माओवादीमा दाहाल-भट्टराई अन्तर्विरोध :

काठमाडौं, साउन २५ - प्रधानमन्त्री निर्वाचनले एकीकृत माओवादीभित्र अन्तर्विरोध चर्केर गएको छ।
बुधबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका लागि राष्ट्रिय सहमति जुट्न नसकेको विषय मुख्य एजेन्डा बन्ने भएपछि बैठकमा पार्टी नेताबीचको अन्तर्विरोधमा छलफल हुने भएको छ।

राष्ट्रिय सहमतिबिना जनताको संविधान निर्माण हुन नसक्ने पार्टीको पहिलो नीतिलाई दाहालले कार्यन्वयन नगरेको आरोप उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराई समूहले लगाएको छ। पार्टीले 'राष्ट्रिय सहमतिको संयुक्त सरकार' हुनुपर्ने नीति पारित गरे पनि अहिले बहुमतीय खेलमा गएको निष्कर्ष उनीहरूको छ।

पार्टी नेतृत्व पूरै सरकार गठन गर्ने बहुमतीय खेलमा लागेको आरोप लगाउँदै वैद्य-भट्टराई समूहले सहमतीय सरकार गठनका लागि भदौ २ अगावै नयाँ निर्णय लिने प्रस्तावअनुसार अकस्मात केन्द्रीय समितिको बैठक आह्वान गरिएको हो।

'पार्टीले कुनै कार्यक्रम लिएको छैन। भेला, आन्तरिक प्रशिक्षण केही छैन,' एक पोलिटब्युरो सदस्यले नागरिकसँग भने- 'अहिले पार्टी पूरै अराजकतामा गएको छ, आन्तरिक अन्तर्विरोध हल भएका छैनन्। त्यही कारण यो अवस्था आएको हो।'

विकल्प खुला गर्नुपर्छ भन्ने नीतिलाई पहिले अस्वीकार गरेर अध्यक्ष दाहालले नै उम्मेदवार दिँदा अहिलेसम्म सहमति जुट्न नसकेको तर्क वैद्य-भट्टराई समूहको छ। तर, तीन दिनअघिको पदाधिकारी बैठकले पुनः भदौ २ गतेभित्रै सहमतिको पहल गर्ने निष्कर्षसँगै केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।
'सहमति जुट्ने अवस्था नदेखिए अध्यक्षले उम्मेदवारी फिर्ता लिनुपर्छ,' अर्का एक सदस्यले भने, 'जनादेश पाएको पार्टीको हैसियत पाँच/पाँचपटकसम्म निकास दिन नसक्ने सन्देश पार्टीपंक्ति र जनतालाई सह्य छैन।'

सांसद खरिदबिक्री, मन्त्रिपरिषद्को भागबन्डाजस्ता कार्यमा पार्टी फसेकाले तत्काल त्यसबाट मुक्त भएर राष्ट्रिय सहमति जुटाउनुपर्ने वैद्य-भट्टराई समूहको तर्क छ। तर, अहिले दाहाल पक्ष भने उपाध्यक्ष भट्टराईको भारतीय प्रधानमन्त्री मनमोहन सिंहका दूत श्याम शरणसँगको भेटलाई लिएर सार्वजनिक आलोचनामा उत्रिएको छ।

गत साउन ४ को पोलिटब्युरो बैठकपछि माओवादीमा अन्तर्विरोध बढेको हो। बैठकले प्रधानमन्त्रीको उम्मेदवार पार्टी अध्यक्ष दाहाललाई बनाउने निर्णयपछि दाहाल-भट्टराई सम्बन्ध चिसिँदै गएको हो। असार तेस्रो साता सम्पन्न पोलिटब्युरो बैठकले अन्य पार्टीले अध्यक्ष दाहाललाई प्रधानमन्त्रीका रुपमा स्वीकार नगरे त्यसको विकल्प खुला गर्ने निर्णयविपरीत पार्टी गएको उनीहरूको आरोप छ।

