बोकेदारीले निर्देशन गरेको फिल्म बस नं. १३६ मा नायिका
मेलिना मानन्धर उनको जोडी बनेकी छिन्। हास्यगायक तथा अभिनेता श्रीकृष्ण लुइँटेल बोकेदारी फिल्म निर्देशनमा पनि उत्रिएका छन् । उटपट्याङ गीत गाएर तथा बोकाको जस्तो दारी पालेर चर्चित भएका उनले टेलिशृखला त निर्देशन गरेका थिए । तर, ठूलो पर्दाको फिल्म भने पहिलोपटक निर्देशन गरेका छन् । फिल्मको नाम छ, बस नं. १३६ ।
सानो पर्दामा कमेडी सिरियलको बाढी आए पनि ठूलो पर्दामा भने कमेडी फिल्म विरलै बन्ने गर्छन् । सम्झना फिल्मस्को ब्यानरमा भूपेन्द्र लिङदेन 'मन्त्री' प्रस्तुतकर्ता रहेको यस फिल्मको लेखन, गीत, संगीत, निर्देशन अनि मुख्य अभिनय पनि श्रीकृष्ण आफैँले गरेका छन् । फिल्ममा उनको जोडी बनेकी छिन् नायिका मेलिना मानन्धर । डिजिटल प्रविधिमा खिचिएको यो फिल्म भरपुर मनोरञ्जक भएको दाबी निर्देशक श्रीकृष्णको छ । लामो समयसम्मको गीतसंगीत र फिल्मी अनुभवले निर्देशनमा उत्रिएको उनी बताउँछन् । भन्छन्, 'टेलिशंृखला त निर्देशन गरिसकेको थिएँ । तर, आफ्नै कथा, गीत, संगीतमा आफैँ नायक भई आफ्नै निर्देशनमा काम गर्न पाउनु पहिलो मौका हो मेरा लागि । दर्शकको मनोरञ्जनका लागि कुनै कसर छोडेको छैन ।'
प्राविधिक कार्य अन्तिम चरणमा पुगेको यस फिल्ममा श्रीकृष्ण र मेलिनाबाहेक राजाराम पौडेल, मुकुन्द श्रेष्ठ, विलसनविक्रम राई, पुष्प श्रेष्ठ, विपिन प्रसाईं, रवि क्षेत्रीलगायतका कलाकार प्रमुख भूमिकामा छन् ।