माओवादी र मधेसी महिला सभासद्को बैठक युवाले विथोले :

काठमाडौं, श्रावण २० - माओवादी र मधेसी महिला सभासद्हरु बीचको गोप्य छलफललाई
फोरम लोकतान्त्रिकको युवा समुहले विथोलेको छ ।
बानेश्वरस्थित होटल सनसेटमा बिहीबार छलफल भइरहेको बेला दुई वटा सरकारी गाडीमा युवाहरुको समुह बैठकस्थल प्रवेश गर्न थालेपछि सभासद्हरु होटल पछाडीको ढोकाबाट बाहिरीएका थिए ।
छलफल चलिरहेकै बेला मधेसी युवा फोरमका सचिव समीर रानाले नेतृत्व गरेको समुह बैठकस्थल आइपुगेको थियो ।
सुरुमा उनीहरुलाई होटल प्रशासनले सिधै बैठकस्थल जान नदिएपछि त्यही मौका छोपेर सभासद्हरु पछाडीको ढोकाबाट बाहिरीएका हुन् । गाडी मेलम्चि खानेपानी परियोजनाको रहेको बताइएको छ ।
'फ्लोर क्रस गर्ने होइन, जसलाई भोट दिएपनि मधेसी मोर्चा एकै ठाउमा उभिनुपर्छ' रानाले भने, 'पैसाको लोभमा परेर मोर्चाको निर्णय मान्दैन भने त्यसलाई भौतिक कारवाही गरिन्छ ।' उनले पैसाको खेला भइरहेको सुनेर त्यसलाई रोक्न बैठकस्थल आएको दावी गरे ।
माओवादी नेतृ पम्फा भूषाललगायतका नेताहरुले मधेसी महिला तथा गत १७ गतेको प्रधानमन्त्री निर्वाचन बेला फ्लोरक्रस गरेका सभासद्हरुसंग करिव चार घण्टा छलफल गरेका थिए ।
छलफलमा फोरम सभासद् तथा कृषी राज्यमन्त्री करिमा वेगम, सभासद्हरु प्रमोद गुप्ता, शिव नारायण उराव, रुक्मिनी चौधरी, रामानन्द मण्डललगायत थिए ।
सभासद् वेगमले भने आफुहरु देशको बारेमा छलफल गर्न भेला भएको उल्लेख गर्दै मोर्चाको निर्णय अनुसार नै मतदान गर्ने संवाददाताहरुसंग बताइन् ।

source:kantipur