भारतीय सेनाले प्रयोग गर्ने ग्रिनेड काठमाडौंमा :

काठमाडौं, १ भदौ- भारतीय सेनाले प्रयोग गर्ने हाते गि्रनेड काठमाडौंमा अपराधीहरूबाट बरामद भएको छ । छिमेकी देशको राष्ट्रिय सेनाले प्रयोग गर्ने हतियार
अपराधीसम्म कसरी पुग्यो ? प्रहरी अनुसन्धानमा जुटेको छ ।

गर्ने हतियार अपराधीसम्म कसरी पुग्यो ? प्रहरी अनुसन्धानमा जुटेको छ ।

प्रहरी परिसर काठमाडौंको विशेष टोलीले मंगलबार बिहान काठमाडौं, कालिमाटीबाट हतियारका कारोबारी रामविनय सिंह र विनोद चौधरीलाई पक्राउ गरेको हो । सिंहले भारतबाट हतियार ल्याउने र चौधरीले काठमाडौंमा हतियार बेच्ने गरेको प्रहरीको दाबी छ । उनीहरू दुवैजना सर्लाहीको बलारा-४ निवासी हुन् ।

काठमाडौं परिसरका एसपी रमेश खरेलका अनुसार सिंह र चौधरीबाट हाते गि्रनेड २ वटासमेत बरामद गरिएको छ । उनीहरूको साथबाट मेड इन युएसए लेखिएको २ थान पेस्तोल, त्यसको म्यागजिन ४ वटा, गोली १९ वटा, एउटा रिभल्बर र त्यसको गोली ३ वटा बरामद गरेको छ ।

एसपी खरेलले यसबारेमा अनुसन्धान भइरहेको बताए । 'भारतीय सेनाले प्रयोग गर्ने गि्रनेड कसरी आयो, अनुसन्धान भइरहेको छ,' उनले भने ।

भारतीय सेनाले प्रयोग गर्ने ३६ एमएमको गि्रनेड अरूभन्दा शक्तिशाली भएको प्रहरीले जनाएको छ । 'पड्किएको ठाउँबाट ५० मिटर टाढासम्म यसले गम्भीर क्षति पुर्‍याउँछ । भारतीय आर्मीले प्रयोग गर्ने गि्रनेड नेपाल आइपुग्नु गम्भीर विषय हो,' अनुसन्धानमा सक्रिय प्रहरी स्रोतले भन्यो ।

यस्तो गि्रनेड करिब ३० हजारमा बेच्न ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीस्रोतका भनाइ छ । त्यस्तै बरामद पेस्तोल र रिभल्बर पनि महँगा छन् । पेस्तोलको मूल्य एउटाको ९० हजार र रिभल्बरको ६० हजार पर्छ । अमेरिकामा निर्माण गरिएको लेखिए पनि ती पेस्तोल र रिभल्बर भारतमै निर्माण गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार सिंह र चौधरी सोमबार राति रौतहटको गौरबाट माँ कल्याणी यातायातको बस चढेर राजधानी आएका हुन् । उनीहरूलाई पिछा गरिरहेको प्रहरीले बिहान कालिमाटीमा 'अप्रेसन' गरी पक्राउ गरेको हो । टोलीका अर्का सदस्य सर्लाहीकै प्रमोद चौधरी भने भागेका थिए ।

उनीहरू लामो समयदेखि राजधानीमा हतियारको कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ । तीन महिनादेखि उनीहरूलाई पक्राउ गर्न प्रयास गरेको बताउँदै एसपी खरेलले गिरोहका अन्य सदस्यको खोजी भइरहेको जानकारी दिए ।

उक्त समूहका सदस्यको मोबाइल नम्बर पत्ता लगाएर प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो । तीन महिनादेखि उनीहरूको 'फलो' गर्दै काठमाडौं परिसरको टोली रौतहटको गौरसम्म पुगेको थियो । उनीहरूले काठमाडौंको आपराधिक समूहलाई हतियार दिन ल्याएको बताइए पनि किन्न खोज्ने समूहको पहिचान भने हुन सकेको छैन ।

