नेपाली मूलका फुटबल स्टार :

काठमाडौ, श्रावण २८ - हरेक फुटबल खेलाडिको सपना हुन्छ, म्यानचेस्टर युनाइटेडबाट खेल्ने । विश्व फुटबलकै
महारथी म्यानचेस्टरको रातो रङको जर्सी लगाउन पाउनु सधैं गर्विलो हुने गर्छ । यस्तो अवसर थोरैले पाउँछन् । म्यानचेस्टरविरुद्ध खेल्नु पनि विशेष उपलब्धि नै मानिन्छ । यस्तो अनुभव भर्खरै मात्र नेपाली मूलका भारतीय खेलाडि सुनिल क्षेत्रीले आत्मसात् गरेका छन् ।
इङलिस क्लब म्यानचेस्टरविरुद्ध मैदानमा उत्रने सुनिल पहिलो नेपाली मूलका खेलाडि हुन् । अमेरिकास्थित कान्सास राज्यको एरोहेड स्टेडियममा २५ जुलाईमा भएको मैत्रीपूर्ण खेलमा उनले म्यानचेस्टरविरुद्ध  खेल्ने अवसर पाएका थिए । उनको क्लब थियो, कान्सास सिटी विजार्ड्स । 'मेजर लिग सकर' अमेरिकाको सर्बोच्च फुटबल हो । कान्सास मेजर लिग सकर खेल्ने १६ मध्ये एक क्लब ।
कान्सासको १९ नम्बरको नीलो जर्सी लाएर सब्स्िटच्युटको रुपमा मैदान प्रवेश गरेका सुनिलले म्यानचेस्टरविरुद्ध २१ मिनेट खेलेका थिए । पचास हजार दर्शक अगाडि कान्सासले उनलाई टिमको एक्लो स्ट्राइकरको रुपमा खेलाएको थियो । पाँच फिट ५ इन्च उचाइका उनले त्यस्तो खासै उल्लेख्य खेल देखाउन सकेनन् । तैपनि कान्सासले खेल २-१ ले जित्यो । विश्व फुटबलका थोरै क्लब म्यानचेस्टरलाई हराउने क्षमता राख्छन् ।
आफैले गोल गर्न नसके पनि म्यानचेस्टर माथिको जित सुुनिलले जीवनभरि भुल्ने छैनन् । भारतीय फुटबलको इतिहासमा उनको जित अमिट रहने छ । म्यानचेस्टरविरुद्ध खेल्ने उनी दोस्रो भारतीय हुन् । यसअघि दोस्रो श्रेणीको इङलिस क्लब 'बरी' मा हुँदा भाइचुङ भुटियाले सन् २००१ को लिग कपमा ओल्ड ट्राफोर्डमा म्यानचेस्टरविरुद्ध खेलेका थिए जसमा उनको टिमले पराजय भोगेको थियो ।
रायन गिग्स, पल स्कल्स, नानी, डिमित्री बेर्बातोभजस्ता स्टार सामेल सर एलेक्स फर्गुसनको टिमविरुद्ध खेल्न पाउनु चानचुने होइन । कीर्तिमान १८ पल्ट इङलिस प्रिमियर लिग जितेको म्यानचेस्टर बबी चाल्र्टन, जर्ज बेस्ट, एरिक क्यान्टोना, डेविड बेक्हम र क्रिस्टियनो रोनाल्डोजस्ता हस्तीको पूर्व क्लब हो । महत्वकांक्षी सुनिलको लक्ष्य इङलिस पि्रमियर लिग खेल्ने हो । त्यसैले पनि उनका लागि म्यानचेस्टरसँगको खेल विशेष रह्यो ।
'इङलिस पि्रमियर लिग खेल्ने सुनिलको टार्गेट हो,' नयाँ दिल्लीमा रहेका सुनिलका बुबा केबी क्षेत्रीले टेलिफोनमा भने, 'त्यसैले ऊ सधैं अमेरिकी क्लबमा बस्न चाहँदैन । आफ्ना छोराले चाँडै नै इङल्यान्ड वा युरोपका कुनै क्लबमा खेल्ने मौका पाउनेमा उनी आशावादी छन् । उनले भनेजस्तो सुनिलको लक्ष्य प्राप्तिको बाटो सहज भने छैन । युरोपमा खेल्ने हो भने उनको फुटबल कौशलमा थप सुधार जरुरी छ । कान्सासमै पनि पहिलो रोजाइको टिमका लागि योग्य हुनु पर्नेछ ।
