'एमाओवादीमा विद्रोह हुनसक्छ' :

जनकपुर, साउन २३ - अदालतले मातृका यादवको सभासद पद खारेज गरेपछि एकीकृत नेकपा माओवादीले
सो स्थानमा धनुषाबाट नियुक्त गरेको फरमुद नदाफलाई नहटाएसम्म पार्टीले घोषणा गर्ने कार्यक्रम तथा निर्देशन नमान्ने अडानमा राज्यसमितिका अधिकांस सदस्य सहित धनुषा कार्यसमिति पुगेको छ।
पार्टीको केन्द्रिय समितिले पद च्यूत गरिएका मातृका यादव र जगत यादवको स्थानमा सभासद चयनका लागी धनुषा र सिरहा जिल्ला कार्यसमितिलाई नाम सिफारिस गरी पठाउन भने पनि सो अनुसार नगरेपछि उनीहरुले सामुहिक राजीनामा दिएका हुन्। मिथिला राज्य समितिका सहइन्चार्ज श्रवण यादवले सर्वहारा वर्गको मुक्तिका लागी कार्यरत भनिएको पार्टीले नै झोले प्रवृतिलाई बढावा दिन थालेपछि केन्द्रिय नेतृत्वसित मतान्तर भएको बताए। उनले पार्टीहित विपरित चल्ने जोकोहीलाई पनि स्वीकार्न नसकिने जिकिर गरे।


सिरहाबाट सिफारिस भएको तीन जना मध्ये दोस्रो नम्बरमा लेखिएको नाम रामकुमार पासवानलाई पार्टीले सभासद चयन गरेको मान्न सकिन्छ। तर, एकमतले धनुषाबाट सिफारिस भएको नाम तारादेवी महतोलाई मतलबै नराखी हालसालैमा पार्टी प्रवेश गरेका फरमुदलाई चयन गरेपछि आफुहरुलाई ठुलो झटका लागेको उनले बताए। केन्द्रिय सल्लाहकार समेत रहेका यादवले फरमुदको स्थानमा तारादेवीलाई चयन नगरेसम्म आफुहरुले पार्टीको कुनै पनि निर्णय नमान्ने दावी गरे। उनले आफुहरुको मागप्रति चासो नदिए विद्रोह समेत हुन सक्ने संकेत दिएका छन्। पार्टीका एक नेताले तारादेवीको सिफारिस राज्यसमितिका इन्चार्ज र सेक्रेटरी मार्फत नै केन्द्रमा पठाएकाले आफुहरुलाई उनीहरु समेतले साथ दिनसक्ने सम्भावना व्यक्त गरे।

संविधान सभाको निर्वाचन लगत्तै यहाँबाट सभासदमा मनोनित गर्न सिफारिस गरिएको शहिद पत्नी तारालाई दोस्रो पटक संयोगले पाएको अवसरबाट समेत बन्चित गरिनु सर्वहाराको मुक्तिको नाममा पार्टीद्वारा ज्यादती भएको राज्यसमिति सदस्य तथा धनुषा इन्चार्ज रोशन जनकपुरीले आरोप लगाए। उनका अनुसार पार्टीकै निम्ति पतिको ज्यान गुमाएकी मधेशी राष्ट्रिय मुक्ति मोर्चाकी केन्द्रिय सदस्य समेत रहेकी तारादेवीको नाम सिफारिस पछि फुलमाला लगाइ जुलुसै प्रदर्शन भइसकेको अवस्थामा यस अघि पनि पार्टीले सो स्थानबाट अन्यलाई नै चयन गरेको थियो। पार्टीले फेरी उस्तै आचरण दोहोर्‍याएपछि आफुहरुमा आक्रोश पयदा हुनु स्वाभिक रहेको भन्दै उनले पार्टीले निर्णय नसच्याएसम्म अडान कायमै रहने बताए।

मिथिला राज्य समितिका सहइन्चार्ज श्रवण यादव, धनुषा इन्चार्ज जनकपुरी, महोत्तरी इन्चार्ज महादेव यादव, केन्द्रिय सल्लाहकार असर्फी भिन्वार यादव, झल्कु यादव, देवसागर दास, दिपक लगायत राज्य समितिका ७२ सदस्यले शुक्रवार अपराह्न पत्रकार सम्मेलनमा पार्टीबाट सामुहिक राजीनामाको घोषणा गरेका हुन्।

source:nagarik