काठमाडौं, श्रावण ३० - भारतीय जनता पार्टीका बरिष्ठ नेता राजनाथ सिंहले हिंसा त्याग गरे माओवादी
नेतृत्वको सरकारलाई स्वीकार गर्ने बताएका छन् । उनले माओवादी हिंसारहित पार्टी बने उसले नेतृत्व गरे पनि आपत्ति नहुने बताए ।
'नेपालको विकास र उन्नतीको लागि स्थीर सरकारको आवश्यकत्ता छ,' आइतबार रिपार्टर्स क्लवले गरेको टेलिफोन साक्षात्कारमा नेता सिंहले भने, 'मित्र बदल्न सके पनि छिमेकि बदल्न सकिँदैन ।' उनले नेपालमा अस्थिरता भए छिमेकी मुलुकको नाताले भारतसमेत प्रभावित हुने भएकाले मात्र आफ्नो मुलुकले नेपालको गतिविधिलाई चासोपूर्वक लिएको बताए ।
नेता सिंहले नेपालको राजनीतिप्रतिको चासोलाई हस्तक्षेप भन्न नमिल्ने जिकिर गरे । 'भारत नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न चाहँदैन,' उनले भने, 'नेपालमा कस्तो सहमतीय वा बहुमतीय कुन प्रकृतिको सरकार निर्माण गर्ने भन्ने कुरा नेपालकै नेताहरुको तजविजमा भर पर्दछ ।'
नेपालमा सरकार बनाउन कठीन भइरहेकाबेला भारतीय जनता पार्टीको एक टोलीले शनिबार भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई भेट गरी गैरमाओवादीको लोकतान्त्रिक सरकार बनाउन सुझाव दिएको थियो ।
source:kantipur