काठमाडौ, श्रावण २९ - भनिन्छ कांग्रेस बूढाहरूको पार्टी हो । तर बाह्रौं महाधिवेशन क्रमले यो गलत
सावित गरिदिएको छ । पार्टी अब तन्नेरीहरूको पनि भएको छ ।
पार्टीको क्रियाशील सदस्य, गाउँ/नगर, क्षेत्र र जिल्ला समितिको नेतृत्वका साथै महाधिवेशन प्रतिनिधि/महासमिति सदस्यमा समेत ४० प्रतिशतभन्दा बढी सिट युवाले जितेका छन् । यसअघिका अधिवेशनमा यो संख्या ५ प्रतिशतको हाराहारीमात्र हुन्थ्यो ।
महाधिवेशन प्रतिनिधिमा ठूलो संख्यामा युवाको उपस्थिति बढेकाले असोज पहिलो साता सभापतिसहित केन्द्रीय कार्यसमितिका लागि हुने निर्वाचनमा युवाको प्रवेश बढ्ने भएको छ ।
केन्द्रीय सदस्य नरहरि आचार्यका अनुसार पार्टीमा यसपटक क्रियाशील सदस्य संख्या बढेर ३ लाख १२ हजार ४ सय ८३ पुगेको छ । अघिल्लो महाधिवेशनको तुलनामा १ लाख ८० हजार सदस्य बढेका हुन् । कुल सदस्यमा १८ देखि ३५ वर्षका झन्डै १ लाख, ३६ देखि ६५ वर्षका १ लाख ७२ हजार, ६५ वर्ष कटेका १४ हजार २ सय ३० र ८० वर्ष कटेका झन्डै एक हजार सदस्य छन् । क्रियाशील सदस्यमा युवाको संख्या बढेकाले यसपटक केन्द्रीय नेतृत्व चयन गर्ने सबभन्दा शक्तिशाली निकाय महाधिवेशन प्रतिनिधिमा समेत युवाको प्रतिनिधित्व ४० प्रतिशतभन्दा बढी पुगेको छ । कांग्रेसलाई समावेशी बनाउन आधा महाधिवेशन प्रतिनिधि दलित, महिला, आदिवासी जनजाति, अल्पसंख्यकबाट निर्वाचित भएका छन्, जसमा आधाभन्दा बढी युवा छन् । खुला प्रतिस्पर्धाबाट निर्वाचित महाधिवेशन प्रतिनिधिमा समेत युवाको प्रतिनिधित्व व्यापक छ । महाधिवेशन प्रतिनिधिमा ४० प्रतिशतको हाराहारीमा युवा आएका छन् । 'गाउँ, नगर, क्षेत्रीय र जिल्ला सभापतिमा पुराना दोहोरिनेको भन्दा नयाँ आउनेको संख्या धेरै छ, यसपटक पार्टीमा नवीनता आएको,' आचार्यले जनाए । कांग्रेसमा शनिबारसम्म करिब ४० जिल्ला सभापति निर्वाचित भएकामा दुई जना चितवनका विकास कोइराला र रुकुमका मानबहादुर नेपाली ३५ वर्षमुनिका छन् । अरू अधिकांश सभापतिसमेत ५० वर्षमुनिका छन् । कांग्रेसमा यसअघि ३५ वर्षको कोही पनि जिल्ला सभापति छानिएको उदाहरण छैन ।
कांग्रेसले विधान परिवर्तन गरेकाले पनि पार्टीले यसपटकदेखि काँचुली फेर्दैछ । यसअघि केन्द्रीय समितिमा मुस्किलले महिला एकाध जनामात्र सदस्य हुन्थे । बाह्रौं महाधिवेशनमा खुला र अञ्चलबाट कसैले जितेनन् भने पनि ८५ सदस्यीय केन्द्रीय कार्यसमितिमा १३ महिला निर्वाचित हुनेछन् । खुला र अञ्चलबाट निर्वाचित हुने र मनोनयन पाउनेको संख्याले उनीहरूको प्रतिनिधित्व अझ बढ्ने छ । करिब ३ हजार महाधिवेशन प्रतिनिधिमा निर्वाचत महिलाको संख्या ५ सय नाघेको छ । कुल क्रियाशील सदस्यमा महिलाको संख्या १७ प्रतिशत छ । अघिल्लो महाधिवेशनमा महिलाको संख्या मुस्किलले ५ प्रतिशत थियो ।
गाउँ/वडा/नगरदेखि जिल्ला समितिमा समेत महिलाको प्रतिनिधित्व यसपटक ह्वात्तै बढेको
छ । कांग्रेसका कुनै पनि तहमा दलितको प्रतिनिधित्व शून्यप्रायः थियो । तर यसपटक तल्ला इकाईमा मात्र नभई केन्द्रीय कार्यसमितिमा समेत कम्तीमा ६ दलित निर्वाचित हुनेछन् । खुला र अञ्चलबाट निर्वाचित र मनोनीत हुनेले कांग्रेसमा दलितको प्रतिनिधित्व अझ बढाउने
