काठमाडौँ, साउन २२- एकीकृत नेकपा (माओवादी)ले आफ्ना सभासद् एवम् केन्द्रीय सदस्य रामकुमार शर्मालाई नेपालस्थित भारतीय दूतावासबाट ज्यान मार्ने धम्की
दिइएको भन्नेबारे भारतसँग आधिकारिक जानकारी माग्ने भएको छ।
सो पार्टीको मुख्यालय कोटेश्वर पेरिसडाँडामा आज बसेको पार्टी पदाधिकारीहरूको एक बैठकले शर्मालाई दूतावासका काउन्सिलरले ज्यान मार्ने धम्की दिएको विषयलाई गम्भीरतापूर्वक लिँदै भारतसँग आधिकारिक धारणा माग्ने निर्णय गरेको हो।
साथै बैठकले एकजना सभासदमाथि आएको धम्कीबाट राष्ट्रको प्रतिष्ठामा चोट पुगेको भन्दै सरकारलाई पनि यसतर्फ गम्भीर बन्न ध्यानाकर्षण गर्ने निष्कर्ष निकालेको बैठकपछि रासससँग कुरा गर्दै सो पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।
यस्तै सोही पदाधिकारी बैठकले चार पटकसम्म भएको प्रधानमन्त्रीको निर्वाचनलाई ध्यान दिँदै अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा अन्य दलसँग पनि छलफल गर्ने, सहमतिको सरकार बनाउन प्रयास गर्ने र उपयुक्त विकल्प खोज्ने निर्णय गरेको छ।
बैठकले संविधानसभामा प्राप्त जनादेशको आधारमा सबैभन्दा ठूलो पार्टी भएको नाताले आफ्नै नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार निर्माणका लागि पहल गर्ने र सो सम्भव नभएमा आगामी भदौ २ गते हुने अर्को चरणको बहुमतीय चुनावमा फेरि प्रतिस्पर्धा गर्ने नीति लिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए।
यस्तै हालै समानुपातिकतर्फ छनौट गरिएका सभासदद्धय रामकुमार पासवान र फरमुल नदाफका बारेमा पार्टीको स्थानीय तहमा असन्तुष्टि देखिएको भन्नेबारे पनि छानविन गर्ने निर्णय पनि बैठकले गरेको छ। रासस
source:nagarik