बुटवल/ जापानी पर्यटक आकषिर्त गर्न विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा सुविधासम्पन्न लुम्बिनी कासाई होटल सञ्चालनमा आएको छ । कासाईमा जापानी नागरिकको लगानी रहेको छ ।
होटल सञ्चालनमा आएपछि जापानी पर्यटकलाई लक्षित गरी लुम्बिनी क्षेत्रमा बनाइएको होटल संख्या दुई पुगेको छ । यसअघि जापानकै होक्के क्लबले ०४७ बाट होक्के होटल सञ्चालनमा ल्याएकोे छ ।
लुम्बिनी कासाई होटल विश्व शान्ति स्तुपबाट करिब दुई सय मिटर पश्चिम-दक्षिण क्षेत्रमा अवस्थित छ । जापानी नागरिक नोर्बु कासाईले ५० लाख अमेरिकी डलर अर्थात् करिब ३७ करोड रुपैयाँ खर्चेर सुविधासम्पन्न होटल बनाएका हुन् । कासाईले करिब १८ वर्षअघि लुम्बिनी मिकासा होटल सञ्चालनका लागि भौतिक संरचना बनाए त्यसको सट्टा लुम्बिनी कासाई होटल निर्माण गरिएको हो । लुम्बिनीमा सञ्चालनमा आएको होटल सबैभन्दा ठूलो लगानीको हो ।
लुम्बिनी क्षेत्रमा बौद्धमार्गीका साथै विश्वभरबाट आउने पर्यटकलाई सुविधाजनक र आरामदायी बसोबास उपलब्ध गराउने लक्ष्यसहित नाफाभन्दा पनि सेवालाई ध्यानमा दिई होटल सञ्चालनमा ल्याइएको लुम्बिनी कासाईका प्रबन्ध निर्देशक केन्टा नागाईले बताए ।
होटलमा जापानी प्रविधिको रेष्टुरेन्टसमेत बनाइएको छ भने युरोपियन प्रविधिको रेष्टुराँ सञ्चालन गरिएको छ । जापानी पर्यटक मात्र नभई अन्य युरोपियन तथा एसियन मुलुकका बौद्धमार्गीलाई लक्षित गरी होटल सञ्चालन गरिएको प्रबन्धक बोधराज लम्सालले जानकारी दिए । 'होटलमा एक कोठाको विदेशीका लागि एक सय अमेरिकी डलर र नेपाली आन्तरिक पर्यटकलाई पनि खर्च वहन गर्न सक्नेगरी मूल्य कायम गरिएको छ,' उनले भने ।
त्यस्तै, खानाका लागि विदेशीलाई १५ डलर र नेपालीका लागि ५० प्रतिशत कम गरिएको छ । होटलमा जापानी, चाइनिज, इन्डियन, कन्टिनेन्टल, मिक्सका साथै नेपाली खाना उपलब्ध गराइने र पाहुनाका लागि रासायनिक मल प्रयोग नभएको स्वच्छ तथा स्वास्थ्यबर्द्धक हरियो तरकारी होटल कम्पाउन्डमै उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको लम्सालले बताए । होटल कम्पाउन्डमा अहिले लेमन ग्रास खेती सुरु गरिएको छ ।
लक्षित ग्राहक जापानी पर्यटक भए पनि अन्य पर्यटक अझ बढी आउने आशा गरेको र सोहीअनुरूप भारत, जापानलगायत मुलुकमा प्रचार गरिसकिएको र श्रीलंका, कोरिया, थाइल्यान्डमा होटलको बजार प्रवर्द्धनका लागि कार्यक्रम लगिने होटलका प्रबन्ध निर्देशक नागाईको भनाइ छ । अहिले पनि लुम्बिनी भ्रमणमा आउने विदेशी विशिष्ट पाहुनाका साथै नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक प्रमुखले होटलको प्रशंसा गरेको नागाईको दाबी छ ।
होटलमा सभा-सम्मेलनका लागि अत्याधुनिक कन्प|mेन्स हलको व्यवस्था छ भने छिट्टै स्विमिङपुलका साथै स्पाहाउस निर्माण गर्ने बताइएको छ । होटल सञ्चालनमा आएपछि ४० जनाले रोजगारी पाएका छन् । छिट्टै पर्यटन मन्त्रालयबाट तीनतारे होटल सञ्चालनको स्विकृति लिने तयारी गरिरहेको छ ।
बाह्य तथा आन्तरिक पर्यटक आगमन वृद्धिसँगै लुम्बिनी क्षेत्रमा नयाँ होटल सञ्चालनमा आउने क्रम बढिरहेको र पर्यटकको खर्च गर्न सक्ने हैसियतअनुसार होटलले सहज रूपमा सेवा उपलब्ध गराउन लुम्बिनी विकास कोषका सदस्य सुवर्णमुनि शाक्यले बताए ।
source:nayapatrika