काठमाडौ, श्रावण २६ - माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईबीचको द्वन्द्व
सतहमा आएको छ । भारतीय पूर्वराजदूत श्यामशरणलाई भेटेको विषयलाई लिएर दुई पक्षबीच वाकयुद्ध जारी छ । दुवै पक्षले यो विषयलाई बिहीबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा राख्ने तयारी गरेका छन् । भेटबारे विवाद भएपछि कूटनीतिज्ञलाई कुन नेताहरूले भेट्ने विषयमा उसले मापदण्ड बनाउने भएको छ ।
दाहालनिकट पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेतले दाहालविरुद्ध 'भ्रमपूर्ण प्रचारबाजी' भएको भन्दै केन्द्रीय समिति बैठकमा छलफल हुने बताए । 'अन्तरसंघर्षको बारेमा बैठकमा छलफल हुन्छ,' उनले कान्तिपुरसँग भने, 'भ्रमपूर्ण प्रचारबाजी स्पष्ट गर्न पनि छलफल आवश्यक छ ।'
भट्टराईनिकट पोलिटब्युरो सदस्य राम कार्कीले शरण भेटलाई 'अनावश्यक रूपमा तन्काइएको' टिप्पणी गरे । 'सल्लाह गरेरै भेटेको कुरा बढी तन्काउने काम भयो,' उनले भने, 'स्वाभाविक रूपमा भेटको विषय केन्द्रीय कमिटी बैठकमा उठ्छ ।' उनले आफू बढी राष्ट्रवादी देखिन भट्टराईलाई 'भारतपरस्त' को आरोप लगाइएको बताए । 'भारतविरुद्ध उफ्रेर समस्या समाधान हुँदैन,' उनले भने, 'भारतको प्रभाव क्रमशः कम गर्न कूटनीतिक पहल आवश्यक पर्छ ।'
स्थायी समिति सदस्य वर्षमान पुनले भट्टराईले शरणलाई भेट्नु गलत भएको भन्दै पार्टीमा स्पष्टीकरण दिनुपर्ने बताएपछि विवाद सुरु भएको थियो । उनी त्यो अडानमा हाल पनि कायम छन् । 'सामूहिक भेटपछि एक्लै भेट्नु गल्ती थियो,' उनले भने, 'यो उहाँ (भट्टराई) को हितमा छैन ।' उनले आफूले 'अनुशासनहीन' काम नगरेको बताए । 'अनुशासन जसले गल्ती गर्छ उसलाई लाग्छ,' उनले भट्टराईतर्फ संकेत गर्दै भने, 'मलाई अनुशासन लागे अरूलाई पनि लाग्छ ।' उनले पनि यो विषय बैठकमा उठाउने बताए ।
अर्का उपाध्यक्ष मोहन वैद्यनिकट सचिव सीपी गजुरेलले चर्चामा आउन नेताहरूले विवादस्पद कुरा गरेको बताए । 'चर्चामा आउन विवादास्पद कुरा गरेको देखिन्छ,' उनले शरण भेट प्रसंगबारे कान्तिपुरसँग भने, 'सिंगो पार्टीका लागि यो गम्भीर विवाद होइन ।' उनले मुख्य नेतामध्ये कसैले कुनै कूटनीतिज्ञलाई भेट्न हुने, अरूले भेट्न नहुने भन्नु गलत भएको बताए । 'मुख्य नेताले भेटे हुने, अरूले भेट्न हुँदैन भन्नु ठीक होइन,' उनले थपे, 'अब एउटा मापदण्ड बनाउनुपर्छ ।' उनले यस विषयमा केन्द्रीय समिति बैठकमा खुला छलफल हुने पनि जानकारी दिए ।
दाहाल पक्षले शरणलाई भट्टराईले भेट्नु भारतसँग 'विशेष सम्बन्ध' को रूपमा हेर्दै आशंका गरेको छ । भट्टराईले भने सल्लाहमै अध्यक्ष पुष्पकमल दाहाल र आफूले बेग्लाबेग्लै शरणलाई भेटेको बताएका छन् । शरणसँगको भेटबारेमा दाहालले कुनै प्रतिक्रिया नदिए पनि उनीनिकट स्थायी समिति सदस्य वर्षमान पुनले कडा आपत्ति जनाएका थिए । भट्टराईले पार्टीमा स्पष्टीकरण दिनुपर्ने माग गरेपछि भट्टराईले त्यसलाई 'अनुशासनहीनता' भनेका छन् । यसअघि भट्टराईले धेरै कूटनीतिज्ञलाई छुट्टै भेट्दा केही नबोलेकामा शरणसँगको भेटमा मात्र आपत्ति जनाउनु गम्भीर भएको भट्टराई पक्षको भनाइ छ ।
पछिल्लो घटना यसअघिका दुई घटनासँग जोडिएको छ । प्रधानमन्त्री निर्वाचनका लागि विकल्प खुला गरेर पनि दाहाल आफैं उम्मेदवार हुनु र दाहाल प्रधानमन्त्रीको उम्मेदवार भइसकेपछि भट्टराईले बहुमतीय सरकारको विरोध गर्नु नै द्वन्द्वको जड हो । भट्टराई पक्षका एक पोलिटब्युरो सदस्यले आफूनिकट नेताको मुखबाट 'भारतपरस्त' बोलाएर दाहालले भट्टराईको 'चरित्र हत्या गर्न खोजेको' आरोप लगाए । भारतमा उच्च शिक्षा हासिल गरेको हुनाले भट्टराईले भारतपरस्त आरोप खेप्दै आएका छन् ।
source:kantipur