४० दिनमै भत्कियो सडक :

एसियाली विकास बैंक एडिबीको ४० करोडभन्दा बढीको ऋण सहयोगमा निर्माण सम्पन्न भएको भैरहवा परासी भूमही सडकखण्ड निर्माणकार्य सम्पन्न भएको डेढ महिना नबित्दै भत्कन थालेको छ ।
सडक निर्माणकार्य सम्पन्न भएको छोटो अवधिमै भत्किन थालेपछि सडक निर्माणको गुणस्तरमा शंका उत्पन्न भएको छ । भैरहवादेखि परासी हुँदै पूर्व-पश्चिम राजमार्गको भुताहामा टुंगिने राजमार्गको दूरी २९ किमि छ ।
नेपालको सबैभन्दा पुरानो हुलाकी मार्गको नाममा परिचित सो मार्गको नवलपरासीतर्फको भूमहीदेखि रूपन्देही जिल्ला सिमानाकाको महुवा खोलासम्म १५ किलोमिटर एमके निर्माण कम्पनीले बनाएको हो भने रूपन्देहीतर्फ महुवा खोलादेखि भैरहवाको देवकोटा चोकसम्मको १४ किमि लुम्बिनी निर्माण कम्पनीले बनाएको हो ।
अहिले सो बाटोको रूपन्देहीको रोहिणी नदीको पुलनजिकै सडक नै भासिएको छ । सडक बनाउँदा प्रविधितर्फ ध्यान नदिई ठूलो नालामा सानो कल्भर्ट हालेका कारण भित्रभित्रै पानीले खोल्दा सडकको छेउ भासिएको स्थानीय बासिन्दा मोहम्मद आलमले बताएका छन् । आलमले सडक बन्नु राम्रो भए पनि हतार-हतारमा निर्माण र कालोपत्रे गर्ने कार्य गरेकाले सडक भासिन र भत्कन थालेको बताए । छोटो समयमै सडक भासिन र भत्कन थालेकाले जिल्लावासीले सडकको गुणस्तरप्रति शंका व्यक्त गरेका हुन् ।
रूपन्देहीतर्फको सडकभन्दा नवलपरासीतर्फको सडक धेरै ठाउँमा भत्कन र भासिन थालेको छ । निर्माण कम्पनीले सडकको अवस्था, पुरानो हुलाकी सडकमा बनेका पुल-पुलेसा र नालाहरूको अध्ययनै नगरी बोटो निर्माण र कालोपत्रे भएकाले सडक भत्किन थालेको जिल्लावासीको भनाइ छ । सडक बिग्रन थालेपछि त्यसको छानबिनको मागसमेत उठ्न थालेको छ ।
 

४० करोडभन्दा बढीको लागतमा निर्माण सम्पन्न भएको सो सडकखण्डको अवलोकन गर्नका लागि दाता एसियाली विकास बैंकका अध्यक्ष हारुहिको कोरोडा तेस्रो साता रूपन्देही आएका थिए ।
तर, परियोजना प्रमुखहरूले भने अध्यक्ष कोरोडालाई रूपन्देहीतर्फको नबिग्रेको बाटो मात्र देखाएका थिए । रूपन्देही क्षेत्रतर्फको बाटोको जिम्मा पाएको लुम्बिनी बिल्डर्सले भने सो बाटो जुलाई १५ का दिन बुटवलस्थित परियोजनामार्फत हस्तान्तरण गरिसकेको जनाउँदै भत्केको बाटो मर्मत सुधार गर्ने जिम्मेवारी आफ्नो नरहेको बताएको छ ।
रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले आफूहरूलाई सडक बिग्रेकोबारेमा मौखिक गुनासो आएको जनाउँदै त्यसबारे बुझरिहेको बताएका छन् । सडक निर्माण सम्पन्न भएको १ वर्षसम्म परीक्षण अवधिमा रहने र त्यो अवधिमा सडक बिगि्रए वा भत्किए निर्माण कम्पनीले बनाउनुपर्ने नियममा उल्लेख भए पनि सडक निर्माण सम्पन्न भई उद्घाटन नै नभएको अवस्थामा बिगि्रन थालेपछि त्यसको छानबिनको माग उठ्न थालेको छ । सो राजमार्ग बनेपछि भैरहवाबाट काठमाडांै तथा पूर्व जानका लागि बुटवलबाट भन्दा २२ किमि फरक पर्छ । 

source:nayapatrika