काठमाडौं, साउन २४ - द्वन्द्वको घाउ र देशको अवस्थामा समर्पित दुई एल्बमपछि तन्नेरी पुस्तामाझ लोकप्रिय सांगीतिक टोली 'नेपथ्य'ले फेरि
आफ्नो पुरानै बाटो समातेको छ। युवा ढुकढुकीलाई समेट्ने गायकीका प्रशंसकहरुको माझमा सात वर्षको अन्तरालपछि लोक रक एल्बम लिएर उनीहरु आउन लागेका हुन्। 'नेपथ्य'को यो नवौं एल्बम हुनेछ। रेकर्डिङको काम सम्पन्न भइसके पनि अहिलेसम्म नाम सार्वजनिक नभएको उक्त एल्बम आगामी महिना बजारमा ल्याउने जानकारी टोली व्यवस्थापक 'नेपालय'ले दिएको छ।
'नेपथ्य प्रशंसकलाई नचाउने शैलीका गीतहरु समेटिएका छन्,' यसअघि लगातार गम्भीर प्रकृतिका दुई एल्बम 'घटना' र 'मेरो देश' दिएका गायक अमृत गुरुङ पछिल्लो कृतिका बारे भन्छन्,'त्यसका निम्ति फेरि गाउँले ठेट भाकालाई समेटेर लोक रकका श्रोतासम्म पुग्दैछौं।' गुरुङका अनुसार रेकर्डिङको काम भर्खरै सम्पन्न भएको छ।
पछिल्लो पटक उनीहरुले २०६० सालमा लोक रक श्रोतालाई 'भेँडाको उन जस्तो' एल्बम दिएका थिए। दुई दशकदेखि युवा पुस्तालाई नचाउँदै आएको यस समूहले त्यसको दुई वर्षमै अचानक आफ्नो गायनलाई परिवर्तन गर्दै गम्भीर प्रकृतिका गीतहरुमा ढाल्न थाल्यो। त्यतिबेलै 'नेपथ्य'ले 'शान्तिको लागि शिक्षा' नाराका साथ देशभर विभिन्न स्थानमा सांगीतिक भ्रमणसमेत गरेको थियो। 'एक त भएका विद्यालयहरु समेत युद्धरत पक्षले धमाधम कब्जामा लिन थालेका थिए,' अमृत भन्छन्,'त्यस्तो बेला शिक्षा नभइ समाजमा शान्ति संभव छैन भन्ने सन्देश बोकेर निस्केका थियौं।' यसरी गाउँ गाउँ पुगेर स्कुलहरुमा गीत सुनाउँदा त्यसले निमुखा बच्चाहरुको पढ्ने थलो कब्जामा लिनेहरु माथि दबाबसमेत सिर्जना भएको अनुभव उनीसँग छ।
'सारा देश जलिरहेको बेला हामीले मायाप्रितीका गीत गाउन सकेनौं,' गुरुङ गम्भीर हुँदै भन्छन्,'परिस्थितीले संवेदनालाई जसरी हिर्कायो, त्यसैगरि नेपथ्य पनि फरक बाटो समात्न बाध्य भएको हो।' अब आउने एल्बमले भने पुरानै बान्कीमा नेपथ्यलाई प्रस्तुत गर्ने गुरुङ सुनाउछन्।
नयाँ एल्वममा १० गीत छन्। ती सबैमा ग्रामीण लोक भाकालाई 'रिमेक' वा 'कम्पोज' गरिएको छ। ग्रामीण भेगमा पाइने विभिन्न समुदायको शब्दावली पनि गीतमा प्रयोग गरिएको छ। गण्डकी क्षेत्रको भाका रहेको 'जोगले हुन्छ भेट'को शब्दले मन रमाइलो पार्छ भने धुनले तीब्रता समात्ने बित्तिकै नाचौँ-नाचौँ लगाउछ। अर्को गीत 'पल्ला घरकी बैंका' गण्डकीकै भाकामा अघि बढे पनि यसमा कर्णालीको लवज समेटिएको छ। तेश्रो गीत 'मै मरी जाउँला'मा गोसाइकुण्ड दर्शन गर्न जादाँ पाइने भाकाको झल्को आउँछ। यसपटक गुरूङ भाकामा रहेको 'नासै छ्यावा' गीतले पनि धेरैलाई नचाउने छ।
तीब्र गतिका गीतहरु सुन्दा सुन्दै एल्बम बेग्लै मोडमा प्रवेश गर्छ। यतिबेला चाहिँ कविवर माधव घिमिरेको एउटा पुरानो रचनाले अमृतको नयाँ संगीतमा बेरिएर मिठो स्वाद श्रोताहरुलाई दिन्छ। 'ऐना झ्यालको पुतलीलाई...' संभवत गम्भीर संगीतका श्रोताहरुले सबैभन्दा बढी मनपराउने गीत बन्नेछ। त्यसपछि फेरि सुस्त गतिमै आउने 'मेरो हजुर' चाहिँ रोमान्टिक छ। चिसो ठाँउमा पुगेकोबेला रचना गरिएको गीत, 'यस्तो ठाँउमा पनि मान्छे' हिमाली जनजीवनप्रति समर्पित छ। 'अग्लनी सुरमा हिमाल'मा देशप्रेम झल्काइएको छ। अघिल्ला केहि एल्बममा झैँ यसपाला पनि 'नेपथ्यले' साना नानीहरुको निम्ति 'हो हो बाबु' भन्दै लोरी सुनाउन छाडेको छैन।
गाउले परिवेश मनपराउने अमृत फूर्सद्का प्रायः समय ग्रामीण क्षेत्रको भ्रमणमै लागि परेका हुन्छन्। 'नेपाली भाकाहरू उत्कृष्ठ छन्,' रामेछापबाहेक मुलुकका सबै जिल्ला पुगेका उनी भन्छन्,'गाउतिर पुगेका बेला सुनेका भाकाहरु तत्कालै रेकर्ड गरेर ल्याउने गर्छु र पछि त्यसैको प्रभावमा गीतहरु बनाउँदै आएको छु।' यसरी अहिलेसम्म आफ्नो संकलनमा सयौं त्यस्ता भाकाहरु जम्मा भइसकेको उनी गर्वका साथ सुनाउछन्। अमृतका अनुसार त्यसमा पनि मुलुकका पश्चिमी भेगको भाकाहरुको बाहुल्यता छ।
पछिल्लो एल्बमले 'नेपथ्य' स्थापनाको २० औं वार्षिक उत्सव पनि मनाउने भएको छ। सुरुमा अमृतसहित दिपक राना र भीम पुन मिलेर यसको स्थापना गरिएको थियो। यो अन्तरालमा कतिपय कलाकार आउने जाने गरेर २१ जनालाई स्टेजमा उभ्याइसकेको 'नेपथ्य'सँग यतिबेला अमृतबाहेक ध्रुव लामा, सुविन शाक्य, सुरज थापा र निरज गुरूङ आवद्ध छन्।
source:nagarik