चार महिना नेतृत्व गर्न देऊ : कांग्रेस :

काठमाडौ, श्रावण ३० - कांग्रेसले शान्ति प्रक्रिया सुनिश्चित गर्न चार महिनाका लागि मात्रै
सरकारको नेतृत्व चाहेको स्पष्ट पार्दै एमालेलाई सहयोग गर्न आग्रह गरेको छ । शान्ति प्रक्रिया कार्यान्वयन हुने सुनिश्चित आधार निर्माण भएपछि नेतृत्व छाडेर अन्य दललाई सहयोग गर्न तयार रहको पनि कांग्रेसले बताएको छ ।
शान्ति प्रक्रिया र लोकतान्त्रिक संविधान निर्माणमा सहमति नजुट्दासम्म राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने निष्कर्षका साथ कांग्रेसले अहिलेको प्रक्रियालाई टुंगोमा पुर्‍याउन पनि एमालेसँग आग्रह गरेको छ ।
चार महिनाका लागि सरकारको नेतृत्वको प्रस्ताव गरेर कांग्रेसले प्रमुख तीन दलबीच सहमतिका लागि 'चक्रीय प्रणाली' मा जान तयार देखाएको हो । कांग्रेसका एक नेताका अनुसार प्रमुख तीन दलमध्ये शान्ति प्रक्रिया कार्यान्वयन गर्ने अवधिसम्म कांग्रेसले नेतृत्व गर्नुपर्ने, संविधान निर्माण गरी जारी गर्ने र निर्वाचन गर्ने अवधिका लागि बाँकी दुई दलले नेतृत्व गर्ने गरी सहमति जुटाउन सकिन्छ । 'माओवादी तयार भएमा सहमति जुट्न सक्छ,' ती नेताले भने ।
कांग्रेस केन्द्रीय सदस्य चक्र बाँस्तोला र एमाले नेता भरतमोहन अधिकारीलगायतले यसअघि नै चक्रीय प्रणालीमा सहमति जुटाउने पहल थाल्दै आएका छन् ।
कार्यवाहक सभापति सुशील कोइरालाको महाराजगन्जस्थित निवासमा शनिबार साँझ बसेको बैठकमा प्रवक्ता अर्जुननरसिंह केसीले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन चार महिनाको अवधि आवश्यक हुने बताउँदै त्यतिन्जेलका लागि सहयोग गर्न एमालेसँग औपचारिक प्रस्ताव गरेका थिए ।
'चार महिनासम्मका लागि कांग्रेसको नेतृत्व स्वीकार गर्नुहोस्, त्यसपछि हामी खुला छौं भनेर प्रस्ताव राख्यौं,' प्रवक्ता केसीले भने, 'शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सुनिश्चित आधार तय नभएसम्म सहमति हुने अवस्था देखिँदैन ।' मुद्दामा सहमति जुटाउने अडानबाट कांग्रेसपछि नहट्ने बताउँदै केसीले व्यक्तिलाई अघि सारेर राष्ट्रिय सहमति जुट्न नसक्ने बताए ।
यसअघि दुई दलले माओवादी लडाकुको समायोजन र पुन:स्थापना दुई चरणमा सम्पन्न हुनेगरी चार महिनाको कार्यतालिका सार्वजनिक गरेका थिए । त्यही कार्यतालिकाको आधारमा चार महिना अवधिका लागि कांग्रेस नेतृत्वमा सरकार निर्माणका लागि सहयोग गर्न कांग्रेसले प्रस्ताव राखेको हो । लडाकुको संख्या निर्धारण, पुन:स्थापना र समायोजनको चार महिनाको अवधिप्रति माओवादी सहमत हुन सकेको छैन ।  
कांग्रेस-एमाले भदौ २ गतेको प्रधानमन्त्रीको निर्वाचनअघि नै शान्ति प्रक्रियाको मुद्दामा माओवादीसहितको तीन दलको बैठक बसेर सहमति खोज्नका लागि सहमत भएका छन् । एमालेले सहमतिका लागि पार्टीले तयार गरेको आठबुँदे अवधारणा बुझाउँदै प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिएर सहमति जुटाउन आग्रह गरेको थियो ।
 लडाकु समायोजन, वाईसीएलको ब्यारेकीकरणको खारेजी र कब्जा घरजग्गा फिर्ता गर्न सहमति नहुँदासम्म माओवादी नेतृत्वको सरकार स्वीकार नगर्नेमा भने दुवै दल सहमत भएको एमाले पोलिटब्युरो सदस्य रामचन्द्र झाले बताए । मुद्दामा कांग्रेस-एमालेको अडान एउटै रहेको उल्लेख गर्दै झाले राष्ट्रिय सहमतिको सरकारले मात्रै शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियालाई अघि बढाउन सक्छ भन्नेमा एमालेको मुख्य जोड रहेको बताए । 'सहमतिको सरकार बनाउन कांग्रेसका नेताहरू पनि सकारात्मक हुनुहुन्छ,' उनले भने, 'सहमति जुटेन भने एमाले आगामी भदौ २ गते तटस्थ बस्ने निर्णय परिवर्तन गर्दैन ।' उनले आइतबार वा सोमबार तीन दल बैठक राख्ने सहमति भएको बताए । 
बैठकमा एमालेका अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता केपी ओली, महासचिव ईश्वर पोखरेल, नेता भरतमोहन अधिकारी र झा उपस्थित थिए । ओली र पोखरेल भने बैठक नसकिँदै बाहिरिएका थिए । संवाददाताहरूसँगको छोटो प्रतिक्रियमा ओलीले भदौ २ मा निर्णय गराउन प्रयास भइरहेको बताए । '२ गते नै एउटा निष्कर्ष निस्कियोस् भन्ने प्रयास भइरहेको छ,' उनले भने । बैठकमा कांग्रेसबाट कार्यवाहक सभापति कोइराला, संसदीय दलका नेता पौडेल, प्रवक्ता केसी, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला सहभागी थिए ।

source:kantipur