प्रधानमन्त्रीका लागि एमालेलाई सघाउँछौं: माओवादी नेता गुरुङ :

काठमाडौं, भाद्र १ - माओवादी नेता देव गुरुङले प्रधानमन्त्रीमा कांग्रेसले उम्मेदवारी फिर्ता लिए निःशर्त
एमालेलाई सघाउने बताएका छन् । उनले कांग्रेसले उम्मेदवारी फिर्ता लिए आफ्नो पार्टी पनि उम्मेदवारी झिक्न तयार रहेको दाबी गरे ।
'नयाँ प्रक्रियामा ठूलो दलको हिसाबले हाम्रो दाबी रहन्छ तर एमालेले सहमति जुटाउँछ भने विना सर्त सहयोग गर्न लचिलो छौं,' मंगलबार रिपोर्टर्स क्लवको साक्षात्कारमा नेता गुरुङले भने, 'तर, शान्ति सम्झौताभन्दा पछाडि फर्कन खोज्ने कांग्रेसको नेतृत्व हामी कुनै पनि हालतमा स्वीकार्दैनौं, ऊसँग थुप्रै वैचारिक र सैद्धान्तिक समस्या छन् ।' उनले शान्ति र संविधानका लागि कांग्रेससँग सहकार्य गर्ने बताए ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बहुमतीय सरकारका लागि दरखास्त हाल्ने नेताले राष्ट्रिय सहमतिको राग अलाप्नुको कुनै औचित्य नभएको बताए । 'सहमतिको रटान जगै नहाली छानाको कल्पना गरे जस्तो हो,' उनले भने- सरकारमा सँगै बसेर मात्र शान्ति र संविधान बन्दैन । हतियार र लडाकुसँग सम्बन्ध विच्छेद नगरी माओवादी नेतृत्वमा सरकार बन्न नसक्ने उनले बताए ।
एमाले नेता प्रदीप ज्ञवालीले बुधबारको प्रधानमन्त्री चुनाव पनि परिणामविहीन हुने ठोकुवा गरे । 'सरकार बन्नुमात्र समस्याको समाधान होइन, अब शान्ति र संविधानका निम्ति साधक हुने सरकार चाहिन्छ,' उनले भने, 'बहुमतीय सरकारले थप संकटमा लैजान्छ । एमाले कसैका पक्षमा भोट हालेर ध्रुवीकरण बढाउँदैन ।'

source:kantipur