भाषासंस्कृतिदेखि टाढा भए पनि प्रेमले मानिसलाई नजिक पुर्याउँदो रहेछ । यसै कुरालाई पुष्टि गर्दै छन्- नेपाली युवक र चिनियाँ युवती। नेपालको तराई क्षेत्रका युवकहरुसँग
हिमालपारिको देश चीनका युवतीहरुको विवाह गर्ने संख्या बढ्न थालेको छ। व्यापार-व्यवसाय तथा उच्च शिक्षा अध्ययनका लागि गएका नेपाली युवकहरुको चिनियाँ युवतीसँग प्रेम भएपछि वैवाहिक बन्धनमा बाँधिनेको संख्या बढेको छ।
केही वर्षयता राजविराजमा मात्र चिनियाँ युवतीसँग विवाह गर्नेको संख्या आधा दर्जन पुगेको छ। मैथिली परम्पराअनुसार चिनियाँ युवतीसँग परम्परागत रुपमा आफ्नो छोराको विवाह गरिदिएका छन् राजविराज-६ का चतुरनारायण साहले। कृषि विकास बैंकबाट सेवानिवृत्त साहले एमबीबीएस पढ्न चीन गएका आफ्ना छोरा किरण साहको चिनियाँ युवती याङ्नासँग प्रेम भएपछि गत जेठ ९ गते विवाह गरिदिएका हुन्।
अर्थशास्त्रमा स्नातकोत्तर गरेकी याङ्नाका मातापिताको सहमति लिएर राजविराजस्थित आफ्नै घरमा छोरा किरणसँग विवाह गरिदिएको पिता चतुरनारायणले बताए। यसै गरी राजविराज-५ निवासी कालीचरण साहले पनि आफ्ना छोरा अनिलकुमार साहको नेन्सी नामक चिनियाँ युवतीसँग विवाह गरिदिएका थिए।
चीनको ग्वाङ्जु प्रान्तमा व्यापार-व्यवसाय गर्न गएको छोरासँग नेन्सीको प्रेम भएपछि राजविराजस्थित आफ्नै घरमा परम्पराअनुसार इस्टमित्र बोलाई विवाह गरिदिएको कालीचरण बताउँछन्। कालीचरण भन्छन्- मेरो त नातिनी भइसकेकी छन् दुवै खुसी छन् हामीलाई के चाहियो। छोराबुहारीको खुसी नै हामी मातापिताको खुसी हो।
यस्तै सप्तरीको कनकटा घर भएका इन्जिनियर बैकु साहले पनि छोराको विवाह चिनियाँ केटीसँग धुमधामसँग सम्पन्न गरेका छन्। खासमा भन्ने हो भने विश्व एउटा घर भइसक्यो विकासले मानिसलाई नजिक पुर्याइसक्यो। हिजोसम्म चीन हाम्रा लागि हिमालपारिको देश भनिन्थ्यो तर आज उच्च शिक्षा अध्ययन गर्नेदेखि व्यापार-व्यवसायले नजिक भएपछि नेपाली युवाको आवागमन वृद्धि हुँदै गएको र वैवाहिक बन्धनमा बाँधिएपछि चिनियाँ केटी बुहारी भएर मधेसमा पनि भित्रिन थालेका छन्।
केही वर्षअघि डिमन गाउँका कवीन्द्र यादव अध्ययनकै सिलसिलामा चीन पुगेको र उनले पनि चिनियाँ केटीसँग विवाह गरेको सुन्दा अचम्म लागेको थियो तर बिस्तारै चिनियाँ केटीको संख्या बढ्दै गएपछि सामान्य बन्दै गएको बताउँछन् कोइलाडीका विजयप्रसाद िसंह।
source:samacharpatra