काठमाडौं, श्रावण २३ - सभामुख सुवासचन्द्र नेम्वाङले पहाड, हिमाल र तराईका विभिन्न जाति, भाषा, धर्म,
संस्कृतिका सम्पूर्ण नेपाली जनता एकजुट हुनसके कुनै विदेशी तागतले नेपालीलाई हल्लाउन नसक्ने बताएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार सङ्घ (अनिज)द्वारा आफ्नो १२औं स्थापना दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा उनले यस्तो बताएका हुन् । 'अरुलाई चोरको दोष लगाउनुभन्दा पहिले आफ्नै थैलीको मुख बलियो बनाउनुपर्छ' भन्ने नेपाली उखानको प्रसङ्ग कोट्याउँदै भन्नुभयो - 'चाहे विदेशी हस्तक्षेप होस् वा जस्तोसुकै अप्ठ्यारो होस्, सबै चिजको एउटै औषधि एकता नै हो । त्यसैले हामी मिल्न सके सबै समस्या समाधान हुन्छ । शान्तिप्रक्रिया र संविधानलेखन पनि सही निष्कर्षमा पुग्छ ।'
सभासद् रामकुमार शर्मालाई भारतीय दूतावासबाट मार्ने धम्की आएको भन्नेबारे आफूलाई आधिकारिक जानकारी नभएपनि सम्बन्धित पक्षबाट ज्यान सुरक्षाको माग गर्दै सरकारको ध्यानाकर्षण गराउन निवेदन प्राप्त भएको जानकारी दिँदै उनले यसबारे आफूले प्रधानमन्त्री, गृहमन्त्रीलगायत सम्बन्धित अन्य पक्षको ध्यानाकर्षण गराएको बताए ।
देशले नीति-कार्यक्रम र बजेट नपाइरहेको अवस्थामा सङ्क्रमणकालीन अवस्था लम्बिँदै जाँदा स्थिति झन् गम्भीर हुने भएकाले दलहरू मिलेर आगामी भदौ २ गतेसम्म सहमतिको सरकार निर्माण गर्नुको विकल्प नरहेको सभामुख नेम्वाङको भनाइ थियो ।
सोही अवसरमा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विदेशी हस्तक्षेप, राष्ट्रिय आत्मसमर्पणवादी र यथास्थितिवादी प्रवृत्तिकै कारण चारपटकसम्म भएको प्रधानमन्त्रीको निर्वाचनमा सही परिणाम आउन नसकेको दाबी गरे ।
भारतलाई नेपालको सार्वभौमसत्ता, नेपाली जनताको आत्मनिर्णयको अधिकार र स्वाभिमानको सम्मान गर्न आग्रह गर्दै उपाध्यक्ष श्रेष्ठले भने, 'भारतले हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गरे नेपाली जनतालाई स्वीकार्य हुने छैन ।'
आफ्नो पार्टीका केन्द्रीय सदस्य एवम् सभासद् शर्मामाथि भारतीय पक्षबाट ज्यान मार्ने धम्की आएकोबारे भारतीय दूतावाससँग आधिकारिक धारणा मागिएको बताउँदै उहाँले यसबारे स्पष्ट जवाफ नआए गम्भीर कदम चाल्न बाध्य हुने चेतावनी दिए ।
आफूहरूले अन्य प्रमुख राजनीतिक पार्टीहरूसँग सकेसम्म राष्ट्रिय सहमतिको सरकार बनाउन आगामी भदौ २ गतेसम्म पहल गर्ने र सम्भव नभए बहुमतीय सरकारका लागि चुनावमा नै भिड्ने उनले स्पष्ट पार्नुभयो ।
चियापान कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेल, सभासद् सुरेश आलेमगर, सन्तोष मगरलगायत पनि सहभागी थिए ।
source:kantipur