सिंह र चौधरीलाई पक्राउ गरेपछि राजधानीमा हतियार तथा विष्फोटक पदार्थ भित्र्याउने एउटा ठूलो नेटवर्क तोडेको प्रहरी दाबीे छ । यसअघि प्रहरीले राजधानीमा हतियार बेच्ने एजेन्टलाई मात्रै पक्राउ गरे पनि भारतबाटै हतियार ल्याउने र राजधानीमा कारोबार गर्नेलाई एकैपटक पक्राउ गरेको पहिलोपटक हो ।

हतियार कारोबारी समातेपछि महानगरीय प्रहरी आयुक्तको कार्यालयले अप्रेसनमा संलग्न प्रहरीलाई पुरस्कृतसमेत गरेको छ । हतियारसहित मान्छे समाउनेलाई पुरस्कृत गर्ने योजनाअनुसार रेकर्डमा उल्लेख हुने गरी प्रतिव्यक्ति पाँच सय रुपैयाँका दरले पुरस्कार दिइएको हो । बढीमा एक हजार एक रुपैयाँसम्म पुरस्कार दिने व्यवस्था प्रहरीमा छ । यो अपे्रसनमा ९ जना प्रहरी सहभागी भएको काठमाडौं परिसर स्रोतले जानकारी दिएको छ ।

यसरी हुन्थ्यो कारोबार

मंगलबार हतियारसहित पक्राउ परेका रामविनय सिंह गिरोहका 'सेकेन्ड म्यान' भएको प्रहरीले जनाएको छ । मुख्य कारोबारी त उनका दाजु जितेन्द्र सिंह हुन् ।

गिरोहका मुख्य नाइके जितेन्द्र सशस्त्र प्रहरीका पूर्वहवल्दार हुन् । उनी सशस्त्र प्रहरीको भण्डारण शाखामा रहेका वेला हजारौँ थान गोली आपराधिक समूहलाई बेचेको आरोपमा ०६४ कात्तिकमा पक्राउ परेका हुन् । जितेन्द्रले भारतीय आपराधिक समूहलाई समेत गोली बेचेको सशस्त्रले त्यसवेला गठन गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । उनी अहिले डिल्लीबजार कारागारमा छन् ।

उनका भाइ रामविनयको भने तराईका धेरैजसो सशस्त्र समूहसँग साँठगाँठ रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ती समूहलाई समेत रामविनयले हतियार बेच्ने गरेको पाइएको छ । गिरोहले अहिलेसम्म दर्जनौँ थान पेस्तोल र रिभल्बर काठमाडौं भित्र्याएको प्रहरी अनुमान छ ।

जितेन्द्रले काठमाडौंका आपराधिक समूहलाई जेलभित्रैबाट 'डिल' गरी हतियार बेच्ने गरेका छन् । स्रोतका अनुसार जेलभित्र पुगेका विभिन्न आपराधिक समूहका नाइकेमार्फत हतियार मगाइदिने ठेक्का जितेन्द्रले लिने गरेका थिए ।

जितेन्द्रसँग भेटेर तथा मोबाइलमार्फत कुरा गरी हतियार बेच्ने काम गर्दै आएका थिए प्रमोद र विनोद चौधरीले । सम्झौता भएपछि जितेन्द्रका भाइ रामविनयले भारत पुगेर हतियार ल्याउने गरेको प्रहरी स्रोतको दाबी छ । चाैधरीद्वयले देखावटी व्यापारका लागि ठमेलमा तरकारी पसलसमेत चलाउँदै आएका थिए ।

सम्झौताअनुसार हतियारको ५० प्रतिशत रकम लिएपछि रामविनयले नेपालसँग सीमा जोडिएका भारतीय बजार जयनगर, बैरगनियालगायतका स्थानबाट हतियार किनेर ल्याउने गरेका थिए । ती बजारमा संगठित रूपमै हतियारको कारोबार गर्ने भारतीय अपराधी भएको प्रहरीको अनुमान छ ।

सिंहले विभिन्न रुटमार्फत रौतहटको सदरमुकाम गौरसम्म हतियार ल्याएपछि बसका चालक तथा खलासीलाई हतियार दिने गरेका थिए । हतियार राखेकै बसमा आउने गरेका रामविनयले काठमाडौंमा पूरै पैसा लिएपछि ग्राहकलाई दिने गरेको प्रहरी स्रोतले बताएको छ ।

source:nayapatrika