भोलि हुने प्रधानमन्त्री निर्वाचन सर्ने :

काठमाडौं, भाद्र १ - प्रधानमन्त्री पदका बुधबारका लागि तय भएको निर्वाचन
पाँच दिन पर सर्ने भएको छ ।
माओवादी सभासद् रामकुमारी यादवको निधनका कारण प्रधानमन्त्री निर्वाचनको पूर्वनिर्धारित कार्यक्रम सार्ने तयारी भएको हो । निर्वाचनको पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्ने र अर्को तिथि तय गर्ने औपचारिक निर्णय भने भएको छैन ।
सोक प्रस्ताव पारित गरेपछि नियमित कार्यसूचिमा प्रवेश नगर्ने संसदको सामान्य परम्परा अनुसार प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्ने बारे प्रमुख दलहरुबीच मंगलबार छलफल भएको हो । सदनमा अति महत्वपूर्ण कार्यसूचीका भएको अवस्थामा भने पूर्वनिर्धारित कार्यक्रम सकेर मात्र सोक प्रस्ताव पारित गर्ने पनि गरिएको छ ।
सभामुख सुवास नेम्वाङको कार्यकक्षमा माओवादी, कांग्रेस र एमालेका मुख्य सचेतकहरुबीच भएको अनौपचारिक छलफलमा चुनाव सार्ने प्रस्ताव आएको हो । कार्यब्यवस्था परामर्श समितिको बुधबार अपरान्ह १ बजे बस्ने बैठकले यससम्बन्धि औपचारिक निर्णय गर्नेछ । मधेशमा विशेष प्रभाव र भावनात्मक सम्बन्ध राख्ने नेतृ भएकाले पनि माओवादीले यादवको सोकमा प्रधानमन्त्री निर्वाचन कार्यक्रम स्थगन गर्न खोजेको हो । गत शुक्रबार राजधानीको आफ्नै डेरामा खाना पकाउने ग्याँस चुहिएर भएको आगलागीमा परि गम्भिर घाइते भएकी सभासद् यादवको शनिवार नयाँ दिल्लीको एक अस्पतालमा निधन नभएको थियो । आफ्नो क्षेत्रमा विशेष प्रभाव भएका उनका पति रामवृक्ष यादव, कान्छा छोरा र ज्वाई द्वन्द्वकालमा मारिएका थिए ।  
स्रोतका अनुसार माओवादीको प्रस्तावमा कांग्रेस र एमालेले अनौपचारिक सहमति जनाएका छन् । सोक प्रस्ताव पारित गरी स्थगित बैठक लगत्तै अर्कोदिन गर्ने संसदीय परम्परा छ । तर कांग्रेसले बिहिबार र शुक्रबार पार्टी जिल्ला अधिवेशनको पूर्व निर्धारित कार्यक्रम रहेकाले ती दिनहरुमा निर्वाचन कार्यक्रम राख्न नसकिने जनाउ दिएको छ । तीन दलबीच भएको अनौपचारिक सहमति कार्यब्यवस्थाले अनुमोदन गरेमा प्रधानमन्त्री पदका लागि पाूचौ निर्वाचन भदौ ६ गते आइतबार हुनेछ ।
यसअघि साउन ५, ७, १७ र २१ गते भएका मतदानमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द पौडेल दुबै आवश्यक बहुमत जुटाउन असफल भएका थिए । दलहरुबीच बहुमतिय सरकारका आवश्यक गठनबन्धन नबनेकाले बुधबार निर्वाचन भए पनि परिणाम नआउने निश्चित प्रायः थियो । विगतका चार निर्वाचनमा झै तटस्थ बस्ने एमाले र मधेशी मोर्चाको अडान नफेरिएसम्म कुनैपनि उम्मेद्वारले बहुमत पुर्याउन सक्ने अवस्था छैन ।      

source:kantipur