काठमाडौं, साउन २५ -पाइलट तालिम दिने देशकै पहिलो 'फ्लाइङ स्कुल' शिवानी एयरका कार्यकारी अध्यक्ष मणिन्द्रलाल रञ्जितकारले
विद्यार्थीलाई रकम फिर्ता गरेर पुनः तालिम सञ्चालन गर्न आफू तयार रहेको बताएका छन्।
पाइलट पढ्ने विद्यार्थीको साढे सात करोड रुपैयाँ ठगी गरी सम्पर्क बाहिर रहेको आरोप विद्यार्थीले लगाएपछि रञ्जितकारले करार सम्झौतामा उल्लेख भएको रकम तिर्न तयार रहेको बताएका हुन्।
'विद्यार्थीको पैसा तिर्न तयार छु,' सोमबार नागरिकसँग टेलिफोनमा उनले भने, 'तर, मैले शिवानी एयर किनेपछि पुराना सञ्चालकसँग गरेको करारनामामा २ करोड ६७ लाख रुपैयाँ तिर्ने सम्झौता गरेको छु।'
करार सम्झौतामा पहिलो ब्याचका सात विद्यार्थीको २१ लाख, दोस्रो ब्याचका चारजनाको ५० लाख र तेस्रो ब्याचमा संख्या नतोकिएका विद्यार्थीको १ करोड ९६ लाख रुपैयाँ फिर्ता गर्नुपर्ने उल्लेख भएको रञ्जितकारले बताए। 'त्यति रकममात्र तिर्छु,' काठमाडौं जैसिदेवलका ४५ वर्षीय रञ्जितकारले भने।
कम्पनी सञ्चालनमा हुँदा विद्यार्थीले लिएको 'ग्राउन्ड क्लास' र जहाज उडानसहित अन्य खर्च सबै कटाएरमात्र बाँकी पैसा फिर्ता दिने उनले बताए। 'त्यसबाहेकको पैसा कसले कति ठगी गर्यो, मेरो चासोको विषय भएन,' उनले भने।
शिवेन्द्रबहादुर बस्नेतले २०६३ सालमा शिवानी एयर स्थापना गरेका थिए। विद्यार्थीले बस्नेतलाई पैसा बुझाएका थिए। स्कुल सञ्चालनको २२ महिनापछि बस्नेत विद्यार्थीबाट उठेको सबै पैसा लिएर बेपत्ता भएका थिए। शिवानीले ३० विद्यार्थीबाट २३ देखि २६ लाखका दरले साढे ७ करोड रुपैयाँ लिएर तालिम पूरा नगरी बीचमै अलपत्र छाडेको विद्यार्थीले बताएका छन्।
त्यसपछि रञ्जितकारले शिवानीको सबै दायित्व सकारेर २०६६ पुसमा पुराना सञ्चालकसँग सम्झौता गरेका थिए। शिवानीमा पुराना
सञ्चालकहरू आशारानी बस्नेतको ८७ प्रतिशत, मेदिनीप्रसाद शर्मा र मोहन अधिकारीको ५-५ प्रतिशत र चेवनकुमार श्रेष्ठको ३ प्रतिशत सेयर रहेको रञ्जितकारले जानकारी दिए। आफूले पुराना सेयरधनीसँग कम्पनी सकारेको उनले बताए।
'कम्पनी सकारेको १७ दिनभित्र कम्पनीको सबै अभिलेख उपलब्ध गराइदिने र कम्पनीको स्वामित्व हस्तान्तरण हुने सम्झौता भएको थियो,' उनले भने, 'त्यहीअनुसार मैले दुई महिना कम्पनी चलाएँ। तर, तोकिएको समयमा पनि कम्पनी आफ्नो नाममा आएन। त्यसमाथि नचिनेको टेलिफोन नम्बरबाट धम्की आउन थालेको र जहाजको बिमा अवधि पनि सकिएका कारण कम्पनी बन्द गरेको हुँ।'
आफूले कम्पनी सकारेपछि सम्झौतामै उल्लेख नभएको भरतपुर विमानस्थललाई तिर्नुपर्ने ४१ लाख रुपैयाँको बिल आएको उनले बताए। कम्पनी आफ्नो नाममा आएपछि पुनः सञ्चालन गर्ने जानकारी उनले दिए। 'पाइलट पढाइ पूरा गर्न चाहनेलाई फेरि पढाउँछौं भने नचाहनेलाई खर्च कटाएर पैसा फिर्ता दिन्छु,' उनले भने, 'करारनामामा मैले विद्यार्थीबाट करिब ९० लाख रुपैयाँ लिन बाँकी रहेको पनि देखिन्छ।'
रञ्जितकारका अनुसार कम्पनी सकारेपछि कुनै दायित्व थपिन आए पुराना सञ्चालकले नै तिर्ने सम्झौता भएको छ। अहिले आठ विद्यार्थी
