फाइनलमा हारे पनि नेदरल्यान्डस टोलीको भव्य स्वागत :

दि हेग, असार ३० (एएफपी)- नेदरल्यान्ड्स फुटबल टोलीका प्रशिक्षक र कप्तानलाई मंगलबार सम्मानित गर्दै प्रधानमन्त्रीले विश्वकप फाइनलमा स्पेनसँग १-० को पराजय खपे पनि आफ्नो टोलीलाई
‘प्रेरणा' को संज्ञा दिएका छन्।


‘नेदरल्यान्ड्स अरेन्ज (सुन्तला रंगको रंग जुन राष्ट्रिय टिमको उपनाम पनि हो) प्रति गर्व गर्छ,' प्रधानमन्त्री जेन पिटर बाल्केनेन्डेले हेगस्थित आफ्नो निवासमा टोलीलाई भने। त्यहाँ उनले सुन्तला रंगको बेलुनहरूले सिँगारिएको बगैंचामा टोलीलाई चियापानका लागि निम्त्याएका थिए।

सुन्तला रंगको टाई लगाएका बाल्केनेन्डेको उपस्थितिमा खेलमन्त्री अब क्लिंकले टोली प्रशिक्षक बर्ट भान मार्विज्क र कप्तान जियोभानी भानलाई नाइट्स इन दि अर्डर अफ ओरेन्ज नासाउ पदक लगाइदिएका थिए। दि नाइट हुड्स नेदरल्यान्ड्सकी महारानीबाट प्रदान गरिन्छ।

‘उत्कृष्ट उपलब्धि,' सार्वजनिक टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा दुई जनालाई पदक लगाई दिंदै खेलमन्त्रीले भने।

विश्वकपपछि संन्यास लिइरहेका जियोभानीले निराशा अझ पनि निकै ठूलो भएको बताउँदै राम्रो प्रतियोगिताका लागि टोलीलाई धन्यवाद दिए। उनले उक्त सम्मान टोलीलाई समर्पण गरे।

प्रधानमन्त्रीले टोलीलाई अनुशासित, सामूहिक भावनासहित मिसनका लागि हिंडेको एवम् प्रेरणाको स्रोतका रुपमा व्याख्या गरे। ‘यो (फाइनल पराजय) नेदरल्यान्ड्सका लागि ठूलो चोट थियो। यो खेलाडीका रूपमा तपाईंहरूका लागि एवम् अरेन्ज समर्थकका लागि ठूलो चोट थियो,' उनले भने।

प्रधानमन्त्रीले उत्साहित बनेर आगामी विश्वकपलाई लक्ष्य बनाउन टोलीसँग आग्रह गरे। ‘अर्को विश्वकप फाइनलमा लागि अब थप ३२ वर्षको प्रतीक्षा नगरौं,' उनले भने।

सोमबार दिउँसो नेदरल्यान्ड्स आइपुगेको टोलीले अब हेगमै रहेको दरबारमा रानी बिट्रिक्ससँग भेट गरेको थियो। त्यसपछि टोली क्यानल बोट परेडमा सहभागी हुन एम्सटर्डम गएको थियो, जहाँ हजारौं समर्थकको उपस्थिति थियो।

source:nagarik