नेपालले पनि माउन्टेन गेमको अवधारणा ल्याउने :

काठमाडौं, असार २२ - एसियाका विभिन्न देशले आफ्ना परम्परागत खेललाई समावेश गर्दै आएको दृष्टान्त पेश गर्दै नेपालले पनि माउन्टेन खेलको
अवधारणा अघि सार्ने भएको छ। त्यसको प्रारम्भिक चरणमा एनओसी महासचिव जीवनराम श्रेष्ठले असार ३१ मा मस्कटमा हुने एसियाली ओलम्पिक काउन्सिल (एओसी) बैठकमा अवधारणा प्रस्तुत गर्नेछन्।

अवधारणा तयारी समितिका संयोजक रविराज थापाले जापानले जुडो, चीनले उसु खेललाई समावेश गरेको उदाहरण प्रस्तुत गर्दै भने, ‘सबैले आ-आफ्ना खेलाडीलाई समावेश गराएका छन्। किन हामी पनि रक क्लाइमिङ, प्याराग्लाइडिङ, क्यानोइङ, हाइअल्टिच्युट म्याराथनजस्ता माउन्टेन गेमलाई अघि नसार्ने? यस्ता खेलमा नेपालीले राम्रो गर्न सक्छन्। '

एओसीको भेलाले यो अवधारणालाई पास गरे ग्वाङझाउ एसियाली खेलकुदमा यस्तो विस्तृत विवरण प्रस्तुत गरिने महासचिव श्रेष्ठले बताए। ‘यो सुरुवात मात्र हो। यसले अझै लामो यात्रा पार गर्न बाँकी छ,' श्रेष्ठले भने, ‘आशा गरौं हाम्रो प्रस्ताव पास हुनेछ।' यदि माउन्टेन गेमले मान्यता पाए त्यसको पहिलो संस्करणको आयोजना नेपालले नै पाउने एनओसी अध्यक्ष प्रधानले बताए।

source:nagarik