माले टुक्रियो/नयाँ दलका चार सभासद्ले माओवादीलाई भोट दिने :

काठमाडौ, श्रावण २१ - प्रधानमन्त्री निर्वाचनको पूर्व सन्ध्यमा आएर नेकपा माले फुटेको छ । पोलिटव्यूरो सदस्य जगतबहादुर बोगटीले चार जना
सभासद्सहित नेकपा माले (समाजवादी) नामक नयाँ पार्टी खोलेका छन् । पार्टी गठन लगतै मत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिने उल्लेख गरेको छ ।
जनताले सुम्पेको शान्ति र संविधान निर्माणको कार्यलाई मालेका महासचिव सीपी मैनालीले वेवास्त गरेको भन्दै उनीहरुले नयाँ पार्टी गठन गरेको केन्द्रीय कार्य समितिको नाममा जारी बिज्ञप्तिमा उल्लेख छ ।
नयाँ पार्टी गठन गरेको कुरा सभामुख सुभाष नेम्वाङलाई जानकारी गराइसकेका छन् भने शुक्रबार नै निर्वाचन आयोगमा दर्ताको प्रकृया सुरु गरिनेसमेत उल्लेख गरिएको छ ।
नयाँ पार्टीमा सभासद्हरु शारदा नेपाली, तिलक थापा मगर, यदुवंश झा र गणेश चौधरी छन् । अव मालेसंग पाँच जना मात्र सभासद् बाँकी रहेको छ ।
नयाँ पार्टीको अध्यक्षमा बोगटी, सहअध्यक्षमा विष्णु राज अर्याल, सचिवमा यदुवंश झा, कोषाध्यक्ष तिलक थापा मगर तथा सदस्यमा गणेश चौधरी सहित २१ सदस्यिय कार्यसमिति गठन गरिएको बिज्ञप्तिमा जनाएको छ ।
बोगटीले मालेका महासचिव मैनालीले पार्टीलाई जनताको दृष्ट्रिमा गिराउने काम गरेको, गुटवन्दी गरेको, प्रतिक्रियावादीहरुको सल्लाहकारको रुपमा काम गरेकोलगायतका आरोप लगाएका छन् ।
साथै दलले संसदीय दलको नेता यदुवंश झा र सचेतक तिलक थापामगरलाई चयन गरेको छ । दिउसो १ बजे माओवादी अध्यक्ष दाहालसंग छलफल गर्ने जनाएको छ ।

source:kantipur