‘एक वर्षअघि बन्न सक्छ तामाकोशी' :

काठमाडौं, साउन २२ (नागरिक)- आउँदो पाँच वर्षभित्र निर्माण सकेर बिजुली उत्पादनको लक्ष्य लिएको
माथिल्लो तामाकोशी आयोजनामा सबैको सक्रियता रहने हो भने एक वर्षअघि नै सम्पन्न हुने सम्बद्ध अधिकारीहरूले बताएका छन्।
सन् २०१५ भित्र निर्माण गर्ने लक्ष्य लिइएको माथिल्लो तामाकोशी २०१४ भित्रै पूरा हुनेमा सम्बद्ध अधिकारी ढुक्क छन्। लामो चर्चापछि हालै सेयर र ऋण सम्झौता भएको यो आयोजनालाई समयमै पूरा नगर्दा देशलाई आर्थिक नोक्सानी पर्नेमात्र नभई अन्तर्राष्ट्रिय रूपमै नराम्रो सन्देश जाने भएकाले जसरी पनि समयमै पूरा गर्नुपर्नेमा सबै पक्षले जोड दिएका छन्। आयोजना निर्माणका निम्ति सञ्चय कोषसँग १० अर्ब रुपैयाँ ऋण सम्झौता भएको खुसियालीमा सञ्चय कोषका कर्मचारीले शुक्रबार कार्यक्रम आयोजना गरेका थिए।

कर्मचारी सञ्चय कोष कर्मचारी संघले आयोजना गरेको कार्यक्रममा मुख्य सचिव माधवप्रसाद घिमिरेदेखि सरोकार समितिका संयोजक दिव्यध्वज कार्की समेतका व्यक्तिले आयोजनालाई जसरी भएपनि तोकिएको समय र लागतमै पूरा गरेर नेपालीहरू पनि सक्षम छन् भन्ने प्रमाणित गर्नुपर्ने बताए।

‘निष्ठापूर्वक सबै पक्षले काम गरिदिने हो भने यो आयोजना सन् २०१४ भित्रै पूरा हुनेछ,' प्राधिकरणका पूर्व कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीले भने। साढे दुई वर्षअघि कोषसँग ऋण सहमति हुँदा कार्की प्राधिकरणका कार्यकारी निर्देशक थिए।

‘तामाकोशीलाई हामीले सफल बनाउन सकेनौं भने मुलुक ठूलो आर्थिक दुर्घटनामा त पर्छ नै, त्योभन्दा ठूलो नेपाली एक्लैले केही गर्न सक्दैनन् भनेर हल्ला गर्नेले मसला पाउँछन्,' कार्कीले भने।

सरोकार समितिका संयोजक कार्कीले दोलखाको स्थानीय राजनीतिक विवादले आयोजनालाई कुनै प्रभाव पार्न नदिने प्रतिबद्धता जनाए। ‘माथिल्लो तामाकोशी आयोजना बनाउन दोलखाका प्रतिगामी भनिनेदेखि उग्रगामी दलहरू सबैको एक मत छ,' उनले भने।

कार्यक्रममा नेपाल टेलिकमका उपप्रबन्धक सुनिलकुमार पोखरेलले बैंकमा रहेको नगद परिचालन गर्न नसकेसम्म देश अघि बढ्न नसक्ने तथ्य मनन् गरेर ६ अर्ब रुपैयाँ ऋण र ६० करोड रुपैयाँ सेयरमा लगानी गर्न लागेको बताए। उनले माथिल्लो तामाकोशी विद्युत प्राधिकरणको मात्र नभएर जनता र ठूला संस्थागत लगानीकर्ताको पनि भएकाले डराउनुपर्ने अवस्था नरहेको बताए।

विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामप्रसाद रिमालले वित्तीय संस्थासँग रकम भएर पनि संयोजनकारी भूमिका हुन नसक्दा ठूला आयोजनाको निम्ति विदेशी पुँजी ताक्नुपरेको बताए। देशमा सञ्चालनमा रहेका अधिकांश विद्युत आयोजना विदेशी लगानीकर्ताको खोजी गर्दा पूरा हुन सकिरहेका छैनन्।

प्राधिकरणका कार्यकारी निर्देशक जीवेन्द्र झाले ४० प्रतिशत सेयर प्राधिकरणको भएकाले समयमै बनाउनेतर्फ सचेत रहेको बताए। सञ्चय कोषका प्रमुख प्रशासक रमेशकुमार भट्टराई, माथिल्लो तामाकोशी आयोजनाका प्रबन्ध सञ्चालक भोजराज रेग्मी, सञ्चय कोष कर्मचारी संघका अध्यष गोपाल श्रेष्ठ लगायतले समयमै आयोजना निर्माण गर्न सके नेपालीको इज्जत बढ्ने भएकाले सबैबाट सहयोग हुनुपर्नेमा जोड दिए।

यो आयोजना निर्माण गर्न सिभिल कार्यको ठेक्का चीनको सिनो हाइड्रोले लिइसकेको छ। ३५ अर्ब २९ करोड रुपैयाँमा निर्माण हुन लागेको यो आयोजनामा सञ्चय कोष, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान, नागरिक लगानी कोषले ऋण लगानी गर्न लागेका छन्।

सञ्चय कोषले पनि यस्ता आयोजनामा सेयर लगानी गर्न पाउनेगरी कानुन परिवर्तन गर्ने व्यवस्थाका लागि कर्मचारीले मुख्य सचिवको ध्यानाकर्षण गरेका थिए।

source:nagarik