पूर्व आइजिपीले बाटो छेक्दा.... :

काठमाडौं, साउन ३१ - मध्याह्न १२ बजे बालाजुका डिएसपी दिवेश लोहनीलाई वाकिटकीमा खबर आयो
'बाइपासमा बन्दकर्ता बीच सडकमा उभिएर अवरोध गरिरहेका छन्।' लगत्तै उनी प्रहरी टोलीसहित त्यता लागे। बाइपासको बीच सडकमा उभिएर एकजना सडकमा गुडिरहेका ट्याक्सी र मोटरसाइकल रोकिरहेका थिए। उनको वरिपरि १५/१६ जना थिए। लोहनी सरासर त्यहाँ गए र 'स्यालुट' हाने र भने-'जय नेपाल सर।' ती ब्यक्तिले पनि अभिवादन फर्काए, 'जय नेपाल।'

डिएसपी लोहनीले भने, 'हजुर यसरी बाटो त रोक्न पाइन्न नि।' ती ब्यक्तिले थाहै नभएजसरी जवाफ फर्काउँदै भने 'ए हो र?'
लोहनीले 'अब हामीसँगै जाऊ सर' भन्दै उनीसहितको जमातलाई बाटोमा अवरोध गरेको अभियोगमा प्रहरी भ्यानमा हालेर बालाजु वृत्त पुर्‍याए।
डिएसपी लोहनीले नियन्त्रणमा लिएका ती ब्यक्ति थिए, पूर्व प्रहरी महानिरिक्षक हेमबहादुर गुरुङ, जो २०६५ फागुन पहिलो सातासम्म कानुन उल्लंघन गरेर बाटो रोक्नेलाई नियन्त्रणमा लिने निर्देशन दिन्थे।


उनै गुरुङ १८ महिनापछि जबर्जस्ती बन्द गर्दै हिँडेको अभियोगमा पक्राउ परे। उनलाई बालाजु प्रहरीले ६ घन्टा नियन्त्रणमा लिएर साँझ छाड्यो।
आइतबार आदिवासी जनजाति महासंघको आन्दोलन सफल पार्न गुरुङ पत्नी हरिमायासहित बालाजु, बाइपासको सडकमा गुडिरहेका सवारी साधन रोक्न खटिएका थिए।
उनी पक्राउ परेका खबर तत्काल ह्यान्डसेटमार्फत फैलिएपछि प्रहरी अधिकारीहरुले नमिठो माने। काठमाडौं परिसरका एक अधिकारीले भने 'पूर्व प्रहरी प्रमुख जस्तो मान्छे बाटो अवरोध गर्न नगएकै राम्रो हुन्थ्यो।'


गुरुङले भने महासंघले उठाएको सवाल आदिवासी जनजातिको साझा भएकाले माग सम्बोधन गराउन आन्दोलनमा सहभागी भएको बताए।
'म अहिले प्रहरी प्रमुख होइन, नागरिक हु",' उनले भने, 'नागरिक अधिकार मैले पनि प्रयोग गर्न पाउ"छु।' उनी गुरुङ राष्ट्रिय परिषद्को कार्यकारी सल्लाहकार छन्।

source:nagarik