होम टीभीको डीटीएच सुरु :

काठमाडौ, श्रावण ३० - स्याटलाइट च्यालनले होम टीभीको नाममा डाइरेक्ट टु होम (डीटीएच) सेवा
शनिबारदेखि सुरु गरेको छ । यो नेपालमा डीटीएच सेवा सुरु गर्ने पहिलो कम्पनी हो ।
सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले ललितपुरको भैसेपाटीस्थित अर्थ स्टेसनको उद्घाटन गरे । उनले ग्रामीण क्षेत्रमा सेवा विस्तार र डीटीएचका लागि बिदेसिने गरेको ठूलो रकम रोक्न नेपालमै सञ्चालन भएको डीटीएच सेवाले सहयोग पुर्‍याउने बताए । यसले ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जा र लघु जलविद्युत्को विकासमा सघाउने बताए ।
होम टीभीका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार पौडेलले नेपाली र विदेशी ८० वटासम्म च्यालन डिजिटल गुणस्तरमा प्रदान गरिने बताए । होम टीभीका उपभोक्ताले सेवा सुरु गर्दा लिनुपर्ने सेटअप बक्स -छाताजस्तो औजार) का लागि भ्याटबाहेक ७ हजार ६ सय रुपैयाँ तिर्नुपर्नेछ । मासिक न्यूनतम २ सय ५० रुपैयाँ बुझाउनुपर्नेछ । जसमा १० नेपाली च्यालनसहित ८० वटासम्म टेलिभिजन च्यानल हुने कम्पनीले जनाएको छ ।
सेवा सुरु भएको १५ दिनसम्म बुकिङ गर्नेलाई परीक्षण प्रसारणको रूपमा मंसिरसम्म मासिक शुल्कबिना सेवा दिने बताए । अहिले बुकिङ सुरु गरेको होम टीभीले एक सातामा व्यावसायिक रूपमा बजारमा आउने जनाएको छ ।
कम्पनीका कार्यकारी अध्यक्ष डीबी शेरचनले होम टीभीले व्यापारमात्र नभई ग्रामीण क्षेत्रमा शिक्षा दिने योजनामा शैक्षिक च्यानल सञ्चालन गर्ने योजना रहेको बताए ।
यसले नेपालमा भित्रिएका अन्य मुलुकका अवैधानिक डीटीएचलाई निरुत्साहित गर्न सहयोग गर्ने उनको भनाइ छ । होम टीभीले मुलुकभरका ५० डिस्टि्रब्युटर र उनीहरू अन्तर्गतका ५ भन्दा बढी  सब डिस्टि्रब्युटर मार्फत उपभोक्तामा सेवा पुर्‍याइने बताए ।  अहिले विभिन्न सात कम्पनीले डीटीएच सञ्चालन अनुमति लिएका छ ।

source:kantipur