछ । उक्त सडकमा दुई लेन थप्न ४ लाख डलर खर्च हुने अनुमान छ । छुट्टै दुई लेनको व्यवस्था भएपछि यात्रुबस निर्बाधरूपमा चल्न पाउने र राजधानीको केन्द्रविन्दुमा ट्राफिक जाम नहुने विश्वास भौतिक योजनाका अधिकारीको छ ।
मुख्य चोकमा ट्राफिक बत्तीउक्त आयोजनाले राजधानीका यातायातको बढी चाप भएका नयाँ तेह्रवटा चोकमा 'ट्राफिक सिग्नल' राख्ने भएको छ । त्यस क्रममा चोकलाई विस्तार र सुधारसमेत गर्ने योजना कार्यक्रमको छ ।
मुख्य चोकमा हुने दुर्घटनालाई रोक्न व्यवस्थित ट्राफिक बत्ती राख्न लागिएको हो । ट्राफिक सिग्नलसहित चोक चौडा गर्न लागिएकामा सिंहदरबार, माइतीघर, थापाथली, पुतलीसडक, पद्मोदय, हात्तीसार, नागपोखरी, जयनेपाल र कमलादी तथा विष्णुमती लिंक रोडको शोभाभगवती, भीमसेनस्थान, टेकु र डल्लु छन् ।
उक्त आयोजना अन्तर्गत लैनचौरदेखि सोह्रखुट्टेसम्मको सडकलाई चौडा गरिनेछ भने सोह्रखुट्टै चोकलाई विस्तार र सुधार गरिनेछ । विष्णुमती लिंक रोडसमेत सुधार गरिनेछ भने विष्णुमतीमा एउटा गाडी ओहोरदोहोर गर्ने र दुईवटा पैदलयात्री पुल बनाउने लक्ष्य योजनाको छ ।
आयोजना अन्तर्गत काठमाडौं सहरको प्रमुख केन्द्र -सिटी सेन्टर) र भित्री सहर -सिटी कोर) मा सडकको दाँया-बाँया १२ किलोमिटरभन्दा बढी फुटपाथ निर्माण र सुधार गरिने जानकारी स्रोतले दियो । आयोजनाले फुटपाथ निर्माण र सुधारको
जिम्मा महानगरलाई दिनेछ, त्यसका लागि ३० लाख डलर खर्च हुने अनुमान छ । आयोजनाले काठमाडौंमा सडकका ३९ स्थानमा पार्किङ निर्माण गर्ने भएको छ, जसमध्ये २१ वटा निःशुल्क हुनेछन् भने बाँकी १८ वटा सशुल्क । निःशुल्क र सशुल्क पार्किङमा हजारौं गाडी पार्क गर्न सकिनेछ ।