काठमाडौ, श्रावण २९ - साँघुरा सडक, कम र बढी गतीका बाहनको एउटै मार्ग । ठीकसँग काम नगर्ने ट्राफिक
लाइटहरू । अनुगमन गर्ने जनशक्तिको अभावमा ट्राफिक नियमको बेवास्ता, जताभावी पार्किङस्थल । सहरभरि गाडीको पंक्ति, हूल र जाम । महानगरको दैनिक दृश्य हो
यो । के यो सहर सधै यस्तै अस्तव्यस्त रहने हो ? के यहाँ ट्राफिक व्यवस्थापन सम्भव छैन ?
महानगरीय ट्राफिक प्रहरी महाशाखाको अपरेसन युनिटका डिएसपी वसन्तकुमार पन्तले सबै निकायले आ-आफ्नो तर्फबाट थोरै ध्यान पुर्याएमा पनि यसको व्यवस्थापन सम्भव भएको बताए । उनले कम गतिका र बढी गतिका सवारी साधन एउटै मार्गमा गुड्दा आवागमनमा बाधा पुग्ने गरेको बताए ।
'कम गतिका सवारीलाई राजधानीको हकमा निरुत्साहित गर्नुपर्छ,' उनले भने, 'अन्य मुलुकको महानगरमा यही नीति अपनाइएको छ ।' पन्तका अनुसार लोडसेडिङ र ट्राफिकको चापले गर्दा कम प्रभावकारी देखिएको ट्राफिक लाइट र यसको बल्ने समयावधिलाई अध्ययन गरेर मिलाउनुपर्ने र पुरानालाई फेर्नुपर्ने देखिन्छ । सहरभित्रका ११ ट्राफिक लाइटमध्ये आठ वटाले मुस्किलले काम गरिरहेका छन् ।
'पार्किङको उचित व्यवस्थापन, राजधानी प्रवेश गर्ने सडकको विस्तार र भएको सडकलाई दुरुस्त राख्नुपर्छ,' उनले शुक्रबार कान्तिपुरसँग भने, 'जथाभावी गाडी पार्क गर्ने बानी पनि यसको कारण हो ।' पन्तका अनुसार देशभरिबाट सवारी सोझै राजधानीको सडकमा आइपुग्नाले पनि यो समस्या देखिएको हो ।
'रुट र सीमा विभाजन गरेर वाहनलाई रुट परमिट दिनुपर्छ,' उनले भने । यातायात व्यवस्था विभागका अनुसार मुलुकभरि गुड्ने १० लाख सवारी साधनमध्ये आधा जति बाग्मती अञ्चलमा दर्ता भएको देखिन्छ । विभागका निर्देशक अनील गुरुङले 'मन्द' र 'तीव्र' गति दुवै सवारीले ट्राफिक नियम र अनुशासनको पालना गरेमा २५ प्रतिशत जाम घट्ने बताए ।
'बाहिरबाट आएका ठूला सवारी साधन नाकामा रोकिनुपर्ने र त्यहींबाट अन्य वाहनमा सामान वा यात्रु ओसार्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड हो,' उनले भने, 'त्यसको यहाँ पालना गरिएको देखिंदैन ।'
गुरुङले सवारी साधनको अनुपातमा सडकको विस्तार र बसपार्कको व्यवस्थापन गर्न सकेमा सहरी आवागमनलाई सधै सुचारु राख्न सकिने बताए । यसैका लागि मुुलुकभरिबाट छुट्ने ठूला सवारीका लागि पश्चिममा थानकोट र पूर्वको भक्तपुरमा ठूला बसपार्क बनाउनुपर्ने प्रस्ताव सरकारसमक्ष राखेको उनले जानकारी दिए । उनले यस बारेमा अध्ययन भइरहेको बताए ।
ट्राफिक प्रहरीले सरोकारवाला निकायले पार्किङको व्यवस्थापनमा जोड नदिंदा पनि यो समस्या आएको बताएको छ । 'हामीले सडक छेउको अनिवार्यस्थलमा मात्र पार्किङको अनुमति दिएका छौं, महानगरपालिका राजस्व महाशाखाका प्रमुख नुरनिधि न्यौपानेले भने, 'अवरोध हुने स्थलमा पार्किङ छैन, कसैले बिनाअनुमति र मनमौजी तरिकाले राखेको सूचना आएको लगतै हटाउने गर्छौं ।' आवागमनलाई प्रभावित गरेको देखिएमा भएकालाई समेत हटाउने उनले बताए । महानगरपालिकाले निजी क्षेत्रको सहभागितामा सहरको ३१ स्थलमा मात्र पार्किङ सेवा सञ्चालन गरेको बताएको छ ।
सडक विभागको सडक तथा ट्राफिक युनिटले केही दीर्घकालीन परियोजना र योजना बारे अध्ययन जारी रहेको बताएको छ । युनिटका प्रमुख गणेशबहादुर कँडेलले अधिकांश ट्राफिक लाइटले काम गर्न छाडेकाले तीन साताअघि एउटा मर्मत योजना बनाएर भौतिक योजना तथा निर्माण मन्त्रालयमा पठाएको बताए । अनुमानित लागतअनुसार एउटाको मर्मतमा झण्डै १० देखि १२ लाख रुपैयाँ खर्च हुने कँडेलले बताए ।
अहिलेलाई हरेक सवारी चालकले सडक लेनको मात्र प्रयोग गरिदिएमा समेत धेरै हदसम्म जामको समस्या समाधान हुने बताए । 'तेज वाहनले दायाँको लेनबाट र मन्द वाहन बायाँको लेनबाट जानुपर्छ,' उनले भने,' यसमा सवारी चालकले ध्यान नदिएमा ट्राफिकले मात्र हेरेर र जरिवाना गरेर हुँदैन ।'
कँडेलका अनुसार एसियाली मापदण्डको हरेक सडकमा यो नियम लागू भए पनि यहाँ त जनचेतना कार्यक्रमले पनि चालकमा प्रभाव परेको छैन । उनले प्रायजसो ठाउँमा डबल लेन र धेरै ठाउँमा तीन/चार लेन बनाएको बताए । 'नेपाली पाराले पनि सहर लथालिंग देखिएको हो,' कँडेलले भने ।
'कसरी र कुन-कुन स्थलमा सडक विस्तार गर्नेबारे अध्ययन जारी छ,' उनले भने, 'यसअघि राजधानीका पुललाई प्रयोग गरेर जाम हटाउनेतिर लागेका छौं ।'
source:kantipur