छन्। पैसा चाहने विद्यार्थीले बिल पेस गर्नुपर्छ। विद्यार्थी समिप कोइरालाले २५ लाख ५० हजार र डार्बिन सापकोटाले २२ लाख रुपैयाँ तिरेको बिल देखाएका छन्।
सम्झौता भएको १७ दिनभित्र कम्पनीको स्वामित्व हस्तान्तरण गरिनुपर्ने भए पनि हालसम्म नभएका कारण अब पुराना सञ्चालकविरुद्ध आफू कानुनी उपचारमा जाने रञ्जितकारले बताए। पुरानो व्यवस्थापनले पैसा उठाएर निजी काममा खर्च गरेका कारण कम्पनी डुबेको आरोप उनले लगाए। हाल जहाजको बिमा गरिसकेको र बैंक ऋण ५० लाख रुपैयाँ तिरिसकेको उनले बताए।
उनका अनुसार करार सम्झौतामा शिवानीको कुल सम्पत्ति ८ करोड ६४ लाख र दायित्व ८ करोड ४९ लाख रुपैयाँ उल्लेख छ। कम्पनीको चुक्ता पुँजी १० करोड छ। तीन जहाजको मूल्य १ करोड ७५ लाख, चितवन गौरिगञ्जमा ३३ कठ्ठा जग्गा (प्रतिकठ्ठा साढे ६ लाख), भरतपुरमा १ करोड ७५ लाखको दुई तले भवन, 'शिवानी एयर ब्रान्ड' को १ करोड ७० लाख र एउटा जगेडा इन्जिनको १० लाख रुपैयाँ सकारिएको थियो।
विद्यार्थीबाट करोडौं ठगी गरेको जानकारी आएपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शिवानी एयरलाई निगरानीमा राखेको छ। मन्त्रालयले शिवानीको चल अचल सम्पत्ति हस्तक्षेप गरी बिक्री गर्न सक्ने सचिव किशोर थापाले बताए।
शिवानीले सबै हिसाबकिताब फरफारक गरी उडान सञ्चालन गर्ने यकिन आधार दिन सके उसको वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र
(एओसी) नवीकरण गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 'शिवानीले सबै मापदण्ड पूरा गर्छ भने एओसी नवीकरण हुन्छ,' प्राधिकरणका नायबमहानिर्देशक विनोद गौतमले भने।
भएका जहाज सञ्चालनमा नरहेको, कम्पनीमा कोही अधिकारी नभएको र पुनः उडान सञ्चालन गर्ने कुनै आधार नदेखिएपछि यसपालि शिवानीको एओसी नवीकरण नगरिएको उनले जानकारी दिए। शिवानीको अन्तिम म्याद गत असार मसान्तसम्म थियो।
भरतपुर नगरपालिका-२ का २२ वर्षीय पीडित विद्यार्थी अर्पण पोखरेलले शिवानी एयर रोक्का गर्नका लागि कम्पनी रजिस्ट्रारको कार्यालयमा केही दिनभित्रै उजुरी हाल्ने बताए। 'अब म र बहिनी तालिम पूरा गर्दैनौं। पैसा फिर्ता लिन्छौं,' उनले भने, 'रञ्जितकारले विगतमा पनि धेरैपल्ट पैसा फिर्ता दिने आश्वासन दिएकाले उसलाई विश्वास गर्ने आधार एक रत्ति छैन।'
शिवानीले १० महिने तालिममा २ सय घन्टा जहाज उडाउने र ५ सय ८० घन्टा सैद्धान्तिक ज्ञान लिने पाठ्यक्रम बनाएको थियो। यसका लागि प्रतिविद्यार्थी २६ लाख रुपैयाँ शुल्क तोकिएको थियो। पाठ्यक्रम अनुसार २ सय घन्टाभित्र १० घन्टा मल्टी इन्जिन जहाज उडान, अर्को १० घन्टा 'इन्स्ट्रुमेन्ट रेटिङ' र बाँकी सिंगल इन्जिन उडान रहेको छ।
प्राधिकरण स्रोतका अनुसार शिवानीलाई मल्टी इन्जिन तालिम दिने अनुमति दिइएको छैन। इन्स्ट्रुमेन्ट रेटिङ नेपालमा हुँदैन। उसले रेटिङ गर्ने देश पनि तोकेको छैन। कम्पनीलाई जहाज नआएसम्म 'ग्राउन्ड क्लास' मात्र गर्ने अनुमति दिइएको थियो।
source:nagarik