अझै सु्ध्रिएन विमानस्थलः मन्त्री :

काठमाडौ, श्रावण २६ - 'हेर्नुस् यो तमासा, भेडा-बाख्राजस्तो मान्छे कोचिएर बसेका छन्, तपाईंहरूलाई अलिकति पनि अप्ठ्यारो
लाग्दैन,' खचाखच यात्रु बसेका विमानस्थलको 'स्टेरलाइज' हल देखाउँदै मन्त्री शरदसिंह भण्डारीले मंगलबार भने ।
'दुई महिनाअघि नै बन्नुपर्ने अझै तीन महिनामा पनि बन्लाजस्तो छैन, हजारौं यात्रुहरू दैनिक आवागमन गर्ने विमानस्थलमा यस्तो हुन्छ ? २४ घन्टा लगाएर युद्धस्तरमा गर्न सकिँदैन ?' भण्डारीले प्रश्न गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख दिनेश श्रेष्ठले भने, 'हैन हजुर अहिले त ४०/५० जनाले काम गर्दैछन्, अब चाँडै सकिन्छ होला ।' कहिले सकिन्छ ? मन्त्रीले प्रतिप्रश्न गरे । 'दसंैसम्म त पक्कै सकिन्छ,' श्रेष्ठले सम्झाए । 'यो तरिकाले भएन, तपाइँहरू कहिल्यै नसुधि्रने हुनुभयो,' मन्त्री झोक्किए ।
हुन पनि हवाई सबै जाँच सकिएपछि विमान चढ्नुअघि यात्रुहरू प्रतीक्षा गर्ने यो हल सांघुरो र एयरकन्डिसन नचल्ने भएको छ । त्यसले गर्दा बेलाबखत यात्रु बेहोससमेत हुने गरेका छन् । गर्मी भएकै कारण कतिपय यात्रुहरू हल बाहिर निस्केर लबीको भुइँमै बसिरहेका देखिन्थे ।
भिजिट नेपाल २०११ का तयारीबारे यसअघि दिएको आदेश कार्यान्वयन भए नभएबारे बुझ्न अन्य दर्जनौं पर्यटन व्यवसायीसँगै मन्त्री भण्डारी मंगलबार अपराह्न तीन बजे विमानस्थल पुगेका थिए ।
विमानस्थल प्रवेश गरेलगत्तै प्रहरी प्रमुख रमेशशेखर बज्राचार्यले गुनासो गरे, 'ल हेर्नुस् मन्त्रीज्यू यो एउटा सामान्य वेल्ट नभएको कारण करोडौं पर्ने एक्सरे मेसिन चलेको छैन, ६/६ घन्टा चलाउने गरेको यो दुईबटा एक्सरे लगातार १२ घन्टा एउटैले काम चलाएका छौं, यसरी चलाउँदा यो एउटा पनि कुनै पनि बेला बिग्रन सक्छ ।' मन्त्री भण्डारीले एक्सरे मेसिनको च्यात्तिएको वेल्ट ओल्टाई पल्टाई हेर्दै यो किन नफेरको भन्दै महाप्रबन्धकलाई जिज्ञासा राखे । 'मगाएका छौं हजुर आउँदैछ,' महाप्रबन्धक श्रेष्ठले भने ।
मन्त्री प्रस्थान कक्षको माथिल्लो तला चढ्न के लागेका थिए, अध्यागमनका प्रमुख प्रतीक ढकालले गुनासो राखे । ल हेर्नुस् हजुर यो टाउकोमै ठोक्किने गरी बोर्ड राखिदिएका छन् । यो त साह्रै लाजमर्नु भयो । सबैले ढकालको गुनासोलाई जायज ठहर्‍याए र निरीक्षण गरिरहेकैमध्येका एक जनाले तत्काल उक्त बोर्ड तानेर फ्याँकिदिए ।
