जाम्बियाको लुसाकामा जेलमा ११ नेपाली विद्यार्थी :

काठमाडौ, श्रावण ३१ - पक्राउ परेका ११ नेपाली विद्यार्थीलाई
छिट्टै नेपाल फर्काउन प्रक्रिया सुरु गर्ने जवाफ जाम्बियाले परराष्ट्र मन्त्रालयलाई दिएको छ । जाम्बियाको विदेश मन्त्रालयका चिफ अफ प्रोटोकलले केही दिनअगाडि त्यस्तो उत्तर दिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।
बेलायतमा अध्ययनरत ती नेपाली विद्यार्थी आकर्षक रोजगारीको प्रलोभनमा परि करिब एक महिनाअगाडि दलालमार्फत दक्षिण अफ्रिका हिँडेका थिए । विभिन्न देश हुँदै मोजाम्बिकबाट जाम्बिया हिंडेपछि ती विद्यार्थी बेपत्ता भएको जनाउँदै खोजी गरिदिन उनीहरूका परिवारले परराष्ट्र मन्त्रालयमा आवेदन दिएका थिए । सोही आवेदनका आधारमा परराष्ट्रले खोजी सुरु गरेको थियो ।
परराष्ट्र स्रोतका अनुसार खोजी सुरु गरेको केही दिनपछिमात्र ती विद्यार्थी जाम्बिया पुगेका थिए । उनीहरूलाई नेपाल सरकारले खोजी गरिरहेकाले जाम्बिया अध्यागमनले पक्राउ गरेको थियो ।
त्यसअघि दलालले परिवारबाट थप पैसा असुल्ने उद्देश्यका साथ ती विद्यार्थी पक्राउ परेको झूटो जानकारी दिएको थियो । उनीहरू निकाल्न भन्दै दलालले अभिभावकसँग पैसा मागेका थिए । त्यसपछि ती विद्यार्थीका अभिभावक परराष्ट्र पुगेका थिए ।
पक्राउ पर्ने विद्यार्थीमा राधा पौडेल, सन्ध्या लम्साल, किरण रिजाल, रेवती नहकर्मी, भोजराज देवकोटा, राजेन्द्र रिजाल, विकास विश्वकर्मा, बुद्धि सापकोटा, सन्तोष पौडेल लगायतका छन् । परराष्ट स्रोतका अनुसार उनीहरूलाई सन्तोष नामका नेपालीले प्रलोभनमा पारी दक्षिण अफ्रिका हिंडाएका हुन् । हाल उनीहरू जाम्बियाको लुसाकास्थित जेलमा छन् ।

source:kantipur