कडा मेहेनत, लोभलाग्दो कौशल, बलियो आत्मविश्वास र चलाखीपूर्ण दिमागको संयोजन सुनिलमा छ । यी तीन गुणले नै उनका लागि अमेरिकी फुटबल ढोका खोलेको हो । युरोपेली क्लबमा आबद्ध हुने लामो प्रयास निरर्थक भएपछि उनी मार्चमा कान्सासतर्फ लागेका हुन् । युरोपमा ट्रायल दिन गएदेखि नै उनीमाथि कान्साससँगै डिसी युनाइटेडको पनि आँखा गढेको थियो ।
ताप्लेजङुको सान्लुप्पा पुख्र्यौली भएका २६ वर्षे सुनिलले सन् २००८ देखि बेलायती क्लब लिड्स युनाइटेड, सेल्टिक, कभेन्ट्री र क्वीन्स पार्क रेन्जर्समा आबद्ध हुने प्रयास गरेका थिए । उनलाई दुई वर्षे अनुबन्ध प्रस्ताव क्वीन्स पार्कले गरेको थियो । फिफा विश्व वरियतामा भारत शीर्ष ७० स्थानमा नरहेकाले इङल्यान्डले 'वर्क परमिट' दिएन । त्यसले इङलिस क्लबका लागि खेल्ने लक्ष्य तत्कालका लागि अपुरो बनायो र उनले अमेरिकातिर पाइला लम्काए ।
सुनिलले फुटबलमै करिअर बनाउने कुरा नौ बर्षअघिसम्म पनि सोचेंका थिएनन् । 'सन् २००१ मा क्वाललम्पुरमा भएको एसियन स्कुल च्याम्पियनसिपमा निक्कै राम्रो खेलेपछि फुटबल खेल्नसक्ने उनमा आत्मविश्वास पलाएको थियो,' केबीले भने, 'त्यसपछि भारत फर्केयता ऊ फुटबलमा पुरै व्यस्त हुन थाल्यो ।' त्यसअघि उनी राम्रो स्कुलमा पढ्न छात्रवृत्ति पाउने आसमा फुटबल खेल्थे ।
सुनिलले सानैदेखि स्ट्राइकरको पोजिसन लिएका थिए । उतिकै भलाद्मी, मिलनसार र मेहेनती छन् उनी । पाएको मौकामा गोल हान्ने उनको खुबी अहिलेसम्म घटेको छैन, झन् निखारिदै गएको छ । स्कुले छँदा सुनिल राम्रा क्रिकेटर पनि थिए । विकेट किपिङ, ब्याटिङ र अफ स्पिन बलिङ गर्थे । 'फुटबलमा राम्रो गर्ने लागेकाले उसलाई त्यसैमा लाग्ने सल्लाह दिएँ,' केबीले बताए । सुनिल भलिबल र ब्याडमिन्टन पनि मजाले खेल्थे ।
हैदरावादनजिक सेकुन्दरावादमा जन्मेका सुनिल पिताको नोकरी सरुवा पछ्याउँदै सिक्किमको बहई, दार्जिलिङको बेथनी हुदै कोलकाताको लोयोला दिल्लीको आर्मी पब्लिकमा स्कुले शिक्षा लिएका थिए । सोह्र बर्षको कलिलो उमेरमै उनी आई लिगको क्लब जेसिटीमा आबद्ध भएका थिए । भारतका ठूला क्लबहरु मोहन बगान, इस्ट बंगाल र डेम्पो स्पोर्टस्बाट पनि खेले ।
आई लिगमा सर्वाधिक पारिश्रमिक थाप्ने भारतीय खेलाडि हुन् सुनिल । डेम्पोले उनलाई वार्षिक ७२ लाख रुपैयाँ दिएको थियो । सन् २००७ मा जेसिटीका लागि १२ गोल गर्दै आई लिगको सर्वाधिक गोलकर्ता भएपछि उनको भाग्य चम्किन थालेको हो । त्यही बर्ष उनी भारतको प्लेयर अफ द इयर पनि चुनिए । लामो समयपछि भारतले नेहरु कप जित्दा उनी टिमका नायक थिए ।
कान्सासका प्रशिक्षक पिटर भेर्मेजको भनाइमा सुनिल उत्कृष्ट खेलाडि हुन् । भेर्मेज भन्छन्, 'उनी एक पूर्ण खेलाडि हुन् । दिमाग लाएर फुटबल खेल्छन् । निक्कै मेहेनती छन् । उनमा गजबको फुटबल कला पनि छ । प्राविधिक रुपमा उनी उत्कृष्ट छन् । प्रशिक्षणमा सिक्ने बेला उनी सबैभन्दा अगाडि हुन्छन् ।' पि्र-सिजनका तीन खेलमा चार गोल गरेका उनले खुट्टामा बल नहुँदा पनि प्रतिद्वन्द्वी डिफेन्सलाई झुलाइरहने उनका प्रशिक्षक बताउँछन् ।
