काठमाडौँ, असार २५-प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका तेजेन्द्र गुरुङले हनुमानढोकास्थित काठमाडौँ प्रहरी
परिसरको कार्यालयमा आत्मसमर्पण गरेका छन्। उनी 'डन'का रुपमा परिचय बनाएका चक्रे मिलनका भाइ हुन्। प्रहरीले उनलाई १५ वर्षदेखि हत्या, अपहरण, जबर्जस्ती रकम असुलीलगायतका विभिन्न अपराधमा संलग्न भएको अभियोग लगाएको छ।
प्रहरीले उनलाई अहिलेसम्म एक पटक पनि पक्राउ गर्न सकेको थिएन। चक्रे मिलनका भाइ भए पनि दाजुसँग राम्रो सम्बन्ध नभएका कारण चक्रपथ क्षेत्रमा नै बसेर उनले आफ्नो छुट्टै रिङ चलाउँदै आएका थिए।
प्रहरीले आपराधिक गिरोहलाई पक्रने अभियान चलाएपछि उनी भागेर हङकङमा लामो समयसम्म बसेपछि हालै नेपाल फर्किएका थिए। उनी नेपाल फर्केको जानकारी पाएलगत्तै प्रहरीको विशेष टोलीले उनको खोजी थालेपछि उम्कने संभावना नदेखेर हिजो आफै हनुमानढोकामा उपस्थित भएर काठमाडौँका एसपी रमेश खरेल समक्ष आत्मसमर्पण गरेका थिए।
प्रहरीले उनलाई आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गर्ने भएको छ।
उनका भाइ चक्रे मिलन पनि लागू औषध र हतियारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन्। गोरखपुर, दिल्ली भएर हङकङ जाने तयारीमा रहेका चक्रेलाई प्रहरीले भैरहवाबाट खैरो हेरोइन र हतियारसहित पक्राउ गरेको थियो। लागू औषध मुद्दामा कम्तिमा एक वर्षदेखि १५ वर्ष कैद तथा नगद जरिवाना या दुवै सजाय हुने प्रावधान छ।
source:nagarik