भारत लामो समयसम्म बि्रटिश साम्राज्यवादको गुलाम रह्यो । १९४७ सालमा भारत स्वतन्त्र भए पनि अझ पनि त्यो
नवउपनिवेशकै रूपमा रहेको छ । यसको अर्थ हो भारत अझ पनि साम्राज्यवादी जुआबाट पूर्ण स्वतन्त्र भएको छैन । यो मेरो विश्लेषण होइन । यो हो भारतका कम्युनिस्ट पार्टीहरूको विश्लेषण । हिजो भारतको सत्ता बढी रुसतिर ढल्केको थियो भने आज बढी अमेरिकातिर ढल्केको छ । हिजो भारतमा रुसको प्रभाव बढी थियो भने आज अमेरिकाको प्रभाव बढी छ । जे होस, भारत बि्रटिश साम्राज्यवादको प्रत्यक्ष शासनबाट स्वतन्त्र भए पनि अझ पनि अर्धऔपनिवेशिक अवस्थामा रहेको छ । यसैले पनि होला भारतका शासकहरूको मनमस्तिष्कमा साम्राज्यवादी संस्कृति र उपनिवेशवादी चिन्तनको गहिरो छाप परेको छ । विस्तारवादी चरित्रको विकास भएको छ । भारतले आफूलाई कम्तिमा पनि दक्षिण एशियाको नाइके बनाउन चाहन्छ । भारत आफ्ना छिमेकी मुलुकलाई आफ्नो दास बनाउन चाहन्छ । भारतले आफ्नै स्वार्थका लागि पाकिस्तानलाई विभाजन गराउन ठूलो भूमिका खेलेको थियो भन्ने कुरा जगजाहेर छ । भारतले एउटा स्वतन्त्र मुलुक सिक्किम निलेको थियो । यो कुरा पनि जगजाहेर नै छ । यतिबेला भुटान भारतको मुठ्ठीमा छ भन्न सकिन्छ । भुटानको विदेशीनीति भारतले नै हेर्दछ । यही भएर नै भारतले भुटानी नेपाली शरणार्थीलाई नेपाल पस्न बाटो खोलिदिन्छ । तर, नेपालबाट फेरि भुटान छिर्न दिन्न । भुटानी नेपाली शरणार्थीलाई यतिबेला भुटान जाने बाटो छैन । उनीहरूले यतिबेला दास युगमा जस्तै आफ्नो परिवार र आफन्तबाट छुट्टिएर बस्नुपरेको छ, लाखापाखा भएर बस्नुपरेको छ । कोही कहाँ, कोही कहाँ छरिएर बस्नुपरेको छ । भारतले चाहेको भए भुटानी नेपाली शरणार्थीको समस्या उहिल्यै नै समाधान हुन्थ्यो ।श्रीलंकासित पनि भारतको सम्बन्ध खासै राम्रो छैन । पहिले भारतले तमिलहरूलाई र पछि सिंहलीहरूलाई सहयोग गर्यो । भारतलाई नटेर्ने दक्षिण एशियाको एउटै मुलुक पाकिस्तान हो । अरू मुलुक एक प्रकारले भारतका गुलामजस्ता बनिसकेका छन् ।
बि्रटिशको पालामा नेपाल बि्रटिशको अर्धउपनिवेश बनेको थियो । बि्रटिशले राणाहरूलाई हातमा लिएर नेपालमाथि शोषण र शासन गर्दथे । त्यही भएर नै कार्लमाक्र्सले जंगबहादुरलाई बि्रटिश साम्राज्यवादको चौकीदार भनेका थिए । जंगबहादुरपछि जति पनि नेपालका प्रधानमन्त्री भए, ती प्रायः सबै बि्रटिश साम्राज्यवाद वा भारतीय विस्तारवादका चौकीदार भए । जो भारतीय विस्तारवादका चौकीदार हुन मानेनन्, तिनलाई भारतको विस्तारवादी शक्तिले सीधै वा घुमाउरो पाराले सत्ताच्युत गर्यो ।
हिजो जसरी बि्रटिश साम्राज्यवाद नेपालमा जंगबहादुरलाई स्थापित गरेर आफ्नो निहीत स्वार्थ पूरा गर्न चाहन्थ्यो, त्यसरी नै आज त्यही बि्रटिश साम्राज्यवादले जन्माएका काला साहबहरू नेपालमा नयाँनयाँ जंगबहादुर जन्माउन चाहन्छन् । पक्कै हो, हालै नेपाल छिरेका भारतका प्रधानमन्त्री मनमोहन सिंहका विशेष दूत श्यामशरण यस अभागी मुलुकका लागि नयाँ जंगबहादुरलाई प्रधानमन्त्रीको कुर्सीमा बसाल्न आएका हुन्, चाहेका हुन् । यस मामिलामा उनी कति सफल भए-भएनन्, त्यो आउने दिनले नै प्रष्ट पार्नेछ । तर, यति कुरा साँचो हो, उनी नेपालमा माओवादीविरोधी मोर्चा बनाउन आएका हुन् । उनी नेपालमा नयाँ जंगबहादुरलाई प्रधानमन्त्रीको कुर्सीमा बसाल्न आएका हुन् । अझ यसलाई स्पष्ट भाषामा भन्दा उनी नेपालको आन्तरिक मामिलामा ठाडो र नांगो हस्तक्षेप गर्न आएका हुन् ।