सन् २००८ मा माल्दिभ्सको मालेमा भएको साफ च्याम्पियनसिपमा सुनिलले नेपालविरुद्ध एक गोल गरेका थिए । गान्तोकमा चिराग युनाइटेड विरुद्धको प्रदर्शनी खेलमा भाइचुङ-११ बाट नेपाली डिफेन्डर अञ्जन केसी र सुनिल एउटै टिममा थिए । 'उनी एयर बल खेल्न माहिर छन्, राम्रो जम्प गर्छन्, निक्कै छरिता छन् । उनको नियन्त्रणबाट बल खोस्न साह्रै गाह्रो हुन्छ,' अञ्जानले आफ्नो अनुभव सुनाए । बर्षैभरि फुटबलमा व्यस्त रहँदा रहँदै पनि १२ कक्षाको परीक्षामा ल्याएको ७४ प्रतिशत अंकले पनि सुनिल पढाइमा उत्तिकै तेज भएको स्पष्ट हुन्छ ।
भारतको नीलो जर्सीको ११ नम्बरमा देखिने उनले ३५ खेलमा १६ गोल गरेका छन् । सन् २००४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपबाट उनले अन्तराष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए । सन् २००८ को एएफसी च्यालेञ्ज कपमा उनले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरे । ताजकिस्तानविरुद्धको फाइनलमा उनले गरेको ह्याटि्रक सहयोगमा भारत च्याम्पियन बनेर एसिया कपमा छनोट भयो जुन आधुनिक फुटबलमा भारतको ठूलो सफलता हो ।
भारतीय सेनाका रिटायर्ड अफिसर केबी र सुशीलाका एक्लो छोरा सुनिल अहिले एसिया कपको तयारी क्रममा पोर्चुगलमा प्रशिक्षणरत भारतीय टिमसँग छन् । अब जनवरीमा दोहामा हुने एसिया कपसम्म उनलाई भारतले कान्सास र्फकन दिने छैन । उनी भाइचुङ भुटियाभन्दा पनि उत्कृष्ट खेलाडि मानिन्छन् । 'भाइचुङ भाग्यमानी हुन्, सुनिल क्षमतावान्,' भारतीय प्रशिक्षक डेरिक परेराले टाइम्स अफ इण्डिया (क्रेस्ट) लाई हालै बताएका छन् । भारतीय राष्ट्रिय टिमका बेलायती प्रशिक्षक बब हटन पनि सुनिल बिनाको टिम अपुरो हुने बताउँछन् ।
आकर्षक अनुहारका सुनिललाई देख्नेबित्तिकै केटीहरु झ्याम्मिन्छन् । तर उनले २-४ बर्ष अझै बिहे नगर्ने उनका बुबा बताउँछन् । भन्छन्, 'आमाले रोजेको केटी बिहे गर्छु भन्छ ।' ब्राजिलका रोनाल्डो र अर्जेन्टिनी लियोनल मेस्सी सुनिलका फेभरेट खेलाडि हुन् । उनी स्पेनी क्लब बार्सिलोना मन पराउँछन् । गत बर्ष भारतीय टिम प्रशिक्षणको लागि बार्सिलोनाको एकेडेमी 'ला मसिह' पुगेपछि सुनिल एकदमै उत्साहित भएको केबीले बताए ।
भारतीय सेनामा भर्ती भएका सुनिलका बाजे तिलबहादुर दार्जिलिङको बिजनबारी बसाइँ सरेपछि क्षेत्री परिवारले नेपाल छाडेको थियो । झापाको शनिश्चरे-६, सालबारीमा अहिले पनि सुनिलका दुई काका छन् । उनको मावली झापाकै बाहुनडाँगी हो । 'दुई बर्षअघि उनको ब्रतबन्ध पनि झापामै भएको थियो,' बुबा केबीले भने, 'त्यसपछि भने नेपाल गएको छैन । फुटबलमै व्यस्त छ । फुर्सदमा जाने भन्छन् ।'
फुटबलमय मावली वातावरणले पनि सुनिलको फुटबल मोह चुलिएको हो । उनका मामा गणेश पाण्डे दुई दशकअघिसम्म जनकपुर चुरोट कारखानाका खेलाडि थिए । सुनिलका आमा सुशीला पनि बिहेअघिसम्म फुटबल, भलिबल र एथ्लेटिक्सका खेलाडी हुन् । सुशीलाकी जुम्ल्याहा जमुनाले अन्तर्राष्ट्रिय फुटबलमा नेपालको जर्सीसमेत लगाइन् ।

source:kantipur