काठमाडौं, श्रावण ३ - कांग्रेसका प्रधानमन्त्री उम्मेदवार रामचन्द्र पौडेलले एमाले अध्यक्ष झलनाथ खनाललाई पटक-पटक भेट्न प्रयास गर्दा पनि
समय नदिएको गुनासो गरेका छन् ।
प्रधानमन्त्रीका लागि समर्थन जुटाउन दौडधुप गरिरहेका नेता पौडेलले एमालेले आफूलाई समर्थन गर्नेमा भने आशावादी रहेको बताए । उनले एमाले नेताहरुलाई तीन दिनदेखि भेट्नका लागि प्रयास गरिरहेको बताए ।
'एमालेका तीनै जना नेताहरु (अध्यक्ष खनाल, प्रधानमन्त्री माधवकुमार नेपाल र केपी शर्मा ओली) लाई सामूहिक भेट्न खबर गरेको थिएँ,' सोमबार कार्यवाहक सभापति सुशील कोइरालासँगको भेटपछि पौडेलले सञ्चारकर्मीसित भने, 'तर झलनाथजीले पार्टीभित्र छलफल गरिररहेका छौं भनेर भेट्नुभएको छैन ।'
कांग्रेसलाई समर्थन नगर्ने योजनामा रहेका एमाले अध्यक्ष खनाल आफ्नै लागि समर्थन जुटाउन व्यस्त छन् । यसबीचमा उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा आफ्नै दलका प्रभावशाली नेताहरुसँग भेट गरेका छन् ।
पौडेलको व्यस्तता
कांग्रेसले सर्वसम्मत प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि संसदीय दलका नेतासमेत रहेका पौडेल आफ्नो समर्थन जुटाउन एक्लै खटिएका छन् ।
उम्मेदवार घोषणा गरेलगत्तै माओवादी शीर्ष नेताहरुसित भेट गरेका पौडेलले सोमबार पनि भेटघाटलाई निरन्तरता दिएका छन् । आइतबार उनले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलाई उनकै निवास भक्तपुरमा गएर भेट गरे ।
पौडेलले सोमबार बिहान प्रधानमन्त्री माधवकुमार नेपाल र मालेका महासचिव सीपी मैनालीसित भेट गरेका छन् ।
प्रधानमन्त्री माधवकुमार नेपालसित भेट गरी पौडेलले प्रधानमन्त्रीका लागि आफूलाई समर्थन गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री नेपालले सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री चयनका लागि निर्णय गर्ने जवाफ दिए ।
मालेका महासचिव सीपी मैनालीसँग कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलमा मैनालीले सकेसम्म सहमतिकै सरकार बनाउन सुझाव दिएको बताए ।
source:kantipur