नेपाल भ्रमणको बेलामा उनले नभेटीनहुने व्यक्ति वा शक्तिलाई पनि भेटे । उनले नभेटे पनि हुने व्यक्ति वा शक्तिलाई पनि भेटे । तर, यथार्थ के हो भने उनी माओवादीविरोधी शक्तिलाई भेट्न आएका हुन् । माओवादीविरोधी नभएको व्यक्ति वा शक्तिलाई पनि माओवादीविरोधी शक्तिका रूपमा विकसित गर्न आएका हुन् । यसैले उनले कतिलाई नयाँ राजनीतिको गायत्री-मन्त्र सुनाउन पनि भेटे । कतिलाई सबैलाई विनाभेदभाव भेट गरेको छु भन्ने भ्रम दिन पनि भेटे ।
उनले मधेसवादी दलहरूलाई भेट्न किन जरुरी थियो भने उनीहरू माओवादीतिर आकषिर्त हुन थालेका थिए । मधेसवादी दलले माओवादीलाई समर्थन गर्नासाथ पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने कुरा पक्का थियो । उनले एमालेलाई किन भेटे भने उसलाई कांग्रेसलाई भोट हाल भन्नु थियो । रामचन्द्र पौडेललाई जिताऊ भन्नुथियो । उनले कांग्रेसलाई किन भेटे भने उनलाई भन्नु थियो, नेपालको नयाँ जंगबहादुर हुने तिमीहरू नै हो । उनले माओवादीलाई किन भेटे भने उनले कुनै एउटा वा दलहरूलाई होइन सबै दललाई भेटेका छन् भन्ने भ्रम छर्नु थियो । उनले डा. बाबुराम भट्टराईलाई किन छुट्टै भेटे भने उनलाई भारतपरस्त माओवादी नेताका रूपमा चित्रित गर्नु थियो । अर्कोतिर यही भेटलाई लिएर माओवादीबीचमा फुटाऊ र राज गरको नीति अनुशरण गर्नु थियो । माओवादी विरुद्धमा अन्तरविरोध र कलहको विषवृक्ष रोपिदिनु थियो । उनले आलंकारिक राष्ट्रपतिलाई के सन्देश दिन गोप्य भेट गरे, त्यो पछिसम्म एउटा राजको रूपमा नै रहनेछ । भनिन्छ, उनले नेपाली सेनाका सेनापतिलाई पनि भेटे । यदि उनले बाहिर हल्ला आएजस्तै प्रधान सेनापति छत्रमान सिंह गुरुङलाई भेटेकै हुन् भने पनि त्यो अझ बढी रहस्यमय भेट हो भन्न सकिन्छ । यस भेटले कतै भारतीय विस्तारवादको सम्बन्ध ठूलाठूला राजनेतादेखि आर्मीका चिफसम्म बढेको त छैन भन्ने शंका, उपशंकालाई जन्म दिन्छ ।
यसै सन्दर्भमा एक वर्षअघि तमलोपाबाट माओवादीमा आएका सभासद् तथा माओवादी केन्द्रीय सदस्य रामकुमार शर्मालाई माओवादी बनेको र माओवादीको पक्षमा मतदान गरेको सवाललाई उठाएर भारतीय दूतावासका एक कर्मचारीले जुन धम्कीको भाषामा हप्काए, त्यो भारतीय हस्तक्षेपको एउटा नांगो रूप हो । यो कुनै पनि स्वाभिमानी नेपाली र राष्ट्रका लागि सैह्य कुरा हुन सक्दैन । यदि कुनै पनि राष्ट्रमा कुनै विदेशी राजदूतावासका कर्मचारीले त्यहाँका नेता सभासद् वा नागरिकलाई त्यसरी धम्कीको भाषामा हप्काउने दुस्साहस गर्दथे भने त्यस राष्ट्रले विदेशी दूतावासका कर्मचारी वा राजदूतलाई समेत एक सेकेन्ड पनि ढिलो नगरी बेडिङ-बिस्तारा बोकेर आफ्नै देशमा फिर्ता पठाइदिन्थ्यो । तर, भारतीय दूतावासका सामान्य कर्मचारी नेपाली नेता वा सरकारलाई समेत धम्काउने धृष्टता राख्दछन् । यो राष्ट्रका लागि लज्जाको विषय हो ।
भारतको यस्तो नांगो र भद्दा हस्तक्षेपका खास कारण नेपालका राजनीतिक दलहरूमा रहेको दलाली संस्कृति तथा दासमनोवृत्ति नै हो । नेपालमा नयाँ जंगबहादुर हुन चाहने धेरै नेताहरू भारतीय शासकहरूको आशिष थाप्न शिर निहुराएर बसेका छन् । यही कारण नै भारतीय हस्तक्षेप दिन दुगुना, रात चौगुना बढ्दै छ । नेपालका राजनीतिक नेताहरूमा माओवादीको केन्द्रीय नेता तथा सभासद् रामकुमार शर्मामा जस्तै राष्ट्रिय स्वाभिमान जागृत हुने हो भने हामी भारतीय शासकहरूको भद्दा हस्तक्षेपको सामना गर्न सक्दछौँ र त्यसलाई सजिलै पराजित गर्न सक्दछौँ । हामीले हिम्मतसाथ भन्न सक्नुपर्दछ, हामी भारतलाई असल छिमेकी मित्रका रूपमा हेर्न चाहन्छौँ । नेपालमा नयाँनयाँ जंगबहादुर जन्माउने हस्तक्षेपकारी शक्ति वा प्रभुका रूपमा होइन ।
source:nayapatrika