(काठमाडौं), राजा पृथ्वीनारायण शाहको अनुहार कस्तो थियो यो प्रश्नको  उत्तर कसैलाई पनि थाहा छैन।  
देशभरका विभन्न मूर्तिकारले निर्माण गरेका पृथ्वीनारायण शाहका सालिक सबै  कल्पनामा आधारित छन्। तर सुन्दा अचम्म लाग्न सक्छ- उनी आफैंले वसन्तपुरको  नौतले दरबार निर्माण गर्दा बनाउन लगाएको सालिक एउटा कोठामा थन्किएको  अवस्थामा छ। 
पृथ्वीनारायण शाह रिसाहा थिए त्यही अनुमानका आधारमा उनको सालिक निर्माण  गरिएको हुनुपर्छ -तलेजु भवानीको भण्डार कोठामा राखिएको सालिकबारे जानकारी  दिँदै हनुमानढोका दरबार संग्रहालयका प्रमुख श्यामसुन्दर राजवंशीले भने-  त्यही नै उनको सक्कली अनुहारयुक्त सालिक हो।
ढलोटले बनेको सो सालिक २०५७ सालतिर नौतले दरबारमा राख्ने प्रयास गरे पनि  उचाल्न नसकेका कारण सम्भव नभएको उनले जानकारी दिए। तलेजु भवानीको अगाडि  राख्ने तयारी गरी बनाइएको उक्त सालिकमा पृथ्वीनारायण घुँडा मारेर दुई हात  जोडेर नमस्कार गरेको शारीरिक मुद्रामा छन्। अति गह्रुँगो छ संग्रहालयप्रमुख  राजवंशीले भने- १० वर्षअघि १५ जनाले उचाल्ने प्रयास गरे पनि सम्भव भएन।
अहिलेका कुनै पनि सालिक राजा पृथ्वीनारायण शाहको अनुहारसँग मेल खाँदैनन्  सबै अनुमानको भरमा बनाइएका हुन् -उनले भने। पृथ्वीनारायण शाहको सालिकसँगै  उनले आफ्नी श्रीमती चन्द्रप्रभा र नरेन्द्रवतीको सालिकसमेत बनाउन लगाएका  छन्। अहिले तीनवटै सालिक एकै ठाउँमा छन्। 
संग्रहालयले पृथ्वीनारायण शाहको सक्कली सालिक नासलचोकसँगै रहेको सिसा  बैठकको कक्षमा राख्ने तयारी गरेको छ। पाचमुखी हनुमान्को मन्दिरनजिक रहेको  बैठक कक्षमा राख्न संग्रहालय प्रशासनले मर्मत कार्य आरम्भ गरिसकेको छ।  क्रेनले उठाएर भए पनि पृथ्वीनारायणसहित उनका दुई श्रीमतीको सालिक  प्रदर्शनीमा राख्नेछौं -संग्रहालयप्रमुख राजवंशीले जानकारी दिए। 
पृथ्वीनारायण शाहको सक्कली अनुहार सबैलाई देखाउनकै लागि तत्कालै सालिक  राख्न लागिएको बताउँदै उनले भने- त्यसपछि पृथ्वीनारायण शाह कस्ता रहेछन्  भन्ने सबैलाई जानकारी हुनेछ। 
पृथ्वीनारायण शाहका अहिलेसम्म बनाइएका सबै सालिकको अनुहार फरक छ कहीँकतै  आकृति पनि मिल्दैन -संग्रहालयप्रमुख राजवंशीले नेपाल समाचारपत्रसँग भने-  यथार्थ अनुहार पत्ता लगाउन सोही सालिक हेर्नैपर्छ।                       
source:samacharpatra