काठमाडौं, श्रावण २१ - एमाले र मधेसवादीसहित अधिकांश साना दल तटस्थ बसेपछि प्रधानमन्त्रीका
उम्मेदवार हार्ने शृङ्खला शुक्रबार पनि जारी रह्यो । शुक्रबार भएको निर्वाचनमा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका रामचन्द्र पौडेल पराजित भए ।
साउन ५, ७ र १७ को मतदानबाट प्रधानमन्त्री चयन हुन नसकेपछि चौथो पटक शुक्रबार संसदमा भएको मतदानमा दुवै उम्मेदवारको मत घटेको छ । समयमै बैठक सुरु भए पनि धेरै सभासद ढिला आएकाले मत घटेको हो । माओवादीका मात्र २६ सभासद् मतदानमा सहभागी हुन पाएनन् ।
चौथो पटकको मतदानमा दुईमध्ये कसैले पनि बहुमत हासिल गर्न सकेका छैनन् । बहुमतका लागि ३ सय १ मत पाउनुपर्छ ।
- आजको निर्वाचनमा पनि दुवै नेता पराजित भएपछि अर्को निर्वाचन भदौ २ गते बुधबारका लागि तोकिएको छ ।
- पौडेलले पनि स्पष्ट बहुमत (३०१) पुर्याउन नसकेपछि उनको प्रस्ताव अस्वीकृत भएको सभामुखले घोषणा गरेका छन् ।
- कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल आज चौथो पटक पनि पराजित भएका छन् । उनको पक्षमा १२२ मत परेको थियो । यस्तै पौडेलको विपक्षमा २४५ र तटस्थमा १९४ मत परेको छ । मतदान प्रक्रियामा ५६१ सभासद सहभागी भएका थिए । पौडेलले साउन ५ गते भएको निर्वाचनमा १२३, साउन ७ गते भएको निर्वाचनमा १२४ र साउन १७ गते भएको निर्वाचनमा १२४ मत प्राप्त गरेका थिए ।
- मतदानका बेला बन्द गरेका प्रवेशद्वारा खोल्न सभामुखले आदेश दिएका छन् ।
- सभामुख सुवासचन्द्र नेम्वाङले आफ्नो मत सच्याउन चाहने सभासदहरुका लागि तीन मिनेटको समय प्रदान गरेका छन् । सच्याउन चाहने सभासदहरुले ड्यासमा गएर मत सच्याउन सक्ने नेम्वाङले जानकारी दिएका छन् ।
- मतदान सकिएपछि मतगणना सुरु भएको छ । संसदका कर्मचारीहरुले अहिले मतगणना गरिरहेका छन् ।
- मतदान सकेर सभासदहरु फर्किनेक्रम सुरु भएको छ ।
- संविधानसभा बैठक बाहिर रहेका सभासदहरुलाई भित्र प्रवेश गर्नका लागि पाँच मिनेटसम्म घण्टी बजाइएको छ ।
- कांग्रेसका रामचन्द्र पौडेलका प्रस्तावक शेरबहादुर देउवाले पौडेललाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनी गरेको प्रस्तावलाई पुनः निर्णायार्थ पेस गरिएको छ ।
- दाहालले स्पष्ट बहुमत (३०१) पुर्याउन नसकेपछि उनको प्रस्ताव अस्वीकृत भएको सभामुखले घोषणा गरेका छन् ।
- माओवादी उम्मेदवार पुष्पकमल दाहाल आज चौथो पटक पनि पराजित भएका छन् । उनको पक्षमा २१३ मत परेको थियो । यस्तै दाहालको विपक्षमा ९९ र तटस्थमा १५६ मत परेको छ । मतदान प्रक्रियामा ४६८ सभासद सहभागी भएका थिए । दाहालले साउन ५ गते भएको निर्वाचनमा २४२ र साउन ७ गते भएको निर्वाचनमा २४१ र साउन १७ गते भएको निर्वाचनमा २५९ मत प्राप्त गरेका थिए ।
- मतदानका बेला बन्द गरेका प्रवेशद्वारा खोल्न सभामुखले आदेश दिएका छन् ।
- सभामुख सुवासचन्द्र नेम्वाङले आफ्नो मत सच्याउन चाहने सभासदहरुका लागि तीन मिनेटको समय प्रदान गरेका छन् । सच्याउन चाहने सभासदहरुले ड्यासमा गएर मत सच्याउन सक्ने नेम्वाङले जानकारी दिएका छन् ।
- मतदान सकिएपछि मतगणना सुरु भएको छ । संसदका कर्मचारीहरुले अहिले मतगणना गरिरहेका छन् ।
- मतदान सकेर सभासदहरु फर्किनेक्रम सुरु भएको छ ।
- प्रस्तावको पक्षमा मतदान गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु आफूलाई छुट्याएको स्थानमा गएका छन् । विपक्षमा मतदान गर्न कांग्रेसका सभासदहरु छुट्टै स्थानमा गएका छन् । तटस्थमा मतदान गर्न सवैभन्दा पहिले एमाले अध्यक्ष झलनाथ खनाललगायत एमाले सभासदहरु गएका छन् ।
- माओवादीका पुष्पकमल दाहालका प्रस्तावक बाबुराम भट्टराईले दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनी गरेको प्रस्तावलाई पुनः निर्णायार्थ पेस गरिएको छ ।
- संविधानसभा बैठकभित्र प्रवेश गर्ने सवै ढोकाहरुलाई बन्द गर्न सभामुखको निर्देशन ।
- संविधानसभा बाहिर रहेका सभासदहलाई बैठकमा प्रवेश गर्नका लागि सूचना दिन पाँच मिनेटसम्म घण्टी बजाइएको हो ।
- विभाजन घण्टा बज्न सुरु भएको थियो, यो ५ मिनेटसम्म बजिह्यो ।
- सभामुख सुवासचन्द्र नेम्वाङले निर्वाचन प्रक्रियाबारे जानकारी गराएका छन् ।
- संसद् बैठक दिउँसो ३ बजेका लागि बोलाइए पनि करिव २० मिनेटपछि बैठक सुरु भएको छ ।
source:kantipur