काठमाडौं, श्रावण २५ - संविधान निर्माण, शान्तिप्रक्रियामा गहन छलफल गरी सबै दललाई मान्य हुने सहमति नभएसम्म
सहमतिमा नजाने विभिन्न दलका नेताले बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा प्रमुख तीन दलका नेताले बिनासहमति प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नहुने बताए । काङ्ग्रेस नेता डा. प्रकाशशरण महतले संविधान निर्माण, सेना समायोजन, कब्जा सम्पत्ति फिर्ता, वाईसीएलको अर्धसैनिक संरचनाका सवाल बहसमा ल्याई सर्वसम्मत स्वीकार्य भएमा उम्मेदवारी फिर्ता हुनसक्ने अन्यथा नहुने बताए ।
नेता महतले मधेसवादी दलले नेपाली कांग्रेसलाई समर्थन दिने भएकाले माओवादीलाई पनि आफ्नो दललाई समर्थन गर्न अनुरोध गरे ।
एमालेका सचिव युवराज ज्ञवालीले दलहरूले सरकार निर्माणमा बढी ध्यान केन्द्रित गरेकाले शान्ति प्रकि्रया र संविधान निर्माण कार्य ओझेलमा परेको छ भन्दै बहुमतीय दुईवटा सरकार असफल भएको अवस्थामा सहमतीय सरकार हुनुपर्नेमा जोड दिए ।
नेता ज्ञवालीले पाँचौं पटक पनि पराजय नभोग्न दुवै दललाई आग्रह गर्दै उम्मेदवारी फिर्ता लिई सहमतिमा आउन सुझाव दिए ।
माओवादीका प्रवक्ता दीनानाथ शर्माले आफ्नो पार्टी सहमतिका लागि हदैसम्म लचिलो हुने बताउँदै संविधानमा बहुमतीय प्रणालीलाई संशोधन गरी सहमतीय प्रणाली राखेमा सहमतिको सरकार निर्माणमा सहयोग गर्ने बताए । बुधबार हुने पार्टी केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री उम्मेदवारी सम्बन्धमा पार्टीले ठोस धारणा ल्याउने उनले जानकारी दिए ।
एक प्रश्नको जवाफमा प्रवक्ता शर्माले भने, 'बहुमतीय प्रणालीमा एकसय पटकसम्म पराजय भए पनि आफ्नो पार्टीले उम्मेदवारी फिर्ता लिँदैन ।'
source:kantipur