केहीअघि बढेपछि ढकालले पुनः भने हामीसँग अन्तर्राष्ट्रियस्तरको सबै प्रविधियुक्त उपकरणहरू आएका छन् तर भिसा दिने डेस्क पुरानो र ताला-चाबी नभएकाले समस्या भयो । मन्त्रीले महाप्रबन्धकलाई भने, 'एउटा सिसा र काठको काम गर्ने मिस्त्रीलाई ल्याएर उहाँले भनेजस्तो काउन्टर बनाइदिनुस् ।
अध्यागमन पार गरेलगत्तै मन्त्री आफैंले भने, 'यो डिर्पाचर हलको स्थान एकदमै अँध्यारो भयो, कुन-कुन स्थानमा कस्तो कस्तो बत्तीहरू राख्नु हुन्छ जसरी भए पनि चाँडै यो स्थानलाई उज्यालो बनाउनुहोस् ।'
त्यसैबीच व्यवसाय गर्न पसल थापेका अधिकांश पसलेहरूले तोकिएको क्षेत्रभन्दा बाहिरसम्म सामान राखेको देखेपछि मन्त्रीसँगै हिँडिरहेका पर्यटन व्यवसायीहरूले गुनासो गरे । 'यति सानो कुरामा पनि विमानस्थल प्रशासनले ध्यान नपुर्‍याउने ? पर्यटन व्यवसायीहरूले आक्रोश पोख्दै सबै सामानहरू तत्काल भित्र राखेर व्यापार गर्न व्यवसायीलाई सम्झाएका थिए ।
घुम्दै तल झरेका मन्त्रीलाई महाप्रबन्धक श्रेष्ठले बिगि्रएको कन्भियर वेल्ट -ब्यागेज घुमेर आउने) देखाउँदै भने - 'मन्त्रीज्यू यो कन्भियर वेल्टले साह्रै हैरान गर्‍यो, दैनिक बिग्रन्छ, गुनासो सुन्दासुन्दा हैरान भइयो, बनाउनेभन्दा पनि नयाँ नै राख्नु पर्लाजस्तो छ ।' 'ल हुन्छ' मन्त्री र सचिवले सँगसँगै भने, 'यसको अलग्गै फायल तयार गरेर पठाउनुहोस् हामी हेरौंला ।' 
विमानस्थलमा हाल चारवटा कन्भियर वेल्ट छन् । तीमध्ये अधिकांश समय दुईवटासम्म बिगि्ररहेकै हुन्छन् । दिउँसो एकैपटक पाँचवटा विमान आउँदा सबैभन्दा ठूलो समस्या हुने गरेको छ ।
आगमन कक्षबाट बाहिर निस्कँदै गर्दा भवनभित्र पानी चुहिरहेको देखेपछि मन्त्रीले भने, हेर, यति पनि तपाईंहरू गर्नु सक्नुहुन्न, बाल्टी थापेर कतिदिनसम्म टालटुले काम गर्नुहुन्छ ?
विमानस्थलभित्र एयरकन्डिसन नचलेको, सीसीटीभीले काम नगरेको, सरसफाइ ठीक नभएको, ट्रली र कुर्सीहरू अपुग भएको जस्ता दर्जनौं गुनासाहरू आएका थिए । मन्त्रीसँगै बाहिरिँदै गरेका पर्यटन व्यवसायीहरू भन्दै थिए, 'यो विमानस्थल यस्तै तरिकाले कहिल्यै सुधि्रनेवाला छैन ।'
'पहिलेभन्दा त केही सुधि्रएकै हो तर अझै धेरै काम हुन बाँकी देखिन्छ,' मन्त्रीसँगै घुमिरहेका पे्रसिडेन्ट ग्रुप अफ कम्पनिजका अध्यक्ष भोलाविक्रम थापाले भने, 'विगतमा भन्दा राम्रो भए पनि अझै सरसफाइ, मर्मत र यात्रुलाई छिटोछरितो सेवा दिनमा कमजोरी छ ।'
मन्त्रीसँगै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रामप्रसाद न्यौपाने, मन्त्रालयका सचिव किशोर थापालगायतका दर्जनौं उच्च कर्मचारी सहभागी थिए । 

source:kantipur