काठमाडौ, भाद्र ७ - कमाइका आधारमा नेपालमा ६० लाख ९० हजार मध्यम वर्ग
रहेको तथ्यांक सार्वजनिक भएको छ । दैनिक १ सय ५० रुपैयाँ (२ अमेरिकी डलर) देखि १५ सय रुपैयाँ (२० अमेरिकी डलर) आम्दानी गर्नेलाई एसियाली विकास बैंक (एडीबी) ले केही दिनअघि सार्वजनिक गरेको प्रतिवेदनले मध्यम वर्गमा राखेको छ । स्पष्ट रूपमा मध्यमवर्ग परिभाषित गरी सार्वजनिक यो तथ्यांक पहिलो हो ।
एसियाका २२ विकासोन्मुख देशमा गरिएको अध्ययनअनुसार नेपालमा मध्यम वर्गको संख्या २१ दशमलव ८९ प्रतिशत छ । 'दक्षिण एसियाका नेपाल, बंगलादेश, भारत र पाकिस्तानका मध्यम वर्गमध्ये दैनिक एक सय ५० देखि तीन सय रुपैयाँ कमाउनेको संख्या ७५ प्रतिशत छ,' प्रतिवेदनमा छ ।
बैंकले २०१० का एसियाका सदस्य देशहरूको आर्थिक परिसूचकसम्बन्धी प्रतिवेदनमा मध्यम वर्गबारे राखिएको विशेष भागमा यी तथ्यांक उपलब्ध छन् । करिब २ करोड ६२ लाख जनसंख्या मानिएको उक्त प्रतिवेदनमा १ लाख नेपाली मात्र उच्च वर्गमा परेका छन् । दैनिक १५ सयभन्दा बढी कमाउनेलाई यो वर्गमा राखिएको छ ।
यसअनुसार करिब २ करोड १ लाख जनाले दैनिक १५० रुपैयाँभन्दा कममा गुजारा चलाइरहेका
छन् । मध्यम र उच्च वर्गको संख्या न्यून भए पनि यिनीहरूको खर्च भने उल्लेख्य छ । मध्यम वर्गको वाषिर्क खर्च करिब पाँच खर्ब ६० अर्ब रुपैयाँ छ । मध्यम आय भएको एक नेपालीले वर्षको एक लाख खर्च गर्ने गरेको छ ।
उच्च वर्गका १ लाख जनाले वाषिर्क करिब एक खर्ब ८० अर्ब रुपैयाँ खर्च गर्ने प्रतिवेदनले देखाएको छ । जसअनुसार उच्च वर्गका एक व्यक्तिको वाषिर्क खर्च झन्डै १८ लाख रुपैयाँ छ भने दैनिक खर्च करिब चार हजार नौ सय रुपैयाँ हुन्छ ।
प्रतिवेदनअनुसार अजरबैजानका सबै जनता मध्यम वर्गीय छन् । २१ देशमध्ये मलेसियामा मध्यम वर्गको संख्या ९० प्रतिशत छ भने सबैभन्दा कम बंगलादेशमा यो संख्या २१ प्रतिशत छ । नेपाल २० औं स्थानमा छ । 'नेपाल, बंगलादेश, भारत, लाओ रिपब्लिक र उज्वेकिस्तान कम मध्यम वर्ग भएका ५ देश हुन्,' प्रतिवेदनमा उल्लेख छ ।
एडीबीको 'राइज अफ एसियाज मिडल क्लास' नामक प्रतिवेदनअनुसार पछिल्लो २ दशकमा गरिबबाट मध्यम वर्गमा उक्लने दर उच्च छ । सन् १९९० देखि २००८ सम्मको अवधिमा नेपालमा भने ६ लाख व्यक्ति मध्यम वर्गबाट बाहिरिएका छन् ।
एसियाका २ ठूला अर्थतन्त्र चीन र भारतमा गरिबीको रेखामुनिबाट मध्यम वर्गमा करिब १३ करोड जनता उक्लेका छन् । १९९० पछि उदार अर्थतन्त्र अपनाएको भारतमा यस अवधिमा २० करोड ५० लाख मध्यम वर्ग थपिएका छन् । '२०२० सम्म भारतमा मध्यम वर्गको संख्या ६० करोड नाघ्नेछ,' प्रतिवेदनमा उल्लेख छ । चीनमा ८४ करोड जनता गरिबीबाट बाहिर निस्किएको प्रतिवेदनले देखाएको छ ।
-मध्यम वर्गको वाषिर्क खर्च छ खर्ब रुपैयाँ
-एक व्यक्तिले वर्षको एक लाख खर्च गर्छ
-दैनिक एक सय ५० देखि १५ सयसम्म कमाउने मध्यम वर्ग
-दैनिक १५ सयभन्दा बढी कमाउने उच्च वर्गको संख्या १ लाख
-उच्च वर्गको वाषिर्क खर्च एक खर्ब ८० अर्ब
-मध्यम वर्ग कुल जनसंख्याको २२ दशमलव ८९ प्रतिशत
-दैनिक १ सय ५० देखि तीन सय कमाउनेको संख्या ४४ लाख ५० हजार
-दैनिक तीन सयदेखि सात सय ५० कमाउनेको संख्या १४ लाख ५० हजार
-दैनिक सात सय ५० देखि १५ सय कमाउनेको संख्या २ लाख ३० हजार
source:kantipur