काठमाडौं, भाद्र ४ - कालीमाटीबाट तीनवटा पेस्तोलसहित मंगलबार पक्राउ परेका
रामविनय सिंह र विनोद चौधरीले डिल्लीबजार जेलमा रहेका जितेन्द्रप्रसाद सिंहको निर्देशनमा काम गरेको खुलेपछि प्रहरीको अनुसन्धान जेलतिर केन्द्रित भएको छ । लागूऔषध नियन्त्रण कानुन कणर्यान्वयन इकाइले डिल्लीबजार कारागारमा रहेका श्याम वर्णवाल, श्रीदेव कापरी, किशन ट्वाँटी र रत्न केसी जेलभित्रबाटै लागूऔषधको कारोबार गर्दै आएको भन्दै उनीहरूमाथि निगरानी बढाएको छ ।
डेढ महिनाअघि ज्यान मुद्दामा डिल्लीबजार कारागारमा सजाय काटिरहेका विराटनगरका अभिषेक गिरीले जेलभित्रकै फोन प्रयोग गरी राजधानीका एक ठूला व्यापारीलाई धम्क्याए । विराटनगरका व्यापारीलाई मारेको अभियोगमा कैदमा रहेका गिरीले कैदीसँग झगडा गरेपछि गत मंसिरमा काठमाडौं सारिएको थियो । यस्तै ज्यानकै मुद्दामा सजाय काटिरहेका अर्का एक कैदीले पनि बाहिरका व्यापारीलाई धम्क्याएका थिए ।
जेल प्रशासन र प्रहरीको मिलेमतो र लापरबाहीले पछिल्लो समय जेलबाटै आपराधिक गिरोह आफ्नो काम फत्ते गर्न लागिपरेका घटना बढेका छन् । गिरोहले जेललाई आपराधिक गतिविधि योजना निर्माणस्थल बनाएको घटनाले पुष्टि गर्दै लगेको प्रहरीको बुझाइ छ । यस्तो योजना अन्तभन्दा डिल्लीबजार कारागारबाट बढी हुने गरेको प्रहरीको भनाइ छ ।
प्रहरी र जेल प्रशासनको मिलेमतोमा भाग्ने अपराधी पनि यही कारागारका बढी छन् । डिल्लीबजार कारागारमा ३ सय ५० कैदी छन् । गएको ६ महिनामा राजधानीका कारागारबाट लागूऔषध ओसारपसारका चारवटा, फोन धम्की २ र हतियार ओसारपसार योजना बन्ने गरेको तथ्य सार्वजानिक भएको छ ।
डिल्लीबजारमा कैदी भेट्न जानेले खुला चौरमा छुट्टै गोप्य छलफल गर्न पाउने छुट छ । कैदीका लागि ०१-४४४३०१८ र ०१-४४४२८८३ नम्बरका फोन उपलब्ध छन् । कैदीहरूले टेलिफोनमार्फत वा भेट्न आएका व्यक्तिमार्फत एकले अर्कार्लाई चिनाएर कारोबार गराउने गरेको दाबी प्रहरीको छ । 'जेलभित्र प्रवेश गरेपछि बाहिरी दुुनियाँको अपराधीसँग सम्पर्क छुटाउन खोजिएको हो', प्रहरी प्रधान कार्यालयका एक अधिकृतले भने 'तर जेल उनीहरूका लागि झन् अपराध योजना निर्माणका लागि सहज स्थान बन्दै गएको घटनाहरूले देखाएको छ ।'
डिल्लीबजार कारागारमा अदालतबाट अन्तिम फैसला नभएका तर थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने थुनुवा कक्षका रूपमा प्रयोगमा ल्याइएको थियो तर कैदी राख्ने स्थान अभावका कारण डिल्लीबजारमा पनि कैदी राख्न थालिएको कारागार व्यवस्थापन विभागले जनाएको छ । संगठित अपराधभित्र पर्ने लागूऔषध कारोबार, हतियार ओसारपसार र केही मात्रामा ज्यान मुद्दामा जेल चलान भएका कैदीहरू डिल्लीबजार कारागार रुचाउने गर्छन् ।
'गोपनियता कायम गरेर बाह्य व्यक्तिसँग कुरा गर्न सहज हुने, सुरक्षाकर्मीसँग सम्बन्ध बढाउन सकिने र टेलिफोन प्रयोग गर्न सकिने भएका कारण डिल्लीबजारमा बस्न चाहने गरेको देखिन्छ' कारागार व्यवस्थापन विभागका एक कर्मचारीले भने ।
राजधानीका केन्द्रीय कारागार र नख्खुजेलमा रहेका कैदीले डिल्लीबजार आउनुपर्यो भने त्यहींभित्र गुटबन्दी गर्ने, आन्तरिक प्रशासनका कर्मचारीलाई असहयोग गर्ने जस्ता क्रियाकलाप गर्ने गरेको जेल सम्बद्ध अधिकारीहरू बताउँछन् । 'कतिपयले जेल प्रशासन र आन्तरिक प्रशासनका कर्मचारीलाई पैसा ख्वाएरसमेत डिल्लीबजारमा जाने वातावरण मिलाउन लगाउँछन्' एक कर्मचारीले भने । प्रहरीले भने अपराध र अपराधीको संवेदनशीलतालाई हेरेर उनीहरूलाई राख्ने ठाउँ छुट्याउनुपर्ने बताए ।
जेलभित्र प्रहरी र जेलका नाइके, भाइ नाइकेको निगरानीमा बसेर कैदीले फोन गर्ने गरेका कारण यस्ता योजना बुन्ने काममा प्रहरीको पनि संलग्नता हुन सक्ने जेल प्रशासन दाबी गर्छ । 'प्रहरीको अगाडिबाट कैदीले फोन गर्ने गरेका कारण कोसँग के कुरा गर्छ त्यो थाहा पाउने काम प्रहरीको हो,' कारागार व्यवस्थापन विभागका निर्देशक उद्धव थापाले भने, 'डिल्लीबजारमा सुरक्षाकर्मीको गल्तीका कारण कैदीहरूले भित्र बसेर पनि बाहिर अपराधका योजना बनाइरहेको देखियो ।'
जेलभित्रका कैदीको निगरानी प्रहरी र जेलकै आन्तरिक प्रशासनका कर्मचारीको हो, आन्तरिक प्रशासनमा लामो समय जेल सजाय भुक्तान गरेका कैदीहरू हुन्छन् ।
source:kantipur