काठमाडौं, भाद्र ३ - माओवादी सचिव सीपी गजुरेलले भारतले एमाले र मधेसवादी दलहरुको हात खुट्टा बाँधी
दिएकोले मुलुक अनिर्णयको बन्दी बनेको आरोप लगाएका छन् । उनले दुवै दलले कुनै एकको पक्ष लिनुपर्नेमा जोड दिए ।
'भारतले एमाले र मधेसवादी चार दलको हात खुट्टा बाँधेको छ,' बिहीबार रिपोर्टर्स क्लवको साक्षात्कारमा नेता गजुरेलले भने, 'भारतले खुट्टा खोली दिए उनीहरुले भोट हाल्छन् । अहिले भारतले रातो झण्डा देखाइरहेको छ । हरियो झण्डा देखाउनासाथ निकास आइहाल्छ ।'
भारतले माओवादीको नेतृत्व आउन नदिएको आरोप लगाउँदै सचिव गजुरेलले संसदवादी दलहरु विदेशीको प्रभाव र इसारामा चलुन्जेल मुलुकले निकास नपाउने ठोकुवा गरे । उनले पछिल्लो समय भारतको हस्तक्षेप खुलेरै आएकोमा आपत्ति जनाउँदै यस्तै अवस्था भए भारतविरोधी आन्दोलन चर्काउने चेतावनी दिए ।
कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले सहमतिको आधार तय नभई आफ्नो दलले प्रधानमन्त्रीको उमेदवारी फिर्ता नलिने स्पष्ट पारे । एमाले संसदीय दलका प्रमुख सचेतक भीमप्रसाद आचार्यले बहुमतीय सरकारमा कुनै पनि हालतमा एमाले सहभागी नहुँने स्पष्ट पार्दै अहिलेकै प्रक्रियामा सय पटक चुनाव भए पनि एमालेले कसैको पक्षमा मतदान नगर्ने दावी गर्नु भयो ।
source:kantipur