'साइड' नदिएको भन्दै माओवादी सभासदलाई आक्रमण प्रयास :

निजगढ, भाद्र ३ - मकवानपुरका दुई माओवादी सभासदमाथि बिहीबार दिउँसो बाराको अमलेखगञ्जमा एक
समूहले आक्रमणको प्रयास गरेको छ । मकवानपुर क्षेत्र नम्बर ३ का माओवादी सभासद प्रल्हाद लामिछाने र क्षेत्र नम्बर ४ की सभासद कुमारी मोक्तानमाथि आक्रमणको प्रयास भएको हो ।
आक्रमणको प्रयास गर्ने चारै जनालाई प्रहरी पिछा गर्दै परवानीपुरबाट ना ११ प ५३६५ र बा २४ प ५६९६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौडाका सुवास लोप्चन, अमिर पौडेल, संग्राम थापा र उदय तामाङ छन् । उनीहरुलाई सिमरा प्रहरी कार्यालयमा राखिएको छ । सभासदको गाडीले साइड नदिएको भन्दै उनीहरुले सभासदमाथि हातपात गरेका थिए ।
सभासदद्वय बा ३ च १७३० नम्बरको गाडीमा सिमराबाट आफन्तलाई भेटेर हेटौंडातर्फ फर्किंदै गर्दा हेटौंडाबाट वीरगन्ज तर्फ दुई वटा मोटरसाइकलमा आउँदै गरेका ती चार जनाले स्थानीय सहयोगीको साथ लिएर सभासद, तिनका चालक र साथीमाथि हातपात गर्दै गालीगलौज गरेको हो ।
सिमराबाट हेटौंडातर्फ जाँदै गरेको सभासदको गाडी र हेटौडाबाट वीरगन्ज आउँदै गरेको ती चारै जना सवार मोटरसाईकलबीच साइड लिने क्रममा असजिलो भएपछि क्रस गरिसकेका बाइकमा सवार चारै जना फर्केर सभासदको गाडीलाई ओभरटेक गरी गाडी रोकेर उनीहरुमाथि हातपात गर्दै गाडीमा तोडफोड गरी क्षति पुर्‍याएका छन् ।
'तपाईहरुलाई के भएको हो ? बसेर छलफल गरौं भन्दा भन्दै हामी दुबै सभासद, मेरा चालक विकास थापा र साथी सुजनलामालाई हातपात गर्न थाले' सभासद लामिछानेले भने । चारै जनाले हातपात गर्न थालेपछि सभासदका गाडीका चालक थापा र उनका साथी लामा भागेका थिए । पछि प्रहरी आउँदा हातपात गर्ने चारै जना वीरगंज तर्फ फरार भएका थिए ।
'चारै जनालाई पक्राउ गरी कारबाही सुरु गरिएको छ' सिमराका प्रहरी निरिक्षक अंगुर जिसीले भने, 'सुनियोजित तरिकाले आक्रमण नै गर्ने नियतले होइन कि साइड लिने दिने विषयमा भनाभन हुँदा उनीहरुले हातपात गरेको देखियो ।' 

source:kantipur