(काठमाडौं), चौथो पटक पराजित भइसक्दा समेत प्रधानमन्त्रीका लागि प्रतिस्पर्धी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस
संसदीय दलका नेता रामचन्द्र पौडेलले जतिपटक हारे पनि मैदानबाट नभाग्ने अठोट गर्नुभएको छ।
माओवादीका पदाधिकारी र कांग्रेस कार्यसमितिको शनिबार बसेको बैठकले आ-आफ्ना उम्मेदवारलाई चुनावी मैदानमा कायमै राख्ने निर्णय गरेको छ। चौथो पटक पनि प्रधानमन्त्री चयन हुन नसकेपछि अघिल्लो हप्ता सहमतिका लागि विकल्पका बारेमा व्यापक बहस प्रारम्भ गरिएको थियो र नेपाली कांग्रेस पदाधिकारी बैठकले चौथो चरणमा पनि पराजित भए सहमतिको विकल्प खोज्ने निर्णय गरेको थियो। तर कांग्रेसको शनिबार बसेको बैठकले उम्मेदवारीलाई निरन्तरता दिने गरी अघिल्लो पदाधिकारी बैठकको निर्णयलाई सच्याएको छ।
राष्ट्रिय सहमतिको सरकार शान्ति र संविधान निर्माणकार्यलाई अगाडि बढाउन एवम् निष्कर्षमा पुर्याउन आमसहमतिको मार्गप्रशस्त गर्न भनी प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिनुभएको पनि छ हप्ता पुग्न लागेको छ। यसबीचमा चार पटकसम्म बहुमतीय सरकारका लागि संसद्मा निर्वाचन भइसकेको छ भने अर्को निर्वाचनको तिथि भदौ २ गतेका लागि तोकिएको छ।
नेकपा एमाले का अध्यक्ष झलनाथ खनालले बहुमत पाउने अवस्था हुँदाहुँदै राष्ट्रिय सहमतिको सरकारविना मुलुकका समस्या समाधान हुन नसक्ने पार्टीको निष्कर्ष रहेको भन्दै प्रधानमन्त्रीको उम्मेदवारी पहिलो पटकको साउन ५ गतेको निर्वाचनमा नै फिर्ता लिनुभएको थियो। सो पार्टी सहमतिको सरकार नबन्ने अवस्थासम्म कसैलाई पनि मतदान नगर्ने भनी तटस्थ रहँदै अँएको छ।
एमाले अध्यक्ष खनालले सहमतिको सरकार निर्माणका लागि आफ्नो पार्टीले अभियान नै थाल्ने र आवश्यक परे लाखौं जनता सडकमा उतारिने उद्घोष गर्नुभएको छ। अध्यक्ष खनालले शनिबार पार्टी केन्द्रीय कार्यालयमा एमाले सम्पर्क विशेष समन्वय कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमालेको अडान ठीक साबित हुन गएको बताउनुभएको छ। उहाँले राष्ट्रिय सहमतिका लागि नयाँ प्रक्रियाबाट अगाडि बढ्नुपर्ने २२ दलबीच निर्णय भइसकेको र अब कांग्रेस र माओवादीलाई त्यो प्रक्रियामा सामेल गराउन भदौ २ गतेसम्म घनीभूत छलफल गरिने जानकारी गराउनुभयो।
प्रधानमन्त्री चयनका लागि निर्णायक शक्तिका रुपमा रहेको नेकपा एमाले र मधेसी लोकतान्त्रिक मोर्चाको तटस्थता एवम् प्रधानमन्त्रीका उम्मेदवार प्रचण्ड र पौडेलले आफ्नो उम्मेदवारीलाई कायमै राखेसम्म मुलुक अनिर्णयको बन्दी भइराख्ने भएको छ। नियमावली परिवर्तन नगरेसम्म नयाँ प्रकि्रयामा जान नमिल्ने र जति पटक हारे पनि दुई प्रतिस्पर्धीबीच निर्वाचन जारी राख्नुपर्ने अवस्था छ।
यस्तो अन्योल र अनिर्णयको अवस्थाबाट मुलुकलाई मुक्त गराउन दलहरुले ठोस र निष्कर्षमा पुग्ने सहमति गर्नुपर्छ अन्यथा जनतामा निराशा बढ्दै जान्छ -सभामुख सुवास नेम्वाङले भन्नुभएको छ। उहाँले आगामी निर्वाचनमा प्रधानमन्त्री चयन हुने स्थिति होस् भन्ने उद्देश्यले आफ्ना तर्फबाट आवश्यक भेटघाट र परामर्शलाई आज आइतबारदेखि पुनः प्रारम्भ गर्नुहुने भएको छ।
माओवादीले भने पार्टी अध्यक्ष प्रचण्डलाई विजयी बनाउन व्यापक ढंगले लाग्ने र भदौ २ को निर्वाचनलाई परिणाममुखी बनाउने निर्णय गरेको छ। पदाधिकारी बैठकले भदौ २ गतेसम्म मधेसवादी मोर्चालाई साथमा लिने गरी व्यापक कसरत गर्ने र साना दलका सभासद्हरुसँग गम्भीर कुराकानी गर्ने निर्णयसमेत गरेको छ। पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबैभन्दा ठूलो दलको हैसियतले आफ्नै पार्टीको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार निर्माण गर्नु सबैभन्दा वैज्ञानिक र उपयुक्त हुने बताउनुभएको छ।
कांग्रेस बैठकले पनि विगत दुईवटा सरकार असफल भइसकेको भन्दै अब संविधान र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने गरी आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउनुपर्छ र त्यो मात्रै अबको एक मात्र विकल्प भएको निष्कर्ष निकालेको छ। सो पार्टीबाट प्रवक्ता एवम् सहमहामन्त्री अर्जुननरिसंह केसीले प्रतिस्पर्धाबाट नबढारिने गरी सहमतिका लागि विकल्प खुला गर्ने निर्णय भएको स्पष्ट पार्नुभएको छ। उहाँले एउटा प्रक्रियामा प्रवेश गरिसकेपछि त्यसबाट बाहिरिने त कुरै आउँदैन भन्नुभएको छ।
source:samacharpatra