छ । यसपटक दलित महाधिवेशन प्रतिनिधि २ सय ५० भन्दा बढी छन् । बाह्रौं महाधिवेशनबाट अल्पसंख्यक समुदाय मुस्लिमबाट समेत कांग्रेस केन्द्रीय कार्यसमितिमा दुई जना पुग्ने छन् । कांग्रेसमा मधेसी, आदिवासी जनजाति र अल्पसंख्यकको प्रतिनिधित्व पनि यसपटक ठूलो मात्रामा बढाइएको छ ।
अर्का केन्द्रीय सदस्य डा. रामशरण महतले पार्टीमा दलित, आदिवासी, महिला, मधेसी, मुस्लिमको प्रतिनिधित्वको वृद्धिले कांग्रेसको स्वरूप विविधतायुक्त हुने बताए । 'कांग्रेसको जनाधार विस्तारित भएको छ । मुलुकमा जुन जातीय र क्षेत्रीय विविधिता छ, त्यो विविधता अब कांग्रेसको गाउँ तहदेखि केन्द्रीय कार्यसमितिसम्ममा देखिनेछ,' उनले भने, 'त्यसले कांग्रेसमा नयाँ उत्साह थप्नेछ ।'
कांग्रेसको बाह्रौं महाधिवेशन पार्टीभित्र आन्तरिक लोकतान्त्रिक अभ्यासका दृष्टिले समेत उल्लेख्य हुनेछ । यसपटक गाउँ तहदेखि नेतृत्वको चयन स्वच्छ लोकतान्त्रिक प्रतिस्पर्धाबाट भएको छ । आफू अनुकूललाई मात्र क्रियाशील सदस्यता दिने र सीमित व्यक्तिले पद कब्जा गर्न कार्यकर्तालाई छलेर जिल्ला-जिल्लाका अधिवेशन राजधानीमै गर्ने पुरानो प्रवृत्ति हटेको छ । वडा/गाउँ/नगर/क्षेत्रीयदेखि जिल्ला अधिवेशन खुला ढंगले भइरहेको छ । निर्वाचन परिणाम पनि विवादरहित देखिएका छन् । यसरी नै स्वच्छ प्रतिस्पर्धाका आधारमा केन्द्रीय महाधिवेशन सम्पन्न हुने हो भने कांग्रेसले आफूलाई आन्तरिक लोकतान्त्रिक अभ्यासका दृष्टिले अब्बल सावित गर्नेछ ।
मुलुकमा माओवादीको सशस्त्र द्वन्द्व चर्किएपछि कांग्रेसका गाउँले कार्यकर्ता राजधानी र सदरमुकाम पलायन भई गाउँ-गाउँमा उसको संगठन शून्यप्रायः भएको थियो । कांग्रेस नेता/कार्यकर्ता र गाउँका जनताबीचका लगभग सम्पर्क टुटेको थियो । तर पार्टीले यसपटक दूरदराजका गाउँ-गाउँ पुगेर पुराना क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण गरेको छ । वडा/गाउँ र क्षेत्रीय अधिवेशन खुला ढंगले गरेपछि गाउँ-गाउँमा उसको संगठनले पुनर्जीवन पाएको छ ।
'गाउँ/नगर र क्षेत्रीय अधिवेशनपछि कांग्रेसमा सांगठनिक हिसाबले नयाँ रक्तसञ्चार भएको छ,'
आचार्यले भने, 'पार्टीमा यसपटकदेखि सदस्यता र सहभागितामात्र बढेको छैन, दलित, महिला, मुस्लिम, आदिवासी जनजाति र मधेसीको संख्यासमेत थपिएको छ ।'
कांग्रेसमा यसपटक कतिपय जिल्लामा कार्यवाहक सभापति सुशील कोइरालाले नेतृत्व गरेको संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवाले नेतृत्व गरेको प्रजातान्त्रिक समूहबीच प्रतिस्पर्धा भयो र परिणामसमेत त्यही ढंगले आयो । त्यसले २०५९ मा विभाजित भई २०६४ मा एकीकरण भएको कांग्रेसमा विभाजनको तुस अझै रहेको उजागर गरेको छ । कांग्रेस एकीकरण हुँदा जिल्लादेखि केन्द्रसम्म संस्थापनलाई ६०, प्रजातान्त्रिकलाई ४० प्रतिशत सिट दिइएको थियो । जति जिल्लामा कोइराला र देउवा पक्ष भनेर प्रतिस्पर्धा भयो, परिणाम पनि त्यही हाराहारीमा आयो । तर अरू जिल्लामा भने कांग्रेसमा कोइराला र देउवा पक्ष भनेर प्रतिस्पर्धा भएन, ती जिल्लामा परिणामसमेत समूह छुट्टयाउन नसक्ने गरी आएका छन्, त्यस्ता जिल्लामा दुई पक्षको तुस देखिएन भने नेतृत्वसमेत राम्रो आएको नेताहरू बताउँछन् ।
source:kantipur