काठमाडौं, साउन २३- रक्सौलबाट काठमाडौं ल्याउँदै गरेको एक केजी खैरो हेरोइन सहित माओवादीका
बारा जिल्ला नेता राधेश्यामप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको छ। मोटरसाइकलमा हेटौंडा-दक्षिणकालीको बाटोबाट उपत्यका छिर्दै साहलाई महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले फर्पिङ चोकबाट पक्राउ गरेको हो।
महाशाखाका प्रमुख रणबहादुर चन्दका अनुसार ना १० प ५८०० नं. को मोटरसाइकलमा आइरहेका साहको साथबाट १० पोका खैरो हेरोइन बरामद भएको छ। अनुसन्धानको क्रममा उनले भारतको रक्सौलबाट हेरोइन खरिद गरी काठमाडौंमा रहेको आफ्नो समूहका सदस्यलाई दिन आएको बयान दिएका छन्।
काठमाडौंमा रहेको साह समूहको खोजी प्रहरीले सुरु गरेको जनाएको छ। एसएसपी चन्दले साह लागू औषध कारोबारमा सक्रिय संगठित समूहको सदस्य भएको दाबी गरे पनि उनको समूहको विवरण भने सार्वजनिक गरेको छैन। महाशाखामा आयोजित कार्यक्रममा अभियुक्त साहले आफू माओवादी जिल्ला कमिटी बाराको सदस्य भएको बताएका थिए। २०५८ देखि आफू माओवादीको कार्यकर्ता भएको उनले सञ्चारकर्मीलाई बताए।
लागू औधष नियन्त्रण ऐन अनुसार साहलाई १५ देखि जन्मकैदसम्म र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुनसक्छ।
source:nagarik