काठमाडौ, श्रावण २१ - भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेष दूत श्याम शरणले लोकतान्त्रिक दलको
नेतृत्वमा माओवादीसहित राष्ट्रिय सहमतिको सरकार बनाउँदा शान्ति र संविधान निर्माण टुंगोमा पुग्ने भन्दै त्यसतर्फ लाग्न दलहरूलाई सुझाव दिएका छन् । शान्ति प्रक्रिया र संविधान लेखन सुनिश्चित नभएसम्म माओवादीलाई सरकारको नेतृत्वचाहिँ दिन नहुने उनले धारणा राखे ।
दलहरू प्रधानमन्त्री चयन गर्न असफल भइरहेका बेला भारत सरकारका धारणा र सुझाव लिएर काठमाडौं आएका उनले बिहीबार मुख्य दलका प्रमुख/शीर्ष नेतासँगको वार्तामा वर्तमान सत्ता गठबन्धन कायम राखी त्यसमा माओवादीलाई समेत समेट्नुपर्ने बताएका हुन् ।
'लोकतान्त्रिक शक्तिहरू मिलेर अघि बढ्दै माओवादीलाई साइजमा राख्नुपर्छ भन्ने उहाँको धारणा थियो,' एक शीर्ष नेताले शरणको भनाइ उल्लेख गर्दै कान्तिपुरसँग भने, 'शान्ति प्रक्रिया र संविधान निर्माणमा माओवादी सुनिश्चितता नहुँदासम्म सरकारको नेतृत्व दिनु हुँदैन भन्ने भारतीय धारणा रहेको पाएँ ।'
तस्रो पटकको मतदानमा पनि प्रधानमन्त्री छान्न नसकेपछि 'समस्या समाधानमा सहयोग पुर्याउने' उद्देश्यले बुधबार 'आकस्मिक' निर्णयमा नेपाल आएका शरणले बिहीबार माओवादी, कांग्रेस र एमालेका शीर्ष नेतृत्वसँग भेटवार्ता गरेका थिए ।
शरणले चौथो पटकको निर्वाचनमा पनि प्रधानमन्त्री छानिने अवस्था नरहेको भन्दै त्यसपछि नयाँ प्रक्रियामा जानुपर्ने धारणासमेत राखेका छन् । 'सहमतिबिनाको निर्वाचनबाट प्रधानमन्त्री निर्वाचित गर्ने अवस्था देखिएन, यसले निकास दिँदैन,' बैठकमा सहभागी अर्का एक सदस्यले भने, 'त्यसपछि केही साता ग्याप राखेर त्यसबीचमा राष्ट्रिय सहमति खोजिनुपर्ने खालको विचार उहाँको थियो ।'
कांग्रेस संसदीय दल नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक शक्तिबीच एकता कायम रहोस् भन्ने धारणा शरणले राखेको बताए । 'लोकतन्त्रवादीबीच सद्भाव र
एकता हुनुपर्छ भन्ने उनको धारणा थियो,' पौडेलले कान्तिपुरलाई भने । शरणले कांग्रेस कावा सभापति सुशील कोइराला र पौडेलसँगको भेटमा शान्ति प्रक्रिया, सरकार निर्माणका गतिरोधलगायतका विषयमा छलफल गरेका थिए ।
एमाले अध्यक्ष झलनाथ खनालसँग पनि उनले भारतको प्राथमिकतामा शान्ति र संविधान रहेको र त्यो राष्ट्रिय सहमतिबाट मात्र सम्भव हुने बताएका थिए । 'माओवादीलाई राष्ट्रिय सहमतिको सरकारमा समेट्नुपर्छ तर नेतृत्वचाहिँ लोकतान्त्रिक शक्तिले लिनुपर्छ भन्ने उनको धारणा पाएँ,' खनालले डल्लु निवासमा भएको सवा घन्टा लामो वार्ताको निष्कर्ष कान्तिपुरलाई सुनाए ।
शरणले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा आफ्नो भ्रमण सरकार निर्माणमा केन्दि्रत नरहेको बताएका थिए । 'नेपालमा शान्ति, स्थिरता, नयाँ संविधान र राष्ट्रिय सहमति निर्माण होस् भन्नेमा प्रयास रहन्छ । हाम्रो अन्य कुनै चासो छैन,' भेटमा दाहालसँगै रहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शरणको भनाइ उद्धृत गर्दै भने, 'सरकार निर्माणमा हस्तक्षेप र कुनै दृष्टिकोण छैन ।' सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय नेपालको आन्तरिक मामिला भएको शरणले बताएको पनि उनले उल्लेख गरे ।
दाहालको नयाँबजार निवासमा भएको वार्तामा माओवादी उपाध्यक्षत्रय मोहन वैद्य, बाबुराम भट्टराई र श्रेष्ठ, महासचिव रामबहादुर थापा र विदेश विभाग प्रमुख कृष्णबहादुर महरा सहभागी थिए । माओवादी नेताहरूले शान्ति प्रक्रिया, लडाकु समायोजन, संविधान निर्माण र लोकतन्त्रबारे आफ्ना धारणा राखेको थियो । 'शान्ति प्रक्रियालाई सेना समायोजनसहित टुंगोमा पुर्याउने तथा संविधान निर्माणप्रतिको हाम्रो धारणा राख्यौं,' श्रेष्ठले भने । 'भारतले आफ्नो नेतृत्वमा सरकार बनाउन नदिएको नेपाली जनताले बुझेको' भन्दै माओवादी नेताहरूले शरणसमक्ष असन्तुष्टि पोखेका थिए ।
source:kantipur