सीसीटीभी हटाउन नमान्दा सरुवा :

काठमाडौ, भाद्र ७ -  काम चलाउ सरकारका मन्त्री आफ्ताव आलमले आफ्नो स्वार्थअनुरूप कार्य गर्न नमानेपछि
यातायात व्यवस्था विभागका महानिर्देशक विनोद अधिकारीलाई सरुवा गरेका छन् । श्रम तथा यातायात मन्त्री आलमले गाडी र मोटरसाइकलको ट्रायल दिने राजधानीका दुई केन्द्रमा राखिएका सीसीटीभी हटाउन दिएको निर्देशन नमानेपछि अधिकारीको सरुवा गरेको स्रोतले जनायो ।
ट्रायल केन्द्रमा चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षाको सीसीटीभीबाट अनुगमन गर्ने प्रणाली जडान गरेपछि अनियमितता घटेको थियो । त्यसले गर्दा दलाल र कमिसन लिन पल्केका कर्मचारीहरूले फाइदा उठाउन पाएका थिएनन् । अनधिकृत फाइदा लिइरहेका कर्मचारीको आग्रहमा मन्त्रीले अधिकारीलाई सीसीटीभी हटाउन दबाब दिएको र नमानेपछि सरुवा गरिदिएको स्रोतले जनायो । राजधानीका पुल्चोक र बग्गीखानास्थित ट्रायल केन्द्रमा गत साउन १ देखि सीसीटीभी सञ्चालनमा ल्याइएको छ । मन्त्रीले अधिकारीलाई सीसीटीभी बिगि्रयो भनेर बन्द गर्न दबाब दिएका थिए ।
'ट्रायल दिने को पास भयो, को फेल भयो, सीसीटीभीबाट तत्काल र पछि पनि हेर्न सकिने भएकाले लाइसेन्समा अनियमितता गर्दै आएका दलाल र कर्मचारी अप्ठ्यारामा परेका थिए । मन्त्रीलाई 'रिझाएर' यातायात कार्यालय पुगेका कर्मचारीले सीसीटीभी हटाउन आलमलाई सहमत गराएको र मन्त्रीले निर्देशन दिँदा पनि अधिकारीले हटाउन नमानेपछि सरुवा भयो' स्रोतले भन्यो । यातायातका एक अधिकारीका अनुसार अधिकारीले सीसीटीभी हटाए  गलत सन्देश जाने भन्दै मन्त्रीको निर्देशन मानेका थिएनन् ।
अधिकारीलाई हटाएर विभागको महानिर्देशकमा श्रम तथा यातायात मन्त्रालयका सहसचिव दीपक सुवेदीलाई लगिएको छ । अधिकारीलाई मन्त्रालयमा राखिएको छ । मन्त्री आलमले अधिकारीले काम गर्न नसकेकाले उनलाई मन्त्रालयमा काजमा ल्याई सुवेदीलाई पठाएको दाबी गरे । 'मैले अधिकारीलाई सीसीटीभीबारे कुरा नमिलेर होइन कामै गर्न नसकेकाले मन्त्रालयमा फिर्ता गरेको हुँ' उनले भने ।

source:kantipur