वरिष्ठ उपाध्यक्ष वैद्यले सरकारमा नजाने यसअघि नै घोषणा गरिसकेकाले पनि स्वाभाविक रूपमा एकमात्र दाबेदार पार्टी उपाध्यक्ष भट्टराईलाई लिइएको थियो। तर, अध्यक्ष दाहालले समय-समयमा आफ्नो रणनीति परिवर्तन गर्दै अन्ततः आफैँ प्रधानमन्त्री उम्मेदवार बन्ने निधो गरे।
दाहालले भट्टराईको सहयोगविना प्रधानमन्त्री हुँदा अप्ठेरो हुने देखेपछि बाबुराम भट्टराईलाई भेट्न उनकै निवास शान्तिनगर पुगे। भेटमा दाहालले आफूलाई पोलिटब्युरो बैठकमा प्रधानमन्त्रीमा सर्वसम्मत बन्न सहयोग गर्न भट्टराईलाई आग्रह गरेका थिए। जवाफमा भट्टराईले आफूले प्रधानमन्त्रीका लागि मरिहत्ते नगरेको भन्दै दाहाललाई अरू दलको सर्मथन जुट्ने भए आफू सहयोग गर्न तयार भएको जवाफ दिएका थिए।

दाहाललाई पार्टीभित्रैबाट भए आफू नभए एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने भित्री योजनामा रहेको आरोप भट्टराई पक्षले लगाएको थियो। दाहाललाई लागेको आरोप उनैले पुष्टि गरे, जब खनाललाई दुईतिहाइका लागि मत दिने हस्ताक्षरसहित पत्र दिए।
साउनको दोस्रो साता पोलिटब्युरो बैठकमा भट्टराईलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने विषय चर्को रूपमा उठेको थियो। भट्टराईको चर्चा चले पनि बैठकले दुवैको नाममा सर्वसम्मत निर्णय लिन सकेन। त्यसपछि बैठकले प्रधानमन्त्रीको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको थियो।

पदाधिकारी बैठकमा पनि दाहालले प्रधानमन्त्री आफैँ नै हुनुपर्ने मनाशय व्यक्त गरेपछि भट्टराईले उनलाई मौन समर्थन जनाएका थिए। त्यसको केहीबेरमै दाहालले प्रधानमन्त्रीको उम्मेवादारी दिएका थिए। दाहालको उम्मेदवारीलाई भट्टराईलाई रोक्न मात्र दिइएको भट्टराई पक्षले बताएका थिए।

जनयुद्धको सुरुवातदेखि शान्तिप्रक्रियामा आउँदासम्म विवाद र एकता सँगसँगै हुँदै आए पनि दुई नेताबीच दाहाल र भट्टराईको अहिले फेरि विवाद उत्कर्षमा पुगेको हो। त्यसमा अहिले पार्टीभित्रका दार्शनिक मानिने वैद्यसमेत केही मुद्दामा भट्टराईसँग नजिकिँदा दाहाल कमजोर बन्दै गएका छन्। दाहालको सधैँ उपयोगमात्र गर्ने प्रवृत्तिले वैद्य-भट्टराईबीचको सम्बन्ध बिग्रेको स्रोतहरूको दाबी छ।

उनीहरूको विवाद दाहाललाई प्रधानमन्त्री बनाउने भेटवार्ताको सक्रियतामा समेत प्रस्ट झल्कियो। दाहाललाई जिताउन वार्ता तथा छलफलमा चलिरहँदा भट्टराई भने संयुक्त राष्ट्रिय सहमतिको सरकारकै पक्षमा वकालतमा व्यस्थ रहे। बरु उनी दुई रात ककनीमा बिताउन पुगे।
होटल सनसेट भ्यूको गोप्य योजनासमेत भट्टराई पक्षबाटै पत्रकारसम्म पुगेको आरोप स्थायी समिति सदस्य वर्षमान पुनले लगाएका छन्। भट्टराईले साउन दोस्रो साता बेलायती राजदूत एन्ड्र्यु हलसंँगको भेटमा पटक/पटक प्रधानमन्त्रीको चुनावबाट परिणाम ननिस्किए शान्ति र संविधान निर्माणका लागि (मधेसवादी दल, कांग्रेस, एमाले र माओवादी) सहमतिको राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका थिए।

source:nagarik