अकल्यान्ड, साउन २८ - भारतको नयाँ दिल्लीमा हुने राष्ट्रमण्डल खेलकुदमा न्युजिल्यान्ड टोलीको जर्सीमा विश्वकै सर्वोच्च शिखर सगरमाथा
अंकित गरिएको छ। न्युजिल्यान्ड ओलम्पिक कमिटीले बिहीबार सार्वजनिक गरेको जर्सीमा सगरमाथाको आकृति, उचाइ, प्रथम आरोही सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाका नाम अंकित लोगो छ। सेतो र कालो छुट्टाछुट्टै जर्सीमा चाँदी रंगको उन्युको पातसमेत छ।
जर्सीमा सगरमाथाको उचाइको भने २९,०२८ फिट लेखिएको छ। न्युजिल्यान्डका हिलारी र नेपाली शेर्पाले २०१० जेठ १६ गते सगरमाथाको सफल आरोहण गरेका थिए। क्याजुअल र ट्रेनिङ दुवै पोशाकमा यस्तो लोगो अंकित छ।
असोज १७ देखि नयाँ दिल्लीमा राष्ट्रमण्डल खेलकुदमा सुरु हुँदै छ र त्यसमा न्युजिल्यान्डका १ सय ९३ खेलाडी संलग्न रहने छन्। पोशाक सार्वजनिक गर्दै ओलम्पिक कमिटीले २०१० सालमा सगरमाथाको पहिलो आरोहण गर्दा दुवै आरोहीले देखाएको प्रतिबद्धता र आत्मविश्वासको सम्मान हुने बताएको छ।
‘यस वर्ष हाम्रो टोलीले दिल्लीमा हिलारी र तेन्जिङको सम्मान गर्ने छ,' टोलीका चिफ अफ मिसन डाभे करिएले भने, ‘हिलारी महान न्युजिल्यान्डर थिए। एउटा सामान्य मौरीपालकबाट उनी विश्वका सबैभन्दा शीर्ष स्थानमा उभिन पुगे।' राष्ट्रमण्डल खेलमा ती महान् व्यक्तिले आफ्ना खेलाडीहरुलाई उत्प्रेरित गर्ने उनले बताए।
हिलारीभन्दा अन्य बढी कुनै पनि व्यक्तिले नयाँ दिल्लीमा न्युजिल्यान्डलाई प्रेरित गर्न नसक्ने उनको भनाइ थियो। आरोहण गरेको धेरै समयपछि हिलारी भारतको उच्चायुक्त बनेका थिए।
‘तेन्जिङ आरोहणका सहयात्री थिए र उनीहरुले टिम भावनाको महत्व बुझेका थिए,' उनले भने, ‘हिलारी र तेन्जिङले हाम्रो खेलाडीलाई न्युजिल्यान्डबाट प्रतिनिधित्व गर्न अभिप्रेरित गर्ने छ।'
न्युजिल्यान्डकी महिला हक्की कप्तान कायला सार्ल्यान्डले पोशाक ग्रहण गर्दै यसबाट आफू गौरबान्वित भएको बताइन्। जर्सीले हिलारी र तेन्जिङ न्युजिल्यान्डका लागि कति महत्वपूर्ण छन् भन्ने कुरा देखाउने ओलम्पिक कमिटीले बताएको छ।
राष्ट्रमण्डल खेलकुदमा न्युजिल्यान्डका खेलाडीले पदक ग्रहण समारोहमा लगाउने टिसर्ट, ज्याकेट, सर्ट, ब्याग, जुत्तासहित सबैमा लोगो अंकित रहने छ। ती सबै वस्तुको उत्पादन न्युजिल्यान्ड ओलम्पिक कमिटीको व्यापारिक साझेदार पिक स्टोर्सले गरेको हो।
असोज १७ देखि २८ सम्म सञ्चालन हुने १९औं राष्ट्रमण्डल खेलकुदमा बेलायती पूर्व उपनिवेश ७२ देशको सहभागिता रहनेछ। भारतले पहिलोपटक राष्ट्रमण्डल खेलकुद गरेको हो।
source:nagarik