बहुमूल्य धातु फेला पर्‍यो :

सङ्खुवासभा, साउन २८ गते । जिल्लाको बाह्रबीसे र सभापोखरीमा क्वार्ज तथा टुर्मालिन धातुको खानी फेला परेको छ । टुर्मालिन अति नै महँगो धातु हो । प्रतितोला ३० हजार रुपियाँभन्दा महँगोमा किनबेच हुने टुर्मालिन नीलो रङको हुन्छ । गहनाको रूपमा र सजावटमा यो धातु प्रयोग गरिन्छ ।
खानी फेला परेपछि यसको सङ्कलन गर्दै निकासी पनि थालिएको छ । पर्याप्त धातु पाइन थालेपछि यसबाट राम्रै आम्दानी हुने भएपछि निकासी गर्न थालिएको व्यापारीहरू बताउँछन् । धातु निकासी हुन थालेपछि जिविसले प्रतिकिलो ५० रुपियाँसम्म कर लिन थालेको छ । एमाले अध्यक्ष उमेशकुमार डाँगी जिल्लामा भएका निकासीयोग्य सामानबाट आर्थिक सङ्कलन गर्दै समग्र विकास गर्ने लक्षले यो आर्थिक वर्षदेखि क्वार्ज र टुर्मालिनमा निकासी कर सङ्कलन गर्न थालेको बताउनुहुन्छ । जडिबुटी, अलँैची निकासीमा बर्सेनि २५ लाख रुपियाँ निकासी कर सङ्कलन भइरहेको छ । पछिल्लोपटक क्वार्ज र टुर्मालिनमा कर सङ्कलन थालेपछि आन्तरिक आय बढ्ने र उक्त रकमबाट जिल्लाको विकास निर्माण सहज हुने जिविसले जनाएको छ ।
जिविसले यी महँगा धातुमा कर सङ्कलन गर्न थाले पनि करको मात्रा अति नै कम भएको जिविसका कर्मचारीहरूको भनाइ छ । 'तोलाको रु. ३० हजारभन्दा बढीमा किनबेच हुने धातुलाई किलोग्रामको मापनमा निकासी कर लिनु उपयुक्त हुन्न । जिविसका सूचना तथा कार्यक्रम अधिकृत सुवासचन्द्र कुइँकेलले भन्नुभयो, राजनीतिक दलको संयन्त्रले धातुमा पनि तोलाकै हिसाबमा कर निर्धारण गर्नुपर्छ ।
नेपालीमा दर्शन ढंुगा भनिने क्वार्ज एक हजार दुई सय रुपियाँ किलोग्राम किनबेच हुन्छ । मूर्ति बनाउन र धामीहरूले झारफुकमा प्रयोग गर्ने यसका निकासीकर्ता सीताराम तिम्सिना बताउनुहुन्छ । दर्शन ढंुगामा जिविसले प्रतिकिलो ५० रुपियाँ निकासी कर लिन थालेको छ । जिल्लामा सङ्कलन भएका यी महँगा धातु काठमाडौँ हुँदै युरोपसम्म पुग्ने यसका निकासीकर्ताहरू बताउँछन् । 

source:gorakhapatra