काठमाडौ, श्रावण २९ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी मुखपत्र ''संश्लेषण''मा लेखे,
'पार्टीमा व्यक्तिवादी अराजकता र पदलोलुपताको खतरा बढ्यो ।'
दाहालले लेखमार्फत पार्टीको अन्तरसंघर्ष किन सार्वजनिक गरे ? मुखपत्रले पार्टी अन्तरविरोधको कुरा यतिबेला किन उठायो ? किनकि, यतिबेला अध्यक्ष दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईबीचको अन्तरसंघर्ष सतहमै आएको छ । र, दाहालले त्यसलाई 'एकता र अन्तरपार्टी संघर्ष' शीर्षकको लेखमार्फत खुलासा गरे ।
अन्तरसंघर्ष र धार चुलिँदै जाँदा माओवादी नेताका आ-आफ्नै पत्रिका निस्कन थालेका छन् । भट्टराईको सल्लाहमा 'रातो झिल्को' त्रैमासिक विचारप्रधान प्रकाशित भएपछि अर्का उपाध्यक्ष
मोहन वैद्य सल्लाहकार रहेको 'कम्युनिस्ट आउटलुक' उस्तै आकारको पत्रिका निस्किएको छ । झिल्को सम्पादक भट्टराई पुत्री मानुषी यमी भट्टराई छिन् भने आउटलुकका सम्पादक सुदर्शन मंगोल हुन् । झिल्कोमा भट्टराईको विचारलाई केन्द्रविन्दुमा राखी बहस हुने गरेको छ भने आउटलुकमा वैद्यका विचार समेटिन्छ । त्यस्तै ऋषिराज बरालको सम्पादकत्वमा उस्तै आकारको 'समयबद्ध' पत्रिका निस्किएको छ । सबैले पार्टीका फरकफरक विचारको प्रतिनिधित्व गर्छन् । यस्तै महासचिव रामबहादुर थापालाई सहयोग र समर्थन गर्ने गरी खिलबहादुर भण्डारीको सम्पादकत्वमा 'समावेशी' मासिक निस्किन्छ । अन्य नेताहरूले पनि मासिक, साप्ताहिक रूपमा पत्रिका निकालिरहेका छन् ।
दाहालको आवरण लेखले विगतमा २०५०, २०५५, २०५७, २०६०/०६१ र २०६५ मा चर्किएको अन्तरसंघर्षलाई सम्झाएको छ । मुखपत्रमा दाहालले लेखेका छन्, 'हामी जतिजति सत्तानजिक पुग्दै जान्छौं, त्यतित्यति बेला पार्टीमा व्यक्तिवादी अराजकता, नोकरशाही, पदलोलुपता, अस्वस्थ प्रतिस्पर्धा, क्षेत्रीयता, अन्धजातीयता प्रवृत्तिहरूले टाउको उठाउने खतरा पनि बढ्दै जान्छ ।' उनले केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्तावमा पनि 'पार्टी अन्तरविरोध' प्रमुख मुद्दा बनाएका छन् । भदौ पहिलो साता बस्ने बैठकमा यसमाथि छलफल हुनेछ । अर्का उपाध्यक्ष वैद्य यतिबेला 'पर्ख र हेर' को नीतिमा छन् । उनले जसलाई समर्थन गर्छन्, पार्टीमा त्यो पक्ष हावी हुनेछ ।
माओवादी शान्ति प्रक्रियामा आइसकेपछि कार्यदिशामा दुई धार छन्, पहिलो लोकतान्त्रिक गणतन्त्रको संस्थागत गरी अघि बढ्ने, दोस्रो यसमा टेकेर जनविद्रोहको बाटोमा अघि बढ्ने । पहिलो धारलाई भट्टराईले पकडेका छन् । 'पहिले जनताको लोकतन्त्रको प्रश्न, जसलाई हामी जनताको संघीय लोकतान्त्रिक गणतन्त्र भन्छौं, त्यसलाई संविधानसभामार्फत संस्थागत गरौं,' भट्टराईले हालै आफ्नो लेखमार्फत भनेका छन् । दाहाल पछिल्लो समयमा विदेेशी हस्तक्षेप तीव्र भएको भन्दै 'जनविद्रोह' को तयारी गर्ने पक्षमा देखिन्छन् । 'शान्ति र संविधान निष्कर्षमा पुग्न नदिने देशभित्र र बाहिरबाट षड्यन्त्र भए हामीले लामो युद्ध लड्नुपर्ने आवश्यकता छ,' उनले भन्दै आएका
छन् । विशेषगरी भारतका कारण शान्ति र संविधान निष्कर्षमा पुग्न नसक्ने विश्लेषण उनको छ । बिहीबार बैठकमा उनले 'राष्ट्रियताको संघर्ष नजितेसम्म शान्ति र संविधान निष्कर्षमा नपुग्ने' भन्नुकोे सार यही हो ।
भट्टराईले भने आन्तरिक राष्ट्रियता बलियो भएमात्र बाह्य हस्तक्षेपसँग लड्न सकिने धारणा राखेका छन् । 'राष्ट्रियता र जनतन्त्र दुवैलाई जोड्नुपर्छ तर तत्काल लड्दाखेरी आन्तरिक जनवादको प्रश्नलाई हल गरेर मात्र राष्ट्रियताको प्रश्न हल गर्न सकिन्छ,' उनको भनाइ छ, 'आन्तरिक जनवाद हल नगरेसम्म आन्तरिक राष्ट्रिय एकता बलियो हुँदैन र त्यो नभएसम्म बाह्य लडाइँ जित्न सकिँदैन ।' सचिव सीपी गजुरेलले पार्टीभित्र गम्भीर अन्तरसंघर्ष भएको बताए । 'हाम्रो पार्टीभित्र गम्भीर प्रकारको अन्तरसंघर्ष छ,' उनले पार्टी मुखपत्रको वार्तामा भनेका छन्, 'हामीभित्र भएका अन्तरसंघर्षका विषयहरू केबल जोडकोणका मात्रै होइनन् भन्ने कुराचाहिँ प्रस्ट भयो र अन्तरसंघर्ष अब निकै माथि उठिसकेको छ ।
source:kantipur