प्रहरी कार्यालय अगाडि अधिवक्तामाथि गोली प्रहार :

चितवन,भदौ ३- जिल्ला प्रहरी कार्यालय चितवन अगाडि एक अधिवक्तामाथि आज बिहान गोली प्रहार
भएको छ। भरतपुरस्थित प्रहरी कार्यालय नजिकै रहेको आफ्नै कार्यालय परिसरमा बसिरहेका अधिवक्ता पदम दाहालमाथि बिहीबार बिहान दश बजे गोली प्रहार भएको हो।

ना ९ प ६०६४ नम्बरको कालो पल्सर मोटरसाइकलमा आएका समूहले दाहाललाई गोली प्रहार गरेका हुन्। मोटरसाइकलको पछाडि बसेका पर्सा जिल्ला ठोरीका २९ वर्षीय दिलबहादुर लामाले दाहाललाई गोली हानेका थिए।

उनले हानेको गोली दाहालको दाहिने कुम छेउबाट गएकाले उनी जोगिएका छन्। गोली हाने लगत्तै लामाले पेस्तोलसहित जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन्। उनीसँग आएका अन्य पाँचजना भने फरार रहेका छन्। सबैजना तीनवटा मोटरसाइकलमा चढेर आएको प्रत्यक्षदर्शीले बताएका छन्।

भरतपुर ११ निवासी दाहाल कानुनी कामका लागि भरतपुरमा कार्यालय सञ्चालन गरी बस्दै आएका थिए। उनीमाथि किन गोली प्रहार भयो भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

source:nagarik