माओवादी माफी माग : सञ्चार मन्त्री :

असार ३०- प्रधान मन्त्री पदबाट माधव नेपालको राजिनामापछि राष्ट्रिय सहमतिको वातावरण बन्छ भनेर माओवादीले
प्रचार गरे पनि सोअनुसार सहमति जुटाउन नसकेकोमा जनता समक्षमाफी माग्नुपर्ने सञ्चार मन्त्री शङ्कर पोखरेलले बताएका छन्।

'माओवादीले क्षमा याचनासहित वर्तमान सरकार पुनर्स्थापनामा सघाउनुपर्छ'-अनेरास्ववियु रुपन्देहीले बुटवलमा आयोजना गरेको एक कार्यक्रममा उनले भने। कामचलाउ सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले राष्ट्रिय सहमति निर्माणमा एकीकृत माओवादी असफल भएकाले यही सरकारलाई पुनर्स्थापना गर्नुपर्ने बताए।

उनले जटिल र चुनौतीपूर्ण अवस्थामा पनि सहजतापूर्वक मुलुक सञ्चालन गर्ने नेपाल जस्तो नेतृत्व आगामी सरकारले नपाउने दावी गरे। प्रधानमन्त्रीको राजीनामापछि राष्ट्रिय सहमति बन्छ भनेर ठोकुवा गर्ने नेताहरु अहिले मौन बसेकोप्रति मन्त्री पोखरेलले आश्चर्य व्यक्त गरे।

सहमतिका लागि कसैले माग र अडान राखेर मात्रै नहुने प्रष्ट पार्दै उनले त्यसका लागि दलहरुबीच विश्वासको खाँचो रहेको बताए।

source:nagarik